बढ्यो भिडभाड, बढ्यो जाेखिम : सुरक्षा विधि पालना नगरे भयावह हुने

- June 27, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधिसमेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम हुन नसक्दा कोरोना भाइरसको जोखिम बढ्ने सम्भावना देखिएको छ । बिस्तारै देशैभर बजार क्षेत्र पुरानै अवस्थामा फर्किन थालेको छ । ठेलमठेल गरेर हिँड्न थाठठलिएको छ । काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलन सक्ने भयसमेत बढेर गएको छ ।

जोखिम कसरी कम गर्ने ?
– दुई मिटर दूरी कायम गर्ने
– कतै निस्किँदा अनिवार्य रूपमा मास्क लगाउने
– साबुनपानीले हात धुने
– हात नाकमुखमा नलैजाने
– कार्यस्थलमा जमघट नगर्ने

सरकारी कार्यालय, उद्योगधन्दा, ठूला तथा साना पसल, निर्माण क्षेत्र, बैंक तथा वित्तीय संस्थालगायत खोलिएको छ । हरेक दिनजसो दूरी नै कायम नभई आन्दोलनसमेत हुने गरेको छ । लकडाउन खुकुलो हुँदै गएपछि भौतिक दूरी कायमको कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले पनि कडाइ गर्न सकेको छैन भने नागरिकस्तरबाट लापारवाही गर्न थालिएको छ ।

चिकित्सकले भौतिक दूरी कायम गर्दै आफ्ना गतिविधि अगाडि बढाउन आग्रह गरे पनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । व्यवस्थित तरिकाले मास्क लगाउँदा संक्रमणको दर घटेको विभिन्न अध्ययनले देखाएको छ । तर, अहिले पनि सहर बजारमा कतिपय व्यक्ति मास्कविनै हिँडडुल गरिरहेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भौतिक दूरी कायम नहुँदा जोखिमको सम्भावना बढी रहने बताए । उनले भने, ‘सार्वजनिक स्थलमा जाँदा व्यवस्थित तरिकाले मास्क नलगाउँदा जोखिम हुने सम्भावना रहन्छ । बाहिर हिँड्दा हात नाक र मुखमा लैजानुहुँदैन ।’ कार्यस्थलमा काम गर्दा भौतिक दूरी कायम गरेर बस्ने र कम कर्मचारीमार्फत काम गर्दा जोखिम कम हुने डा. पुनले बताए । विज्ञहरू कार्यस्थलमा जमघट नगर्ने, भौतिक दूरी कायम गरेर कुराकानी गर्नुपर्ने बताउँछन् ।

एकै दिन थपिए ५९३ संक्रमित
नेपालमा शुक्रबार थप पाँच सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोसँगै संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या दुई हजार छ सय ९८ पुगेको छ ।

कुल संक्रमितमध्ये २७ जनाको मृत्यु भएको छ । शुक्रबार दाङकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । हालसम्म आरटी–पिसिआर प्रविधिबाट दुई लाख ६ हजार दुई सय ७१ जनाको कोरोना परीक्षण गरिएको छ । ७१ हजार १२ जना क्वारेन्टिनमा बसेका छन् । यस्तै, ९ हजार २० जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । – प्रशान्त वली, राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!