धानबालीमा विभिन्न रोगको समस्या

- September 12, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनगढी । लमो समयदेखि सुख्खा मौसमका कारण कैलाली जिल्लाको धानबालीमा गवारो, डढुवा, पतेरो रोग बढेकाले यहाँका किसान चिन्तित बनेका छन् ।

लामो समयदेखि राम्रोसँग वर्षा नहुँदा भएको खडेरीले रोपिएको धान खेतमा चिरा पर्न थालेसँगै विभिन्न रोग बढेर उत्पादनमा असर पार्ने स्थानीय कृषक हीरा चौधरीले गुनासो गरे ।

सिँचाइको सहज व्यवस्था हुन नसक्दा जिल्लाको अधिकांश क्षेत्रफलको खेतमा आकासको पानीको भरमा धान रोपाइँ हुने गरेको छ ।

कृषि विकास कार्यालयका प्राविधिक मानसिं ठगुन्नाले बालीलाई आवश्यक पर्ने पानीको अभाव हुँदा धानबालीमा रोगजन्य किरा बढेकाले यसको रोकथामका लागि कृषकलाई औषधि छर्किन सल्लाह दिने गरिएको बताए । जिल्लाको धनगढी, भजनी, हसुलिया, अत्तरिया मसुरिया, चौमाला, जोशीपुर, टीकापुर, पहलमानपुर लगायतका क्षेत्रको धानबालीमा यस्तो समस्या बढी देखिएको हो ।

सिफारिस नगरिएको सर्जु—५२ जातको धानखेतीमा रोगजन्य किरा बढी देखिएकाले कृषि विकास कार्यालयले सर्जु—५२ जातको धान सिफारिस नगरेपनि पनि कृषक यो धानप्रति बढी आकर्षित भएको ठगुन्नाले बताए ।

जिल्लाको डुबान क्षेत्रका लागि सावा सव १, सावा सव स्वर्ण, राधा ४ को उन्नत धान र अन्य क्षेत्रका लागि सुख्खा ३, सावित्री, हर्दिनाथ, राम लगायतका उन्नत धानको खेती गर्न कृषि कार्यालयले सिफारिस गर्ने गरेको छ । जिल्लाको झन्डै ७२ हजार ५०० हेक्टर जग्गामा धानखेती हुने गरेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!