फेसबुक अभियानवाट रु। दश लाख सङ्कलन

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पर्वत । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् ।

पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन गरेको अभियानका क्रममा एक हप्तामा नै रु १० लाखभन्दा बढी सङ्कलन भएको हो ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी स्रोतमा शिक्षक राख्न पूर्व विद्यार्थी मञ्च गठन गरी फेसबुक म्यासेन्जरबाट सहयोग अभियान सञ्चालन गरिएको छ ।

अभियानका क्रममा एक हप्ताको बीचमा ६० जनाभन्दा बढी पूर्व विद्यार्थीले मञ्चको संरक्षक सदस्य बन्दै रु १० लाखभन्दा बढी सङ्कलन भएको मञ्चका सल्लाहकार मनोज गुरुङले जानकारी दिए ।

मञ्चले पूर्व विद्यार्थीबाट संरक्षक सदस्य बन्न रु १५ हजार, आजीवन सदस्य बन्न रु १० हजार र साधारण सदस्य बन्न रु ५०० शुल्क तोकेको छ । सदस्य बनेर उठेको रकमबाट निजी स्रोतमा शिक्षक राखी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने लक्ष्य राखिएको सल्लाहकार गुरुङले बताए ।

“एक हप्ताको बीचमा स्वदेश र विदेशमा रहेका पूर्व विद्यार्थीमध्ये धेरैले संरक्षक सदस्य बन्नुभएको छ” उनले भने – “हरेक दिन विदेश र स्वदेशबाट सहयोग रकम सङ्कलन हुने काम भइरहेको छ” । पूर्व विद्यार्थीबाट रु एक करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

गाउँबाट शिक्षाका लागि विद्यार्थी र अभिभावक बसाइ सराइ गर्दै सहरबजार धाउन थालेपछि गाउँमै गुणस्तरीय शिक्षा दिएर बसाइ सराइ रोक्ने मञ्चको पहिलो लक्ष्य रहेको अध्यक्ष गौतम गुरुङले बताए ।

उनका अनुसार आर्थर डाँडाखर्क गाविसबाट मात्रै विगत डेढ दशकको अवधिमा ४०० भन्दा बढी परिवार बसाइ सराइ गरेका छन् । अझै बालबालिका पढाउनका लागि बजारमा डेरा खोजेर बस्नेको सङ्ख्या बर्सेनि सयभन्दा बढी हुने गरेको छ । गाउँमै राम्रो शिक्षा दिन सके बजार झर्ने क्रम रोकिने विश्वास लिइएको अध्यक्ष गुरुङले बताए ।

विद्यालयका देश विदेशमा रहेका पूर्व विद्यार्थी एकै ठाउँमा भेला हुन कठिन भएपछि फेसबुक म्यासेन्जरलाई प्रयोग गरी भूतपूर्व विद्यार्थी मञ्च गठन गरेका थिए ।

मञ्चको कार्यसमितिको बैठक म्यासेन्जरमै बस्ने तथा आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि आर्थिक सहयोग र अन्य सहयोग पनि सङ्कलन गर्न थालेका छन् ।

विद्यालयका पूर्व विद्यार्थी एकै ठाउँमा भेला हुन सम्भावना नभएपछि फेसबुक म्यासेन्जरमा समूह बनाई विद्यालयको शैक्षिक सुधारका लागि सङ्गठित गरिएको मञ्चका उपाध्यक्ष नारायण पौडेलले बताए । स्वदेशमा भन्दा विदेशमा श्रमका लागि गएका विद्यार्थी बढी सङ्गठित हुने र सहयोग घोषणा गर्ने क्रम बढेको उपाध्यक्ष पौडेलले बताए । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!