चार डिआईजीलाई हकारे आइजिपी अर्यालले/ डिआईजीहरु आइजीपी बन्न ५ महिनाअघिदेखि शक्ति केन्द्र धाउदै

- September 22, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी) बन्नका लागि अहिले संभावित डिआईजीहरु शक्ति केन्द्र धाउने क्रम बढ्दै गएको छ । आइजिपी नियुक्ति हुने समय आउनु पाँच महिनाअघि देखि नै सो पदका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएसंगै कस्ले सो पदमा बाजी मार्ने भन्ने चर्चा परिचर्चा समेत अहिले बजारमा चलेको छ ।
आइजिपीसँगै हाल कायम सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) ले पनि ३० वर्ष सेवा अवधि पूरा गरी आगामी फागुन १ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् र बहालवाला प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेकाहरुबाट एक आइजिपीमा नियुक्ती गर्नु पर्ने छ ।  विसं २०४४ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका अहिलेका डिआइजीमध्ये वरिष्ठताको रोल क्रममा एक  नम्बरमा रहेका नवराज सिलवाल, २ नम्बरमा रहेका प्रकाश अर्याल, ३ नम्बरमा रहेका जयबहादुर चन्द र ४ नम्बरमा रहेका बमबहादुर भण्डारीबीच नयाँ आइजिपी बन्नकैलागि  तीव्र प्रतिस्पर्धा समेत सुरु भएको छ ।
डिआइजीबीचको अस्वस्थ प्रतिस्पर्धाको फलस्वरुप एकले अर्कोको आरोप प्रत्यारोपमा समेत उत्रिन थालेको प्रहरी प्रशासनभित्रै चलेको छ । प्रतिस्पर्धा अस्वस्थ बन्दै गएपछि केही दिनअघि आइजिपी उपेन्द्रकान्त अर्यालले रोल क्रममा रहेका चारै जना डिआइजीलाई प्रहरी प्रधान कार्यालयमा बोलाएर सामूहिक रुपमा गालि समेत गरेको प्रहरी स्रोतले जनाएको छ ।
आइजिपी अर्यालले एक डिआइजीले अर्काविरुद्ध उसका गतिविधि नियाल्न सुराकी परिचालन गर्ने गरेको, फोनको विवरण सङ्कलन गर्ने गरेको, सञ्चारमाध्यममा गलत सूचना दिने र आफ्नै लगानीमा अनलाइन सञ्चालन गरी प्रतिस्पर्धीको उछितो काढ्ने गरेको सूचना आफूकहाँ पुगेको भन्दै त्यसो नगर्न आइजीपी अर्याले चेतावनी दिएका छन् ।
उहाँले केही व्यक्तिको स्वार्थपूर्तिका लागि यस्ता गतिविधि गर्दा सिङ्गो सङ्गठनकै बदनाम हुने र सङ्गठन कमजोर बनाएको अरोप समेत लगाउदै सो कार्य नगर्न डिआइजीलाई सचेत गराएको बुझिएको छ । अर्यालले यस्तो गतिविधि जारी राखे चारै जनालाई कारबाहीसम्म गर्ने चेतावनी दिए पनि त्यस्ता गतिविधि अझै रोकिएको भने छैन ।
सो समूहका अन्य डिआइजीले पनि आइजिपी बन्न आफ्नो प्रयास जारी राखे पनि सतहमा एक नम्बरमा रहेका  सिलवाल र ३ नम्बरमा रहेका  चन्दबीच बढी प्रतिस्पर्धा पर्ने देखिन्छ ।

हाल केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत डिआइजी सिलवाल प्रहरीभित्र इमान्दार र सरल अधिकृतको रुपमा परिचय बनाएका छन् ।  त्यस्तै, प्रहरी नायब महानिरीक्षक चन्दमाथि लागुऔषध मुद्दामा विवादास्पद व्यापारी पवन सङ्घाइसँग मिलेमतो गरेको आरोप समेत लागेको छ ।
पूर्व प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले स्वस्थ प्रतिस्पर्धा स्वाभाविक भए पनि मर्यादाक्रममा रहेका सबै आइजिपी बन्न योग्य हुनसक्ने प्रहरी नियमावलीका कारण अहिले बढुवामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका छन् ।
तीस वर्षे सेवा अवधिका कारण आइजिपीसहित एआइजीहरुले एकै पटक अवकाश पाउने र अपरिपक्व व्यक्तिले एकैपटक सङ्गठनको नेतृत्व सम्हाल्ने अवस्था आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!