बालविवाहका कारण अध्ययन रोकियोे

- September 23, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-कविता उपाध्याय

रोल्पा । “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका संसद्को सभामुख बनेर देशको जिम्मेवारी लिँइरहँदा आफूलाई घर चलाउनै गाह्रो छ ” जङ्कोट– १ माडिचौर रोल्पाकी रसिला केसीले भने ।

कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्ययनबीचमै रोकिएकोमा निकै ठूलो पछुतो परेको छ । ओनसरी दिदीले जस्तै देश चलाउन नसके पनि पढेको भए जाागिर खाएर आफ्नो खुट्टामा उभिने थिएँ उहाँले भन्नुभयो ।

त्यतिबेला बाल विवाहको बारेमा केही पनि नबुझेको बताउने केसीलाई ह्वामा– १ कर्तम रोल्पाकै १६ वर्षका विक्रम केसीसँग आज भन्दा करिब चारवर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो । उनी १७ वर्षकै उमेरमा आमा बनिसक्नुभएको थियो । हाल केसी परिवार बसाइसराइ गरेर जङ्कोट– १ माडिचौर रोल्पामा बस्दै आएको छ ।

घरपरिवार र श्रीमान्बाट बराबर माया पाउँदै आएको भए पनि विवाह भएको– १ वर्षभित्रै आमा बन्नु पर्दा उहाँको अध्ययन बीचमै रोकिएको हो । पढ्ने चाहना भएर के गर्नु बच्चा गर्भमा भएपछि स्कुल जान गाह्रो भयो । चाहेर पनि स्कुल जान सकिएन, उनी भन्छिन् ।

घरपरिवारले मेरो पढाइका बारेमा सधैँ चिन्ता गरिरहनुहुन्थ्यो तर पनि आमा भएपछि जिम्मेवारी थपिएको महसुस हुँदोरहेछ । साथीको अगाडि किताब बोकेर स्कुल जानलाज लाग्यो अनि पढाइबीचमै रोक्न बाध्य भएँ केसीले भन्नुभयो ।

साथीहरु किताब बोकेर स्कुल जाँदै गर्दा केसी आमा बनेर बच्चाको स्याहार सुसारमै व्यस्त बन्नुपरेको छ हिजोआज । उहाँलाई पढेर डाक्टर बन्ने रहर थियो तर सपना सपनामै सीमित रह्यो ।

हतारमा विवाह बन्धनमा बाँधिएकी केसीलाई फर्सद्मा पछुतो परेको छ । “मसँग सबै कुरा छ, आमा बुबा जत्तिकै माया गर्ने सासुससुरा हुनुहुन्छ । आवश्यकता अनुसार खर्च पनि गरकै छु । श्रीमान्को मायाँमा पनि कमी आएको छैन तर आफ्नो खुट्टामा उभिन सकिएन त्यसमै चिन्ता लाग्छ । उहाँले भन्नुभयो” ।

उहाँका अनुसार चार वर्षकोबीचमा जिल्लामा धेरै परिवर्तन आइसकेको छ । त्यतिबेला गाउँमा बालविवाहको बारेमा कसैलाई कुनै किसिमको जानकारी थिएन । यस विषयमा चर्चा पनि चल्दैनथ्यो । तर अहिले हरेक दिन रेडियोले बालविवाहका बारेमा केही न केही बोलिरहेको हुन्छ, पत्रपत्रिकामा पनि बालविवाहका कुराहरु पढ्न पाइन्छ ।

“अब त बालविवाह गरे कानुन लाग्छ भन्ने विषयमा पनि बुझेकी छु । बीस वर्षपछि अध्ययन पूरा गरेर विवाह गरे खुट्टामा उभिन सकिन्छ । त्यसैले पछिल्लो पुस्ताका सबैलाई विवाहका बारेमा हतार नगर्न अनुरोध गर्छु” केसीले भन्नुभयो ।

जिल्लामा बालविवाह न्यूनीकरणका लागि अभियान थालिएसँगै पछिल्ला दिनमा बालविवाह न्यूनीकरणमा केही कमी आउँछ कि भन्ने अभिभावकले आशा सङ्गालेको बताएका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!