काभ्रे बस दुर्घटनामा तत्काल उद्धार थाल्न प्रमको निर्देशन, मृतकको संख्या ३३ पुग्यो

- August 15, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले गृह मन्त्रालयलाई उद्धार कार्यका लागि तत्काल हेलिकप्टर पठाउन निर्देशन दिएका हुन् ।

“दुर्घटना भएको खबर पाएलगत्तै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्नुभयो र हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभयो” – प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार आचार्यले भने ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ पठाएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी नेपालले नेपाली सेनाको एमआई १७ हेलिकप्टर घटनास्थलमा पुगिसकेको जानकारी दिए ।

उनका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।

स्थानीय प्रशासनलाई घाइतेलाई हेलिकप्टर बस्न सक्ने ठाउँसम्म ल्याइपु¥याउन आग्रह समेत गरिएको थाहाभएको छ ।
यसै गरी काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।

काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा ४३ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कात्तिके देउराली, प्रहरी चौकी फलाँटे तथा दोलालघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली उद्धारमा खटिएको छ ।

घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । घटनास्थलमा उद्धार जारी रहेको प्रहरीले जनाएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!