महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालविरुद्ध बैंककै कर्मचारीद्वारा अख्तियारमा उजुरी (पत्रसहित)

- August 23, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको विधान संसोधन समितिका संयोजक चण्डीराज ढकालका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराइएको छ ।  शक्तिकेन्द्रका आडमा सरकारी बैंकको २ अर्ब ५० करोड रुपैयाँ बढी रकम हिनामिना गरेको भन्दै आयोगमा उजुरी परेको हो ।

IMG_0914
सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकमा २०५३ सालमै उनले झापामा संचालन गरेको मोमेण्टो एपरेल्स प्रालि (गार्मेन्ट उद्योग) को नाममा लिएका ऋण नतिरेर सो बैंकले कालोसूचिमा राखे पनि नतिरिएको ऋण असूली नगरिएको र शक्तिकेन्द्रको आडमा उनलाई उन्मुक्ति दिने काम गरिएको भन्दै राष्ट्रिय वाणिज्य बैंककै कर्मचारीहरुले उजुरी हालेका हुन् ।
साउन ५ गते हालिएको उजुरीमा मुख्य दोषी मोमेण्टो एपरेल्सका प्रमुख संचालक ढकाललाई बनाइएको छ । उनले एपरेल्सको नाममा नक्कली कागजात खडा गरी कम धितोको जग्गा राखी तत्कालीन बैंक व्यवस्थापनका उच्च तहका मानिसलाई समेत प्रभावमा पारी दुई दशकअघि ऋण लिएका र सो ऋण हालसम्म नतिरिएको उजुरीमा उल्लेख छ ।
ढकालले ०५३ सालमै राष्ट्रिय वाणिज्य बैंकबाट मोमेन्टोको नाममा ३० करोड रुपैयाँभन्दाबढी ऋण लिएका र सो ऋणको ब्याज समेत जोडिएर हाल साढे २ अर्ब बढी भइसके पनि अझै तिरेका छैनन् । सो ऋणको सावा र ब्याज हालसम्म पनि उनले चुक्ता गरेका छैनन् । बैंकले उनलाई पटक–पटक कालोसूचिमा राखे पनि राज्यको उपल्लो स्तरसम्म पहँुच भएका कारण र त्यसैको आडमा उनले सरकारी लगानीको बैंकको पैसा पचाउँदै आएका छन् ।

IMG_0916
‘ढकालले त्यसबेलादेखिको साँवा र ब्याज गरी राष्ट्रिय वाणिज्य बैंकको मात्रै साढे २ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ ।’ बैंकका एक कर्मचारीले भने,‘उनलाई बैंकले पटक–पटक कालोसूचिमा राखे पनि हरेक पटकका सीइओ, प्रधानमन्त्री, अर्थमन्त्री, अख्तियार प्रमुख, प्रहरी समेतको धाक दिएर मिलाउने गरेका छन् ।’
ती कर्मचारीका अनुसार सर्वसाधारणले एक–दुई लाख लिंदा र नतिर्दा बैंकले राज्यका आधिकारिक निकाय प्रयोग गरेर कर्जा असूली गर्ने गरे पनि ढकाललाई उन्मुक्ति दिने काम भएको छ ।

बैक कर्मचारीले भने,‘त्यति IMG_0917धेरै रकम पचाएर नतिर्दा समेत उनीबाट कर्जा असूलीका लागि कालोसूचिमा राख्ने बाहेक केही काम भएको छैन ।’ कागजी कालोसूचिमा राखेर बैंकका हाकिमहरु तिनै कालोसूचिका व्यक्तिसँग तारे होटलमा डिनर गर्छन, उपहार आदानप्रदान गर्ने गरेका आरोप समेत लगाईएको छ ।
कर्मचारीहरुले आफूहरुको तर्फबाट डूबेको ऋण असूलीका लागि पटक पटक प्रयास गर्दा पनि आफूहरुलाई हतोत्साही बनाइएको, चण्डी ढकालले कालोसूचिमा परेका व्यक्ति भए पनि उल्टै कर्मचारीलाई धाकधम्की दिने गरेका आरोप लगाएका छन् । स्रोतका अनुसार केपी ओली सरकारको पालामा बैंकका केही कर्मचारीको प्रयासमा ढकालबाट ऋण असूलीको प्रयास गरिएको थियो । तर, त्यसबेला समेत झापाली भएको नाताले ओलीसँग गाउँले नातो गाँसेर ढकालले आफूमाथिको संभावित कारबाही रोक्न सफल भएका थिए ।
‘हामीले उनलाई कालोसूचिमा राखेको वर्षौ भयो ।’ राष्ट्रिय वाणिज्य बैंकका एक उच्च तहका कर्मचारीले भने–‘तर हामीले कालोसूचिमा राखेका व्यक्ति नै मन्त्री, गभर्नर, प्रधानमन्त्री र उच्च नेतासँगको संगतमा हुन्छन् ।’  ती कर्मचारीको भनाईमा बैंकका ठूला डिफल्टरका सामुन्ने सार्वजनिक समारोहहरुमा आफूहरुले नै शिर झिकाउनुपर्ने अवस्था रहेको छ । ‘ठूला सार्वजनिक समारोहहरुमा प्रधानमन्त्री र ठूला नेतासँगको संगतका कारण कालोसूचिका व्यक्ति ढकालसँग हामीले उल्टो शिर झुकाउनुपर्ने लाजमर्दो अवस्था छ ।’
ती कर्मचारीले थपे,‘अन्य देशमा कालोसूचिको व्यक्तिलाई सामाजिक बहिस्कार गर्ने चलन छ, तर हाम्रो देशमा साढे २ अर्ब बढी नतिर्ने कालोसूचिका ढकालको राज्य तहको उपल्लो स्तरमा उल्टो चलखेल चल्छ, हामीले उल्टो नमस्कार गरेर हिँड्नुपर्ने अवस्था छ ।’
ती कर्मचारीको भनाईमा अर्थमन्त्री, प्रधानमन्त्री, राष्ट्रबैंकका गभर्नर र प्रहरीका हाकिम लगायत सबै तहका प्रमुखहरु नतातेसम्म राज्य र जनताको २ अर्ब बढी रकम उठ्ने संभावना छैन् ।
अख्तियारमा परेको उजुरीमा समेत कर्मचारीहरुले ढकाललाई तत्काल पक्राउ गरी डूबेको ऋण असूली गर्न आग्रह गरेका छन् । सो उजुरीमा उल्लेख भए अनुसार ढकालले राष्ट्रिय वाणिज्य बैंकको मात्र होइन, नेपाल बंगलादेश बैंकलाई पनि २३ करोड बढी रकम तिर्नुपर्ने छ ।
उजुरीमा राष्ट्रिय  वाणिज्य बैंक ऋण असूली विभागका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत, नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश बैंकको प्रमुख तथा कर्मचारी, नेपाल राष्ट्रबैंकको नियमन विभागका कार्यकारी निर्देशक लगायतलाई समेत विपक्षी बनाइएको छ ।
उजुरीमा भनिएअनुसार पछिल्लो समय बैंकका उच्च तहका केही कर्मचारीको समेत ढकालसँग मिलेमतो रहेको छ । ढकालले ‘अख्तियार प्रमुख पनि आफ्नै मान्छे हो’ भन्दै ऋण उठाउन खोज्दा आफूहरुलाई धाकधम्की दिने गरेका समेत उजुरीमा उल्लेख गरिएको छ । ढकालविरुद्ध अख्तियारमा परेको उजुरीको दर्ता नम्बर ४०९३ रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!