पशुपति फुड्सलाई कारवाहीको माग, उत्पादन बन्द नगराए भौतिक कारवाही गर्ने महासंघको चेतावनी

- August 24, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आम उपभोक्ताले गुणस्तरीय खाद्यान्न प्रयोग गरी उत्पादन गरेको र अत्यधिक मात्रामा रुचाएको पशुपति फुड्स प्रालिले उत्पादन गरेको आँगन मिठाईमा दिसा–पिसाबमा पाइने जीवाणु ‘कोलिफर्म’ भेटिएको र उक्त कम्पनीलाई कुनैपनि कारवाही नभएको भन्दै अखिल नेपाल क्रान्तिकारी ट्ेड युनियन महासंघले कारवाहीको माग गरेको छ ।

आज काठमाडौं एक अन्तक्रिया कार्यक्रम गर्दे महासंघले तत्काल गुणस्तरहिन उत्पादन बन्द गरी कम्पनीका संचालकलाई कारवाही गर्न माग गरेको हो ।

काठमाडौंमा अत्यधिक चर्चित आँगन ब्राण्डको मिठाईमा मानव मलमूत्रमा पाइने ‘कोलिफर्म’ जीवाणु पाइएपछि सम्बन्धित निकायले कारबाही गर्ने तयारी गरेको छ । सरकारी टोलीले अनुगमन गर्दा आँगन मिठाईमा फोहोर भेटिएपछि नमुना परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो । अनुगमन टोलीले आँगन मिठाईको खुवा ल्याब परीक्षणमा पठाई परीक्षण गर्दा  ‘१६ हजार कोलीर्फम’ फेला परेपछि आपूर्ति तथा उपभोक्ता विभागले सो मिठाई सञ्चालकविरुद्ध मुद्दा दायर गर्न लागिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । कुनैपनि प्रशोधित खाद्य पदार्थमा कोलिफर्मको मात्रा शून्य हुनुपर्ने छ ।

तर मिठाईमा रोग संक्रामक हानिकारक कोलिर्फम भेटिनु उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको समेत विभागले जनाएको छ । विज्ञहरूका अनुसार खाद्यान्नमा कुनै ‘कोलिफर्म’ हुनै हुँदैन । मिठाई बनाउँदा प्रयोग गरिने पदार्थमा नै कोलिर्फम हुनु  लापरबाहीको हद भएको र १६ हजार कोलिर्फम भेटिनु भनेको सानोतिनो विषय नभएको निर्देशक श्रेष्ठले बताए । आपूर्ति विभागले संकलन गरेको नमुना परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रोगशालामा परीक्षण गरिएको थियो । विभागले कोलिफर्म उच्च पाइएको रिपोर्ट सहितको प्रतिवेदन पाएपछि उत्पादकविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । विभागले जिल्ला अदालतमा मुद्दा दर्ताका लागि रिपोर्टको प्राविधिक परामर्श मागेको छ ।

उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुनेगरी मिठाई बेचेबापत कडा कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्ने तयारी विभागले गरेको छ । खाद्य ऐनमा दूषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

यसैगरी, पशुपति फुड्स प्रालिले दूधबाट मात्र बनाइने खुवामा पीठो पनि मिसाएको पुष्टि भएको छ । उपभोक्तालाई स्टार्चयुक्त पीठो मिसाएर खुवामा ठगी गरिरहेको ठहर पनि विभागले गरेको छ । गत असार २२ गते तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले आँगनको मिठाई बन्ने स्थानमा अखाद्य घिउ तेल र अन्य खाद्य वस्तु भेटेको थियो ।

ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको मिठाई उत्पादन केन्द्रमा भएको अनुगमन गरिएको थियो । त्यतिबेला मिठाईमा प्रयोग भएको घिउ तेलमा झिंगा र कमिला डुबेर मरेको भेटेपछि, टोलीले नमुना लिएर त्यसलाई नष्ट गरेको थियो । मिठाईमा प्रयोग हुने पीठो लगायतका अन्य वस्तु पनि फोहोर र झिँगा भन्किरहेको भेटेपछि गुणस्तर जाँच गर्न पठाइएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!