नेपालमा यसरी भित्रियाे सलहको बथान

- June 28, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : सरकारको दाबीलाई झुटो सावित गर्दै सलह फट्यांग्राको बथान शनिबार नेपाल छिरेको छ । भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएका नेपालको तराई क्षेत्रमा बिहान ७ देखि ८ बजेको बीचमा त्यसको बथानै देखा परेको हो ।

कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सलहले कृषि क्षेत्र ध्वस्त पारे समस्या झनै विकराल बन्ने चिन्ता विज्ञले व्यक्त गरेका छन् । यी किराले लगाउन सुरु भएको बर्खे धान बाली, धानको बीउ, फलफूलका बोटबिरुवा र तरकारीका बाली खाएर नष्ट गर्न थालेका छन् । सुरुमा रूपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमनबारा र सर्लाहीको नवलपुरमा सलह देखिएको हो । त्यसपछि साँझसम्म सिन्धुली र नवलपरासीसम्म पुगिसकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार यसको बथान बिस्तारै अन्य जिल्लामा पनि प्रवेश गर्दै छ ।

‘हिजोअस्ति दक्षिणबाट उत्तरतर्फ बगेको हावाको वेगले उक्त फट्यांग्रालाई भारतको बिहार र उत्तर प्रदेश राज्यको विभिन्न सीमा हुँदै नेपालमा ल्याइपुर्‍याएको हो’, केन्द्रका प्रमुख सहदेव हुमागाईंले भने ।

मन्त्रालयले जेठ २४ गते नेपालमा यो फट्यांग्राको प्रवेश तत्कालका लागि टरेको बताएको थियो । मन्त्रालयको दाबी झन्डै तीन सातामा शनिबार गलत साबित भएको हो । सलहका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल प्रवेश नहुने भन्दै केन्द्रले मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।

सलहको प्रवेश रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले केन्द्रका प्रमुख हुमागाईंको संयोजकत्वमा कार्यदल बनाएको थियो । संयोजक हुमागाईंले नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेको यो फट्यांग्राको प्रवेश तत्कालका लागि रोकिएको भन्दै प्रतिवेदन दिएका थिए । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का सलहविज्ञ किथ किस्म्यानको सहकार्यमा अध्ययन गरिएको थियो ।

उक्त टोलीले फट्यांग्राको बथान ससानो टुक्रामा परिणत भई भारतकै विभिन्न सहर हुँदै राजस्थान तथा मध्य प्रदेशतर्फ मोडिएको, नेपाल र बंगलादेशमा यसलाई आवश्यक पर्ने हावा तथा मनसुनी वर्षा प्रतिकूल बनेको प्रतिवेदन उपलब्ध गराएको थियो । केन्द्रले शनिबार प्रवेश गरेको फट्यांग्रा सलह हो कि होइन भनेर वैज्ञानिक रूपमा पुष्टि गर्न कृषिज्ञान केन्द्रका विज्ञ कर्मचारी खटाएको थियो । विज्ञ कर्मचारीलाई उच्च गुणस्तरको क्यामेराबाट फट्यांग्राको टाउको, पेट, एन्टिना, आकारप्रकार र रङको बारेमा तस्बिर लिन भनिएको थियो । उनीहरूले कार्यक्षेत्रबाट पठाएको तस्बिरका आधारमा मन्त्रालयले सलह फट्यांग्रा नै रहेको पुष्टि गरेको हो ।

त्यसपछि दिउँसो मन्त्रालयले जुम एपमार्फत आपत्कालीन भर्चुअल बैठक आयोजना गरेको थियो । एफएओको क्षेत्रीय कार्यालय थाइल्यान्डको संयोजनमा उक्त बैठक चलेको थियो । त्यसमा दुई दर्जनभन्दा बढी विज्ञ कर्मचारी, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कीटपतंग वैज्ञानिक, पाकिस्तानका दुई जना सलह फट्यांग्रा वैज्ञानिक सहभागी थिए ।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भर्चुअल बैठकमार्फत विज्ञले दुई घण्टा गहन छलफल गरेको बताए । नेपाल प्रवेश गरेको फट्यांग्राको विस्तृत जानकारी विज्ञहरूबीच आदानप्रदानका साथै यसको रोकथामबारे छलफल भएको उनले सुनाए । बैठकलगत्तै यो किरा भित्रिएको क्षेत्र र नजिकका जिल्लाका कृषि प्राविधिक र स्थानीय तहलाई सचेत रहन सरकारले आग्रह गरेको छ । उक्त फट्यांग्रा कुन बाटोबाट कुन–कुन स्थानमा प्रवेश गर्दै छ, त्यसको विषयमा विस्तृत अध्ययन गर्न पनि निर्देशन दिइएको छ । एफएओका अनुसार सामान्यतः एक वर्ग किलोमिटरदेखि ५ सय वर्ग किलोमिटरको क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झन्डै चारदेखि आठ करोड फट्यांग्रा हुन्छन् । यी फट्यांग्रा एक दिनमा करिब एक सय ३० किलोमिटरदेखि अधिकतम ५ सय किलोमिटरसम्म बथानै उडेर यात्रा गर्छन् । अनुकूल गन्तव्यमा पुगेर जमिनमा ओर्लिन्छन् । यसको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञको भनाइ छ । एफएओले सलहको प्रकोपलाई प्लेगको संज्ञा दिएको छ ।

नार्कका कीट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक डा. सुनील अर्यालले यो फट्यांग्राले सम्पूर्ण कृषि तथा फलफूल बालीको बोटबिरुवा, बाली, फूल, फल, डाँठ, डाँठको बोक्रासम्म खाइदिने बताए । यो पुगेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने उनको भनाइ छ । ‘यो जहाँ बस्छ, त्यहाँको हरियाली र बाली सम्पूर्ण रूपमा नष्ट गरी अनिकाल र भोकमरीको अवस्था सिर्जना गरिदिन्छ’, उनले भने । मन्त्रालयका उपसचिव गंगादत्त आचार्यले आइतबार कृषिमन्त्री घनश्याम भुसालको संयोजकत्वमा दोस्रो आपत्कालीन बैठक बस्ने बताए । ‘आइतबार विज्ञ, प्राविधिक र विपद् व्यवस्थापन प्राधिकरणसँग गहन छलफल गर्दै छौं’, उपसचिव आचार्यले भने, ‘त्यस बैठकमा हुने छलफलका आधारमा यो फट्यांग्रालाई नियन्त्रण गर्ने उपाय, संघीय, प्रादेशिक र स्थानीय तहसम्म विषादी उपलब्धताको अवस्था विश्लेषण र नियन्त्रण टोली परिचालन गर्ने विषयमा टुंगो लाग्नेछ ।’

जब हावाको दिशा र गति बदलियो

मन्त्रालयले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गरी अचानक हावाको दिशा र गतिमा परिवर्तनका कारण ससानो झुन्डमा यो फट्यांग्रा नेपाल प्रवेश गरेको जनाएको छ । यो फट्यांग्राको प्रकोपलाई नियन्त्रण गर्न तीनै तहका सरकारलाई सचेत रहन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । वरिष्ठ वैज्ञानिक अर्यालका अनुसार सिस्टोसर्का ग्रिगारिया वैज्ञानिक नामले चिनिने यो फट्यांग्रा पहिलो पटक भने नेपालमा प्रवेश गरेको होइन । उनका अनुसार सन् १९६०, १९६२ र १९०६ मा काठमाडौं उपत्यकाका भक्तपुर, गोदावरीसहित धादिङ, काभ्रे, नुवाकोटलगायत स्थानमा यसको प्रवेश भएको थियो । तत्कालीन समयमा यो फट्यांग्राले यस्ता स्थानको सबै प्रकारको बाली नष्ट गरेको उनले उल्लेख गरे ।

के छ नियन्त्रणको उपाय ?

विज्ञले यो किरा नियन्त्रण गर्न केही विषादी र प्रयोग गर्न परिमाण पनि सुझाएका छन् । मालाथिन नामको विषादी ५० प्रतिशत इसी, ल्याम्डा साइहेलोथ्रिन ५ प्रतिशत इसी, क्लोरपाइरिफोस २० प्रतिशत इसी, डेल्टामेथ्रिन २.८ प्रतिशत इसी र डेल्टामेथ्रिन ११ प्रतिशत इसीमध्ये कुनै एक विषादी प्रयोग गर्न सकिने जनाइएको छ । चीनमा कोरोना भाइरसको प्रकोप देखिनुअघि अफ्रिकी महादेशका केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथोपियालगायत मुलुकमा यो फट्यांग्राले उत्पात मचाएको थियो ।

यसरी छिर्‍यो नेपालमा

सन् २०१८ मा आएको लुभान चक्रवातसँगै दक्षिण अरबको प्रायद्वीपमा यो फट्यांग्राको ठूलो बथान देखा परेको थियो । उक्त क्षेत्रमा मरुभूमि भएकाले मानव बस्ती शून्य रहेका कारण कसैले यसबारे चासो देखाउन सकेनन् । सन् २०१९ जनवरीमा यो बथान अफ्रिका, यमन, साउदी अरब हुँदै इरानमा प्रवेश गर्‍यो । वैज्ञानिक अर्यालका अनुसार अनुकूल मौसमको फाइदा उठाउँदै सन् २०२० को सुरुमै त्यसको एक बथान अफ्रिकाबाट खाडी मुलुक हुँदै पाकिस्तान छिर्‍यो । दोस्रो बथान हिन्द महासागर हुँदै भारतमा आयो । भारतका दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, उडिसा, बिहार, राजस्थानमा उत्पात मचाएर पछिल्लो समय नेपालमा प्रवेश गरेको हो । ‘सुक्खा खडेरी मौसम, पानी नपरेको र हावाको वेगले साथ दिएको अवस्थामा मात्रै यो फट्यांग्रा सर्न सक्छ’, अर्यालले भने, ‘भारत र पाकिस्तानमा प्रवेश गरेको समय ती दुवै मुलुकको सीमा क्षेत्रमा ग्रीष्म ऋतु थियो । त्यो ऋतु सलह फट्यांग्राको प्रजननका लागि निकै अनुकूल समय मानिन्छ ।’ त्यही मौसमको फाइदा उठाएर भएको प्रजननका कारण मार्चदेखि भारतमा ठूलो संख्यामा यो फट्यांग्राको बथान उत्पादन भएको उनले बताए । यसको प्रकोपलाई नियन्त्रण गर्न भारत र पाकिस्तान सरकारले संयुक्त रूपमा कार्यदल गठन गरी नियन्त्रण टोली परिचालन गरेको छ  । अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!