महासंघका व्यवसायीबीच चुनावी सरगर्मी

- July 9, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका व्यवसायीबीच अहिले चुनावी सरगर्मी सुरु भएको छ । गत २८ र २९ चैतमा हुनुपर्ने निर्वाचन कोरोना भाइरस महामारीका कारण आगामी २६ र २७ साउनका लागि सारिएको छ । निर्वाचनको नयाँ मिति तय भएसँगै अहिले महासंघमा आबद्ध व्यवसायीबीच चुनावी सरगर्मी सुरु भएको हो ।

महासंघको ५४औं वार्षिक साधारण सभा एवं निर्वाचनको दिन आउन अब करिब एक महिना मात्र बाँकी हुँदा महासंघले उम्मेदवारी मनोनयन र सदस्यता नवीकरणका लागि सूचना जारी गरेको छ । महासंघले आइतबार सूचना जारी गरी वार्षिक साधारण सभा एवं निर्वाचन मनोनयन दर्ता तथा सदस्यता नवीकरणका लागि समय तालिका प्रकाशित गरेको हो ।

अहिले महासंघको वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र अर्का उपाध्यक्ष किशोर प्रधानले आ-आफ्ना समूहसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सूचनाअनुसार साधारण सभामा भाग लिने प्रतिनिधि व्यवसायीले महासंघको वार्षिक सदस्यता शुल्क प्रतिनिधि शुल्क र प्रतिनिधिपत्र आगामी २६ साउन अगाडि नै बुझाइ सक्नुपर्नेछ । तर, उम्मेदवार खडा गर्ने सदस्य संघ संस्थाको हकमा भने सो सबै शुल्क आगामी १८ साउनभित्र बुझाइसकेको हुनुपर्ने महासंघले जनाएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने निर्वाचनका लागि गत ८ असारमा बसेको महासंघ कार्यकारिणी समितिको निर्णयअनुसार महासंघले आइतबार निर्वाचन सम्बन्धित विस्तृत सूचना सार्वजनिक गरेको हो ।

यस निर्वाचनसम्बन्धी सूचनाअनुसार साधारण सभा उद्घाटनका दिन २६ साउनमा महासंघका अध्यक्षले सम्बोधन गर्ने, वार्षिक प्रतिवेदन प्रस्तुत र अनुमोदन गर्ने, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षण नियुक्त गर्ने र अन्य प्रस्तावउपर छलफल गर्ने कार्यक्रम रहेको छ भने २७ साउनमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र अन्य कार्यकारिणी सदस्य चयनका लागि निर्वाचनको कार्यतालिका बनाइएको छ ।

यस निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अवधि भने आगामी १८ साउनको बेलुकी ५ बजेसम्मको समय तोकिएको छ । यसअघि मनोनयन दर्ता गराइसकेकाको हकमा भने नयाँ मनोनयन दर्ता गराउनुपर्नेछैन । साधारण सभामा भाग लिनका लागि प्रतिनिधि शुल्क ४ हजार रुपैयाँ तोकिएको छ । तर, एकै संघका दुई वा सोभन्दा बढी प्रतिनिधि सहभागी भएमा १ हजार ५ सयका दरले प्रतिव्यक्ति थप शुल्क लिइने बताइएको छ ।

आगामी निर्वाचनका लागि उम्मेदवार हुने व्यवसायीको हकमा भने वरिष्ठ उपाध्यक्षका लागि प्रतिव्यक्ति ३ लाख रुपैयाँ, उपाध्यक्षका लागि प्रतिउम्मेदवार डेढ लाख रुपैयाँ र कार्यकारिणी सदस्यका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । मनोनयन दर्ता गरी उम्मेदवारी फिर्ता लिए पनि सो शुल्क फिर्ता नहुने महासंघले जनाएको छ ।

अहिले महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अर्का वर्तमान उपाध्यक्ष किशोर प्रधानले आआफ्ना समूहसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । आगामी निर्वाचनका लागि व्यवसायी ढकालको समूहबाट एसोसिएट्सतर्फ रामचन्द्र सांघाई वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला÷नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यसैगरी ढकालका प्रतिस्पर्धी किशोर प्रधानको समूहबाट उपाध्यक्षमा एसोसिएट्सतर्फ सौरभ ज्योति, वस्तुगततर्फ अञ्जन श्रेष्ठ र जिल्ला र नगरतर्फ दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

हालको विधानअनुसार महासंघको आगामी नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नै गर्ने छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था विधानमा भएकाले आगामी निर्वाचनबाट गोल्छा महासंघको अध्यक्ष बन्नेछन् । त्यसैले अब आगामी निर्वाचनका लागि मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्ष पदमा नै केन्द्रित हुनेछ । वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधान चुनावी मैदानमा उत्रिँदै छन् ।

महासंघको विधानले निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्ष तोकेको छ । विशेष परिस्थितिमा कार्यकाल तीन महिनासम्म मात्रै लम्ब्याउन सकिन्छ । म्याद अवधि सकिएको तीन महिना सकिएपछि कार्यसमिति वैधानिक हुन सक्दैन । तर, कार्यसमितिले बाधा अड्काउ फुकाउ गर्दै आगामी साउनमा निर्वाचन गर्ने निर्णय गरेको हो । यस महाधिवेशनका लागि काठमाडौंमा आउनुपर्ने १ सय ६ जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्व र वस्तुगत संघका नेतृत्वलगायत करिब ४ सयको संख्यामा हुने र सामाजिक दूरी कायम गरी तोकिएकै दिन महाधिवेशन हुने अपेक्षा गरिएको महासंघले जनाएको छ ।

यी हुन् अन्य आकांक्षी
एसोसिएट उपाध्यक्षका लागि सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघकै पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा सौरभ नाडाको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति हुन् । एसोसिएटतर्फका अर्का आकांक्षी उम्मेदवार रामचन्द्र संघाई हुन् । त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक संघाईलाई निकासीमा राम्रो योगदान गरेको भन्दै सरकारले सीआईपी सम्मान पनि गरेको थियो । हाल उनले धागो उत्पादन गर्दै आएका छन् । उनको बैंक तथा वित्तीय क्षेत्रमा पनि राम्रै लगानी रहेको छ । उनी एनआईसी एसिया बैंकका सञ्चालक पनि हुन् ।

यसैगरी, अर्को उपाध्यक्ष पद जिल्ला नगरको हो । महासंघमा आबद्ध विभिन्न १ सय १० वटा जिल्ला तथा नगरबाट एक जना उपाध्यक्ष छानिनुपर्नेछ । यस पदका लागि दुईवटा प्रदेश अध्यक्ष प्रतिस्पर्धामा उत्रिने भएका छन् । बाग्मती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ र प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीबीच प्रतिस्पर्धा हुनेछ । श्रेष्ठ यसअघि नै वस्तुगत तर्फबाट महासंघका उपाध्यक्ष भइसकेका छन् । कपी तथा स्टेसनरी उद्योग, नेपालगन्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, गोरखापत्रलाई कागज, प्रिन्टिङ मेसिनरी सप्लाईलगायतमा लगानी रहेका श्रेष्ठ माल्ट्राका लागि अवैतनिक महावाणिज्य दूतसमेत हुन् ।

उनै श्रेष्ठसँग प्रदेश ५ का अध्यक्ष तिवारीले प्रतिस्पर्धा गर्दै छन् । तिवारीलाई अहिले वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समूहको समर्थन रहेको छ । अहिले महासंघमा कुल १ सय ३ वटा वस्तुगत संघ रहेका छन् भने द्विदेशीय संगठन १८ वटा रहेका छन् । अहिलेसम्म यसलाई पनि वस्तुगतअन्तर्गत नैै समावेश गरिएको छ । वर्तमान वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि अहिले यही पदमा दोहोरिन चाहेका छन् ।

ठूलो राजनीतिक घरानाका भएर पनि उद्योगमै रमाएका श्रेष्ठ वस्तुगत तर्फबाट महासंघ प्रवेश गरेका सफल व्यवसायी हुन् । उनी नेकपाका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठका छोरा हुन् । श्रेष्ठ अहिले महासंघका वर्तमान उपाध्यक्ष हुन् । यसअघि तीन कार्यकाल महासंघको सदस्य भएर उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । यसअघि उनी लगातार तीन कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्ष पनि थिए ।

अहिले महासंघको वस्तुगत उपाध्यक्षका लागि अर्का व्यवसायी अञ्जनकुमार श्रेष्ठ पनि आकांक्षी देखिएका छन् । लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठ नाडा अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत हुन् । अहिले महासंघमा श्रेष्ठलाई पनि बलिया प्रतिस्पर्धी उम्मेदवारका रूपमा हेरिएको महासंघका व्यवसायीले बताउँदै आएका छन् । -मधुजंग पाण्डे,


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!