चाँगुनारायण र सूर्यविनायक नगरपालिकाः झुलाउने र भद्रगोल

- July 9, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भक्तपुर । जनताको गुनासो सुन्न र समस्या समाधान गर्ने उद्देश्यले भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गुनासोको ओइरो लागेको छ ।

चाँगुनारायण नगरपालिकाको आयोजनामा सूचना अधिकार समाजकोे सहजीकरणमा भएको कार्यक्रममा स्थानीयले नयाँ नगरपालिकामा गुरुयोजना बनाएर काम हुन नसक्दा विकासका कार्यक्रम प्रभावित भएको गुनासो गरेका थिए ।

चाँगुनारायण नगरपालिकाका स्थानीय शङ्कर गौतमले गुरुयोजना बिनाको नगरपालिकाको विकास भद्रगोल हुने गरेको गुनासो गर्दै पार्क, औद्योगिक क्षेत्र, हरियाली, ढल निकास र फोहर व्यवस्थापनका लागि अहिले नै सुरक्षित क्षेत्र निर्धारण गर्नुपर्ने औँल्याए ।

नगरपालिकाका स्थानीय नवराज गेलालले प्रशासनले नागरिकप्रति गर्ने व्यवहार विभेदपूर्ण भएको गुनासो गर्दै भने˗ “भूकम्पपीडितले बालुवा खानीबाट बालुवा झिकेर घर बनाउँदा नागरिकलाई प्रहरीले समात्छ तर, रातारात बालुवा तस्करी गरेर नगरपालिका बाहिर पठाउँदा कोही कसैलाई कारबाही हुँदैन, यो कस्तो विभेद हो ।”

चागुँनारायण नगरपालिका–१०का स्थानीय रोजबहादुर तामाङले टोलका १५ परिवारले हालसम्म पनि सरकारले दिएको अस्थायी आवास निमार्ण स्वरुपको रु १५ हजार र न्यानो कपडा किन्न दिएको रु १० हजार नपाएको गुनासो गरे ।

चाँगुनारायण नगरपालिकाका मोहन रोक्काले जिल्ला विकासले बालुवा उत्खनन र निकासीमा रोक लगाएको भए पनि मिलोमतोमा बालुवा निकासी भइरहेकाले त्यसलाई तत्काल रोक्न माग गरे ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धुव्रप्रसाद कोइराला, चागुँनारयण नगरपालिकाका कार्यकारी अधिकृत लेखनाथ भुसाललगायतले नगरलाई सुन्दर बनाउन स्थानीय र सरकारी निकायको बराबर भूमिका हुने भएकाले सबैले हातेमालो गरेर समस्या समाधानतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा उपभोक्ता समितिमार्फत सञ्चालन गरेको आयोजना सम्पन्न भए पनि भुक्तानी लिन झमेला हुने गरेका छन् ।

समितिमार्फत कार्य सम्पन्न गरिएको आयोजनाको रकम फछ्र्योटका लागि निवेदन दिँदा विभिन्न कागजी प्रक्रिया नपुगेको भन्दै नगरपालिकाका लेखा अधिकृतले भुक्तानी नदिएर झुलाउने गरेको सूर्यविनायक नगरपालिका–८ की उषा बस्नेतले गुनासो गरे ।

सूर्यविनायक नगरपालिका–७ की कृष्णकुमारी कोजुले महिला उपभोक्ताले सुरुमै २० प्रतिशत रकम हालेर योजना सञ्चालन गर्न समस्या भएकाले यस्तो प्रावधान हटाउन माग गरे ।

सूर्यविनायक–४ का रामकृष्ण बोहजुले असारको वर्षात्मा काम गर्ने परिपाटीको अन्त्य नभएसम्म दिगो विकास हुन नसक्ने बताए भने सूर्यविनायक–६ का श्रीराम व्यान्जुले नगरपालिकाले यस आर्थिक वर्षको योजनाको ठूलो रकम खर्च हुन नसकेको गुनासो गरे ।

नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले आम नागरिकले प्रत्यक्ष अनुभूत हुने गरी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!