केसीको बालुवाटार पदर्शनमा संग्रौला देखि काँग्रेस सांसदसम्म

- August 20, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । चिकित्सा क्षेत्रमा भएको विकृति र बेथितिविरूद्ध आठ पटकसम्म अनशन बसी लड्दै आएका डा गोविन्द केसीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा केसीले सरकारले आफूसँग गरेका माग कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनःनवौँपटक आमरण अनशन बस्ने चेतावनी दिए । उनले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य शिक्षामा सबैको पहुँच हुनुपर्ने माग गर्दै सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका सांसद सुरेन्द्र चौधरीले आफूहरु पनि भ्रष्टाचार र माफियातन्त्रको विरोधमा रहेको भन्दै डा केसीका माग जनतामुखी भएकाले संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोगसम्बन्धी छलफल गराउने प्रतिबद्धता व्यक्त गराए ।

प्रदर्शनमा लेखक खगेन्द्र सङ्ग्रौलाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले क्षेत्राधिकार बाहिर गएर काम गरिरहेको भन्दै सांसदहरुले यस विषयमा आवाज नउठाउनु लोकतन्त्रमाथिकै कुठाराघात भएको धारणा राखे ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठले डा गोविन्द केसीका माग सरकारले स्वीकार गरिसकेर पनि पूरा नगर्नु दुःखद भएको बताए ।
प्रदर्शनमा १०० भन्दा बढी व्यक्तिको उपस्थिति थियो । उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड, पम्प्लेटसमेत बोकेका थिए । उक्त विरोध कार्यक्रमका क्रममा निषेधित क्षेत्रमा प्रदर्शनकारी पस्नसक्ने भन्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!