यातायातमा बेथिती, प्रहरीको सुरक्षा घेरामा टिकट बिक्री

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् ।

कानुन बमोजिम निर्वाध रुपमा बससेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि प्रहरीको सुरक्षा माग्नुपरेको बडिमालिका यातायात व्यवसायी समितिका पदाधिकारीले बताएका छन् ।

सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनको विषयलाई लिएर लामो समयदेखि विवाद रहेको छ ।

विवादकैबीच गन्तव्यमा गइरहेका बडिमालिका यातायातका बसमा सुदूरपश्चिम यातायात पक्षधरबाट बाधा अवरोध पु¥याउँदै तोडफोड हुन थालेपछि टिकट बिक्रीमा समेत प्रहरीले सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भएको हो ।

विवादका कारण बसमा पुनः तोडफोड हुनसक्ने देखिएपछि दुई हप्तादेखि प्रहरीको सुरक्षा घेरामा राखेर बडिमालिका बस गन्तव्यतर्फ पठाउन थालिएको छ । तीन हप्ताअघि यहाँ दुई पक्षबीच झडपका साथै बसमा तोडफोड भएको थियो । सुदूरपश्चिम यातायात व्यवसायी समितिले आलोपालो लगाउन खोजेको आरोप लाग्दै आएको छ ।

बडिमालिका यातायातले प्रालिमा दर्ता भए अनुसारको ‘रुट परमिट‘ नलिइ बस सेवा सञ्चालन गरेको आरोप अर्को पक्षले लगाएको छ ।

यद्यपि बडिमालिका यातायात व्यवसायी समितिका महासचिव दिबहादुर खलौलाले आफूहरुले नियममानुसार बससेवा सञ्चालन गर्न खोजे पनि सुदूरपश्चिम यातायात पक्षधरको ‘सिन्डिकेटका’ कारण बाधा अवरोध पु¥याइएको बताउछन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!