पहुँच पुग्ने घरमा, नपुग्ने क्वारेन्टाइनमा

- July 1, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विराटनगर : विराटनगर महाकालिका-१० की ३६ वर्षीया महिला र ६ महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। वडाध्यक्ष माधवराज वाग्लेका अनुसार आमा र छोरा दुवैको पीसीआर रिपोर्ट पोजेटिभ आयो। मारवाडी समुदायकी ती महिला  श्रीमानसँग लकडाउनपूर्व सुत्केरी गराउन भारतको सिलिगुडी माइत गइन्। ६ महिने बच्चा लिएर उनीहरू असार १ गते विराटनगर फर्किएको वडाध्यक्ष वाग्लेले बताए।

व्यापारी एवं मारवाडी समुदायका भएकाले उनीहरूको पहुँच माथिसम्म थियो। त्यही पहुँचका भरमा उनीहरूलाई घरमा गएर बस्न कसैले पनि रोक्न सकेन। क्वारेन्टाइनमा बसेर परीक्षण गर्दै संक्रमण भए नभएको पुष्टि भइसकेपछि मात्रै घरमा जानुपर्ने भए पनि सिधै उनीहरूले आफ्नो घरमा गएर बस्ने अनुमति पाए। वडाध्यक्ष वाग्लेले कागजी प्रक्रिया पूरा गरेर उनीहरूलाई घरमै बस्न अनुमति दिइएको बताए। तर पछि परीक्षणका क्रममा महिला र शिशुमा कोरोना पोजेटिभ देखियो। अहिले उक्त परिवार तनावमा छ। उनीहरूसँग को को व्यक्ति सम्पर्कमा आए र उनीहरूको सम्पर्कमा रहेका कतिलाई कोरोना संक्रमण छ या छैन भन्ने यकिन हुन बाँकी छ। भारतबाट आए पनि पहुँचका भरमा क्वारेन्टाइन बस्न छाडेर घरमा गएर बस्नुले थप संकट निम्त्याएको छ।

मोरङमा संक्रमण पुष्टि भएका ९५ प्रतिशत भारतबाट आएकाहरू रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। विराटनगर महानगरपालिकाका एक कर्मचारीले बाहिरबाट आए पनि पहुँच पुग्नेले घरमा जान पाउने र नपुग्नेले क्वारेन्टाइनमा बस्न परिरहेको बताए। ‘भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा लगेर सुरक्षित साथ राख्दै परीक्षण गरेर कोरोना संक्रमण भएनभएको पुष्टि गर्नुपर्नेमा त्यसो गरिएन’, उनले भने, ‘घरमा गएर बस्न दिएको केहीदिनमै कोरोना पोजेटिभ देखियो। अहिले उनीहरूको सम्पर्कमा रहेकाहरूको विवरण यकिन हुन नसक्दा अर्को समस्या थपिएको छ। क्वारेन्टाइनमा राखिएको भए संक्रमण फैलिँदैन थियो।’

महानगरका स्वास्थ्यकर्मीले विदेशबाट आएका भए पनि पहुँचका भरमा घरमा गएर बस्न दिने गरिएको भन्दै विरोध जनाइरहेका छन्। अहिलेको अवस्थामा होम क्वारेन्टाइनका नाममा भारत लगायत अन्य मुलुकबाट आएकालाई सिधै घरमा गएर बस्न दिने हो भने संक्रमण समुदायमा फैलिएर विकराल रुप लिन सक्ने चेतावनी उनीहरूले दिएका छन्। ‘एउटा क्वारेन्टाइनलाई व्यवस्थितसँग चलाउन नसक्ने हामीसँग होम क्वारेन्टाइनको कुनै पनि मापदण्ड पूरा हुन सक्दैन र सकेको पनि छैन’, एक स्वास्थ्यकर्मीले भने, ‘त्यही भएर अहिले बाहिरबाट आएकालाई परीक्षण नगरी होम क्वारेन्टाइनमा पठाएमा यदि पछि कोरोना रहेछ भने अरुलाई सरेर त्यसले विकराल समस्या निम्त्याउँछ।’ रिपोर्ट नेगेटिभ आएपछि मात्रै होम क्वारेन्टाइनमा बस्ने गरी पठाउनु पर्ने र त्यसअघि क्वारेन्टाइनमै सुरक्षित साथ राखेर परीक्षण गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।

नागरिक अगुवा रामबाबु दाहाल डढेलोजस्तै संक्रमण फैलिरहँदा सबै कुरा पहुँचका भरमा हुनु दुर्भाग्यपूर्ण भएको बताउँछन्। ‘समुदाय नै असुरक्षित बनाउनु सबैलाई खतरा र समस्या हो’, उनले भने। उनले सरकारले एउटा मास्क पनि वितरण नगरेर जनतालाई नोकरको जस्तो व्यवहार गरेको आरोप लगाए। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले होम क्वारेन्टाइनमा बस्न चाहनेलाई पहुँचका भरमा भन्दा पनि आवश्यक कागजी प्रक्रिया पूरा गरेर पठाउने गरिएको बताए। महानगरपालिकाले संस्थागत क्वारेन्टाइनमा बस्न इच्छुक नहुनेका लागि होटलको समेत व्यवस्था गरेको उनको भनाइ छ। कोरोनाका शंकास्पदलाई महानगरमा पाँच क्वारेन्टाइन बनाइएको छ। बैजनाथपुरस्थित स्वास्थ्य उपचार केन्द्र, बजार क्षेत्रमा रहेका काली मन्दिर, अथिति सदन, मारवाडी सेवा सदन, पाञ्चाली मन्दिरमा क्वारेन्टाइन बनाइएको छ। पराजुलीका अनुसार महानगरले सञ्चालन गरेको क्वारेन्टाइनमा ५० पुरुष र २२ महिला गरेर ७२ जना रहेका छन्। बाहिरबाट आए पनि पहुँचका भरमा क्वारेन्टाइनमा बस्न नपरेकाहरूको भने यकिन तथ्यांक छैन। हालसम्म महानगरले तीन सय ६४ जनालाई सेवा उपलब्ध गराइसकेको छ।

मोरङका १७ वटा स्थानीय तहले हालसम्म ८५ क्वारेन्टाइन सञ्चालनमा ल्याएका छन्। संघीय र प्रदेश सरकारले अपेक्षाकृत सहयोग नगर्दा क्वारेन्टाइन व्यवस्थित गर्न नसकिएको स्थानीय तहको गुनासो छ। महामारी र लकडाउनमा समेत सरकारबाट राहत उपलब्ध नहुँदा स्थानीय तहले आफ्नै बलमा जनता माझ खटिएको बताउँदै आएका छन्। समयमा पीसीआर परीक्षण रिपोर्ट नआउँदा ठूलो तनाव भइरहेको उनीहरूको गुनासो। रतुवामाई नगरपालिकाका मेयर रविन राईकाअनुसार पीसीआर रिपोर्ट समयमा नआउँदा क्वारेन्टाइनमा रहेकालाई व्यवस्थापन गर्न गाह्रो भएको छ। उनी भन्छन्, ‘स्थानीय तहले आफ्नो बलबुताले भ्याएसम्म व्यवस्था गरिएको छ। तर यसमा संघीय सरकार र प्रदेश सरकार दुवैबाट अपेक्षाकृत सहयोग हुन सकेन।’ दक्षिणतर्फ भारतको सीमा छुने सुनवर्षी नगरपालिकामा हाल ६ वटा क्वारेन्टाइन सञ्चालनमा छ। उनले भने, ‘क्वारेन्टाइनमा राखिएका सर्वसाधारणले तन्ना, तकियाजस्ता सामान बोकेर घर लैजाने गरेका छन्।’

जिल्लाका अधिकांश स्थानीय तहका क्वारेन्टाइन विद्यालय, मदरसा तथा स्वास्थ्य चौकीमा बनाइएका छन्। जहाँ शौचालयदेखि खानेपानीको समेत व्यवस्था राम्रो छैन। जसका कारण पनि पहुँचवालाहरू क्वारेन्टाइन नबसी घर जाने गरेका छन्। क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा प्रदेश सरकारले अपेक्षा अनुसारको सहयोग गर्न नसकेको स्थानीय सरकारको बुझाइ छ। प्रदेश १ को प्रदेश सभा बैठकमा जनता समाजवादी पार्टीका सांसद जयराम यादवले कोरोनामा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका थिए। प्रदेश सरकारले स्थानीय तहमा महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १० लाख र गाउँपालिकालाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा कोभिड-१९ अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेत बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्नैपर्ने बताउँछन्। अन्नपूर्णबाट

किशोर बुढाथोक


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!