ब्रोइलर कुखुराको मासु र अन्डाबाट करोडौँ आम्दानी

- August 20, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

झापा । केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणबाट झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको जनाएको छ ।

सोही सर्वेक्षणले अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट उत्पन्न हुने मल बिक्रीबाट रु ६२ लाख ३४ हजार आम्दानी हुने गरेको तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१÷७२ मा व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजा चालु आव २०७३÷७४ को साउन अन्तिम दिन मङ्गलबार यहाँ सार्वजनिक गरिएको थियो ।

पहिलो पटक नेपालमा गरिएको यो सर्वेक्षणमा झापामा कुखुरापालन व्यवसाय सङ्ख्या ५६२ रहेको जनाइएको छ, जसमा ब्रोइलर व्यवसायको सङ्ख्या ५४० मा नौ लाख ३३ हजार ब्रोइलरको सङ्ख्या रहेको र लेयर्स व्यवसायको सङ्ख्या २२ मा लेयर्स कुखुरा ३० हजार सङ्ख्यामा छन् । सर्वेक्षणले झापामा कुखुराको मासु दुई हजार ७३ मेट्रिक टन र अन्डा ६९ लाख ६९ हजार उत्पादन भइरहेको देखाएको छ ।

पाँच सय कुखुराभन्दा बढीका व्यवसाय मात्र सर्वेक्षणमा राखिएको जनाइएको छ । सञ्चालकसहित कामदार सङ्ख्या एक हजार १४ र अस्थायी कामदार व्यक्ति दिन सङ्ख्या नौ हजार १०० रहेको सर्वेक्षण नतिजामा उल्लेख छ ।

ऋण लिएर व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या ४८ र ऋणको आवश्यकता महसुस गर्ने व्यवसायको सङ्ख्या ७६ छ । नाफामा सञ्चालित व्यवसायको सङ्ख्या ९३ देखिएको बताइएको छ ।

सर्वेक्षणमा व्यवसायीले सहुलियतपूर्ण ऋणको व्यवस्था, कुखुरा र अन्डा बिक्रीका लागि उचित बजारको व्यवस्था, स्थानीयस्तरमा प्राविधिक सेवाको सहज पहुँच तथा निःशुल्क सेवा, चल्ला एवम् दानाको गुणस्तरको सरकारद्वारा कडाइका साथ अनुगमन, सरकारले कुखुरा र अण्डाको मूल्य निर्धारण गर्नुपर्ने जस्ता माग सरकारसँग राखिएको सर्वेक्षणमा उल्लेख छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!