सिद्धार्थ यातायातद्वारा बुद्ध सर्किटको टुर प्याकेज सञ्चालन

- September 12, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

लुम्बिनी । सिद्धार्थ यातायात व्यवसायी समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै टुर प्याकेज प्रारम्भ गरेको छ ।
समितिले विश्व शान्तिका अग्रदूत शाक्यमुनि गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग जोडिएका क्षेत्रको अवलोकन गराउने उद्देश्यले गत शनिबारदेखि टुर प्याकेजको प्रारम्भ गरेको हो ।

प्रत्येक शनिबार सार्वजनिक बिदाको दिन आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी टुर प्याकेज सञ्चालन गरिएको सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार सारुमगरले बताए । बुद्ध सर्किट अवलोकन गर्ने इच्छा भएर पनि सवारीसाधनको अभावमा पर्यटकलाई लुम्बिनीबाहेक बुद्धसँग जोडिएका क्षेत्रको अवलोकन गर्न कठिन भएकाले उक्त प्याकेज सञ्चालन गरिएको उनको भनाइ छ ।

हरेक हप्ताको शनिबार लुम्बिनीको प्रवेशद्वार भैरहवाबाट बिहान ७ बजे बस छुट्ने गरी बुद्ध सर्किट भ्रमण सुरु हुनेछ । भैरहवाबाट सुरु भएको यात्रा लुम्बिनी हुँदै बुद्धसँग सम्बन्धित क्षेत्रको अवलोकन गर्दै पुनः भैरहवा फर्किएपछि सकिनेछ । करिब दुई घन्टा लुम्बिनी दर्शनपश्चात् यात्रुलाई केहीबेर खाना खुवाई बुद्ध सर्किटसँग जोडिएका क्षेत्र कपिलबस्तु जिल्लामा पर्ने कुदान, गोटिहवाको अवलोकन गराइनेछ ।

गोटिहवापछि कपिलवस्तुको निग्लिहवा हुँदै जगदीशपुर ताल भ्रमण गराइने, करिब आधा घन्टाको ताल अवलोकनपछि बुटवलस्थित ऐतिहासिक जितगढी किल्लामा घुमाइने र अन्तममा रुपन्देहीको तिलोत्तमा नगरपालिका मधवलियास्थित अस्ट्रिच फर्मको अवलोकन गराई साँझ भैरहवाको बुद्धचोक फर्काइने योजना रहेको छ । बुद्ध सर्किटका लागि ३५ सिट क्षमताको डिलक्स बस सञ्चालन गरिएको र यसमा प्रतिव्यक्ति रु ५५०। भाडा तोकिएको अध्यक्ष सारुमगरले बताए ।

पहिलो चरणको यो कार्यक्रम सफल भई पर्यटकको माग बढे छिट्टै रामग्राम हुँदै आरामदायी बस सञ्चालन गरिने र यसका लागि आवश्यक पर्ने पर्यटक प्रदर्शक लागि लुम्बिनी विकास कोष र पर्यटन मन्त्रालयसँग छलफल भइरहेको र दोस्रो प्याकेज टुर मनकामना दर्शन अर्को शनिबारदेखि प्रारम्भ हुने भएको छ ।
प्रत्येक शनिबार बिहान ५ बजे देवकोटा चोकबाट आरामदायी सानो बस ९हायस÷विङ्गर० मनकामना दर्शनका लागि छुट्नेछ भने साँझ ४ बजे कुरिनटारबाट भैरहवाका लागि फर्किनेछ । भैरहवा र आसपासमा बसोबास गर्नेले सहज रुपमा आफूले चाहेको स्थानमा भ्रमण गर्न नसकेकाले समिति आफैँले टुर प्याकेजको कार्यक्रम बनाएको हो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!