नेकपामा कलह: दाहालले मागे राजिनामा, ओलीले भने, ‘यो कुण्ठा हो’

- July 1, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं : सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’

प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’

‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’

दाहाललाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए । उनीहरूले पनि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका दुवै नेतृत्व नैतिकताका आधारमा छोड्नुपर्ने माग राखे । दुई दिन वि श्राम लिएर पार्टी बैठकमा सहभागी हुन निर्धारित समयमै मंगलबार बिहान ११ बजे स्थायी समिति सदस्यहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली भने बैठक सुरु नगरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गए । झन्डै ४५ मिनेटपछि मात्र उनी बालुवाटार फर्के । र, बैठक सुरु भयो । अघिल्ला बैठकमा भन्दा फरक नेताहरूको कुर्सी स्थायी समितिका सदस्य बसेकै मञ्चको तल्लो लहरमा झारिएको थियो ।

बैठक सुरु गर्दै अध्यक्ष दाहालले सुरुमा आफूलाई भूमिकाविहीन बनाइएको गुनासोे गरे । ‘मंसिर ४ मा मलाई कार्यकारी अधिकार दिने भनेर निर्णय गरियो । त्यसपछि सचिवालय बैठक बसियो । केन्द्रीय समितिको बैठक पनि बसियो । त्यसपछि भने पार्टी ठीक ढंगले अगाडि बढ्न सकेन । बैठक नबस्ने, बैठकप्रति नै अरुचि राख्ने काम प्रधानमन्त्रीले गर्न थाल्नुभयो । यस्तो किन भइरहेको छ ? ’ उनले भने, ‘पार्टीका कामहरू अगाडि बढ्न नदिने, सरकारका कामहरू पनि स्वेच्छाचारितामा प्रधानमन्त्रीले गर्ने अवस्था मात्रै रह्यो । मलाई प्रधानमन्त्रीले भूमिकाविहीन बनाउन खोज्नुभयो ।’

एक स्थायी समिति सदस्यका अनुसार, त्यसपछि उठाए, प्रधानमन्त्री ओलीले १४ असारमा मदन भण्डारी जन्म दिवसका दिन बोलेका अभिव्यक्तिका विषय । ‘प्रधानमन्त्रीले के बोल्नुभयो, भारतले सरकार हटाउन लागेको छ । नेपालकै नेताहरू यसमा लागेका छन् । भारतले हटाउन खोजेका भन्ने कुरा गम्भीर छ । यो झुटो प्रचारबाजी मात्र हो,’ दाहालले भने, ‘हो भने यो खेलमा को–को लागेको हो ? प्रधानमन्त्रीले ती नेताहरूका विषयमा बताउनु पर्‍यो । साँच्चै त्यस्तो हो भने पार्टी एक ढिक्का भएर लड्नु पर्नेमा किन बाहिर बोल्नुभयो ? यस विषयमा प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्‍यो ।’

त्यही सन्दर्भमा उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । ‘अब तपाईंबाट पार्टीको नेतृत्व पनि चल्दैन, सरकार पनि चल्दैन । राजीनामा दिनुहोस् भनेर मैले वैशाख १७ गतेको सचिवालय बैठकमै भनेको हो । तपाईंले राजीनामा दिनु भएन । त्यो बेला नक्सा त आएको थिएन नि । अनि अहिले त्यस्तो कुरा गर्ने ? ’ दाहालले भने ।

अघिल्लो पालि पनि प्रधानमन्त्रीलाई भारतले नभई आफूहरूसँगको सहमति तोडेकाले हट्नु परेको दाहालको भनाइ थियो । नक्सा सार्वजनिक गर्ने काम कुनै व्यक्तिको मात्र निर्णय र आँट नभएर पार्टी बैठकको निर्देशनका आधारमा भएको दाहालको भनाइ थियो ।

दाहाल कडा रूपमा प्रस्तुत भएपछि प्रधानमन्त्रीले कडै रूपमा जवाफ दिए ।

‘घटनाहरू भएकै छन् । भारतले हस्तक्षेप गर्‍यो भन्दा टाउको दुखाउनुपर्ने किन ? होटलहरूमा चलखेलहरू भइरहेका छन् । त्यो मलाई थाहा छ । सबै कुरा किन बताइरहनु पर्‍यो’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू र भारतीय मिडियाका शैली मिलेको छ । यहाँ तपाईंहरू गुटबन्दी गर्नुहुन्छ । उताका मिडिया प्रचण्डको नेतृत्वमा सरकारविरुद्ध मोर्चाबन्दी भनेर समाचार दिन्छन् । मैले भनिरहनु पर्दैन ।’ उनले आफूले जे जति गरेको छु, त्यो राष्ट्रकै हितका लागि गरेको बताएका थिए ।

करिब २० मिनेट मात्र बोलेका प्रधानमन्त्री ओलीले दाहालले पार्टीमा कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न नपाएको भनी गरेको गुनासोमा पनि बोले । ‘पार्टी सचिवालय बैठकले माइन्युट गरेकै छ । कार्यकारी अध्यक्ष भनिएकै छ । अनि किन मन खुम्चाउनु ? ’ उनले भने, ‘एकताका काम अगाडि बढाएको भए भइहाल्थ्यो । किन रोकिनु पथ्र्यो ? यसमा मैले कहिले नाइँनास्ती गरेको छु ? ’

त्यसपछि पालो आयो वरिष्ठ नेता झलनाथ खनालको । ‘यो पार्टी सम्पूर्ण नेता–कार्यकर्ता समर्थक, शुभेच्छुकले निर्माण गरेको हो । यसलाई आफ्नो बपौती कसैले पनि ठान्नु हुँदैन । जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद निर्माण गर्ने दिशामा हामी अगाडि बढेका छौं’, उनले भने, ‘यो सरकारले तीनवटा नीति तथा कार्यक्रम र बजेट ल्यायो । तर समाजवादको कुनै चरण पनि छैन । पुँजीवादको चक्करमा घुम्ने कामबाहेक केपी ओली नेतृत्वको सरकारले केही पनि गरेन ।’

उनले पार्टीमा छलफल हुने नगरेको बताए । ‘पार्टी एकताको काम अगाडि बढेर जान पाएन । बीचबीचमा रोक्नु भएको छ । अरूलाई भन्नुहुन्छ तर तपाईंले गुट सञ्चालन गर्नु भएको छ । यसरी पार्टी चल्छ ? पार्टी र सरकार दुवै चलाउन सक्नु भएन । त्यसकारण यसमा गम्भीर छलफल गरेर यही बैठकबाट निर्णय लिनुपर्छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर अन्तर्राष्ट्रिय सम्बन्ध जटिल बनाउने दिशामा नजानुहोस्’, उनले भने । खनालले पार्टीले स्पष्ट शैलीमा प्रधानमन्त्रीलाई हटाउने भन्यो भने तानाशाह जसरी बस्न कसैले पनि नसक्ने बताए ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी खोज्नुपर्ने अवस्थामा पुगेको आरोप लगाए । ‘कमिटी कमिटीजस्ता छैनन् । सरकार सरकार जस्तो छैन । नियुक्तिहरूमा कुनै मापदण्ड छैन । यसरी कसरी सरकार र पार्टी चल्छ ? ’ उनले भने, ‘प्रधानमन्त्री ओली रूपान्तरण नै हुन नचाहने नेता हुनुहुन्छ । व्यक्तिवाद, दम्भ, अहंकार मात्रै देखियो प्रधानमन्त्रीसँग । पटकपटक रूपान्तरण गर्न खोज्दा पनि रूपान्तरण हुन नचाहने, नसुध्रिने, सबै आफंैले गरेको मात्र भन्नुहुन्छ । पार्टी निर्माणको यत्रो लामो इतिहास छ । अरूको कुनै योगदान नै छैन ? सबै उहाँले मात्र गरेको हो ? ’ प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले भारतसँग झन् अविश्वास बढेको र यस्तो अविश्वास मात्र देखाउने व्यक्तिबाट नेतृत्व नचल्ने उनको भनाइ थियो ।

उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले नेतैपिच्छे फकाउने र आफ्नो स्वार्थपूर्तिका लागि मात्र प्रयोग गर्ने प्रवृत्ति रहेको आरोप लगाए । ‘४० वर्षदेखि हाम्रो संगत छ । उहाँ एउटा मान्छेलाई बोक्नुुहुन्छ, उचाल्नुहुन्छ । म मात्रै भएँ भने अब तपाईं हो भन्नुहुन्छ । अनि यताका कुरा उता गर्नुहुन्छ । तपाईंबाट मैले अनगिन्ती धोका मात्र पाएको छु । तपाईंलाई विश्वासघात त म गर्दिनँ, तर तपार्इंसँग म अहिले छैन’, उनले भने । उनले अब ओलीबाट सरकार र पार्टी नचल्ने बताए ।

चार नेताले बोलपछि बैठकमा खाजा समय भएको थियो । त्यसपछि प्रधानमन्त्री बैठकबाट उठे । र फर्किएर आएनन् । खाजा ब्रेकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक राजनीति र व्यक्तिगत स्वार्थका आधारमा

कूटनीति र परराष्ट्र सम्बन्धमा कसैले पनि खेलवाड गर्न नहुने बताए । प्रधानमन्त्रीलाई भारतीय राजदूतले आफूविरुद्ध षड्यन्त्र गरेको लागेको भए बोलाएर सोध्न सकिनेमा त्यसो नगरी अभिव्यक्ति दिने काम गलत भएको श्रेष्ठले बताए ।

त्यसपछि दाहाल–नेपाल खेमाका नेता वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्यले बोलेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीको आलोचना गरे । ओली पक्षका कुनै नेताले पनि मंगलबारको छलफलमा भाग लिएनन् । बुधबार पनि यही विषयमा बोल्न बाँकी नेताहरूले बोल्ने र त्यसपछि दुई अध्यक्षले आवश्यक छलफल गरेर स्थायी समितिमा ठोस प्रस्ताव ल्याउन सक्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेलासम्म बैठक चलेको थियो । स्रोतका अनुसार उक्त बैठकमा प्रधानमन्त्री, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए ।

नेकपा (एमाले) दर्ता ?

निर्वाचन आयोगमा दुई दिनअघि नेकपा (एमाले) नाममा दल दर्ताको आवेदन परेको पाइएको छ । त्यसबारे बैठकमा जिज्ञासा राख्दै दाहालले भने, ‘के रहेछ त्यो भनेर बुझ्ने प्रयत्न गर्दा प्रधानमन्त्रीकै कानुन विज्ञले माथिको आदेश हो दर्ता गराउनु भनेर निर्देशन गरेको थाहा हुन आएको छ । यो विषय के हो ? ’

प्रधानमन्त्री ओलीले प्रत्युत्तर दिए, ‘गोपाल किराँतीले पनि नेकपा माओवादी नामको पार्टी दर्ता गरेका छन् । चुनाव चिन्ह पनि ऊ बेलाको माओवादीकै छ । त्यस्तो पार्टी त मान्छेहरूले दर्ता गर्न सक्छन् । यसबारे कुरा किन गर्ने ? मेरो पार्टी यही (नेकपा) हो । म यही पार्टीको अध्यक्ष छु । अरूहरू कसले के गर्छ, कसो गर्छ, कुन पार्टी कसले के गर्छ, त्यसमा हामी किन कुदिरहने ? ’

बैठकमा चर्चा भएअनुसार सन्ध्या तिवारीका नाममा उक्त दल दर्ताको आवेदन परेको छ । तिवारी झापाकै भएको र त्यो प्रधानमन्त्री ओलीको निर्देशनमा भएको भन्दै सोधखोज चलेको थियो। अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!