गोलचक्करमा कसरी फस्याे त मन्त्रत्रालय ?

- June 22, 2020 मा प्रकाशित

काठमाडौं : कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विभिन्न क्षेत्रका विधागत विज्ञसँग परामर्श गरिरहन्छन्। तर, जस न्युन छ, अपजस धेरै छ। निश्चित समयमा कोरोना संक्रमण व्यवस्थापन गर्नेमा उनी ढुक्क देखिन्छन्। नीति र स्वास्थ्य बजेट विनियोजनप्रति सन्तुष्ट छन्। ढकालले भने, ‘नीति र स्वास्थ्य बजेटमा युगान्तकारी काम गरेका छौं। कोरोनाको जालोले गर्दा ती कुरा ओझेलमा परेका छन्। कोरोनाको व्यवस्थापनपछि स्वास्थ्य क्षेत्रमा परिवर्तन भएको अनुभूति हुनेछ।’

गोलचक्करमा मन्त्रालय

स्वास्थ्य क्षेत्रका विभिन्न निकाय र विज्ञहरूको फरक फरक राय सुझावलाई समायोजन गरी लागू गर्ने क्रममा स्वास्थ्य मन्त्रालय गोल गर्न नसकी गोलचक्करमा फसेको छ। शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य मन्त्री ढकालले भने, ‘मन्त्रालय समि श्रणबाट बनेको छ। डाक्टर, प्रशासकका पनि आआफ्ना विधा छन्। विधाअन्तर्गतका दृष्टिकोणलाई पनि समायोजन गर्नुपर्ने हुन्छ।’ जनस्वास्थ्यविद्, चिकित्सक, निजीक्षेत्र, प्रशासकका परामर्शमै मन्त्रालय अलमलिएको छ। सबै क्षेत्रको आवाज सुनेर अघि बढ्ने मोडालिटी अपनाइए पनि कार्यान्वयन भने फितलो देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन्।

अपजस बढाउने फेरबदल

डेढ वर्षको अवधिमा मन्त्रालयमा आधा दर्जनभन्दा बढी सचिव फेरबदल भइसकेका छन्। २०७५ मंसिरदेखि हालसम्म डा. पुष्पा चौधरी, डा. केदारबहादुर अधिकारी, चन्द्रकुमार घिमिरे, रामप्रसाद थपलिया, खगराज बराल र यादवप्रसाद कोइराला फेरिए। १५ जेठदेखि लक्ष्मण अर्याल स्वास्थ्यसचिव छन्। मन्त्री ढकालले सम्हालेको ६ महिनाको अवधिमा नै तीनजना स्वास्थ्यसचिव परिवर्तन भएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की स्वास्थ्य सेवाअन्तर्गतकै चिकित्सकलाई सचिवमा नियुक्त गर्दा कोरोनाविरुद्ध लडाईमा सहजता हुने बताउँछन्। ‘प्राविधिक विषय पनि भएकाले स्वास्थ्य सेवाकै भए प्रभावकारी हुन्छ। प्रशासन सेवाका सचिवलाई विषयवस्तु बुझ्न समय लाग्छ’, उनले भने, ‘तैपनि केही महिनामै फेरबदल गर्ने कार्यले अस्थिरता र अन्योलता बढाएको छ।’

‘सार्वजनिक पदमा बसेर नराम्रो काम गर्नु हुँदैन। चाहे त्यो सचिवालयमा होस् वा विज्ञबाट होस्। बिझाउने खालको व्यवहारमा परिवर्तन हुनुपर्छ’,- मन्त्री भानुभक्त ढकाल 

१२औं तहका डा. दीपेन्द्ररमण सिंहलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरियो। ओम्नी समूहको विवादास्पद स्वास्थ्य सामग्री खरिद प्रकरण परेका विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइयो। ‘कर्मचारी संयन्त्र स्थायी हो। यसमा द्धिविधा छैन। झट्ट हेर्दा मन्त्रीले आफ्नो आधारमा कर्मचारी परिवर्तन गर्‍यो कि ? भन्ने लागेको होला। त्यसो होइन’, डा. कार्कीले भने। मन्त्रालयमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल मात्र मन्त्रालयमा छन्। १२औं तहका तीनजना प्रमुख विशेषज्ञलाई मन्त्रालयमा राख्दा ओभर ल्याप हुने धारणा मन्त्री ढकालको छ। उनी मन्त्री भएयता तीनजना सचिव फेरिइसकेका छन्। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. प्याकुरेल भन्छन्, ‘स्वास्थ्य संयन्त्रले कार्यकुशलता देखाउन सकेको छैन। कोच (मन्त्री) को काम क्याप्टेन (स्वास्थ्यसचिव) र खेलाडी (विशिष्ठ श्रेणीका कर्मचारी) फेरबदल गर्ने काममै सीमित हुन पुग्नुभयो।’

चैत ९ मा मन्त्रिपरिषद् बैठकबाट मन्त्रालयको विज्ञ सल्लाहकारमा नियुक्त डा. खेमबहादुर कार्की पछिल्लो समय विवादमा परेका छन्। सचिवालयमा रहेका व्यक्तिको कामकारबाहीबारे पनि मन्त्री ढकालसमक्ष गुनासो गर्नेहरू बढेका छन्। ‘सार्वजनिक पदमा बसेर नराम्रो काम गर्नु हुँदैन। चाहे त्यो सचिवालयमा होस् वा विज्ञबाट होस्। बिझाउने खालको व्यवहारमा परिवर्तन हुनुपर्छ’, मन्त्री ढकालले भने।

खेलाडी फेरिए, खेल उस्तै

स्वास्थ्यसचिवको फेरबदल हुने क्रमले गर्दा स्वास्थ्यसचिवको संयोजकत्वमा गठित कोरोना निर्देशक समिति पनि प्रधानमन्त्री कार्यालयका सचिवमा नेतृत्वमा पुग्यो। स्वास्थ्यसचिव नेतृत्वको निर्देशक समिति र स्वास्थ्य प्राविधिक समिति भंग गर्दै कोरोना इन्सिडेन्ट कमान्ड सिष्टम (आईसीएस) नामको अर्को संयन्त्र बनाइयो। अहिले इन्डिेन्ट कमाण्ड सिस्टमका संयोजक डा. गुणराज लोहनी छन्। ‘नीतिगत स्थिरता पनि भएन। कर्मचारी पनि फेरबदल पनि भइरहने कार्यले निराशा बढायो’, मन्त्रालयका उच्च अधिकारीले बताए। चीनबाट फर्केका नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकालकै अध्यक्षतामा उच्चस्तरीय समिति बनाइएको थियो।

परीक्षण दायरा : धर्मशास्त्र होइन

कोरोनाबाट २२ को ज्यान गइसकेको छ। ८ हजार ६ भन्दा बढी संक्रमित छन्। मन्त्रालयले स्वास्थ्य आपतकालको घोषणा गरेर कोरोना नियन्त्रण एवं उपचार व्यवस्थापनलाई अघि बढाउने गृहकार्य गरी प्रस्ताव तयार गरेको छ। ढकालका अनुसार मन्त्रिपरिषद्मा पेश गरिएको छैन। मन्त्रालयका विज्ञले नै संक्रमितको संख्या ४० हजार पुग्ने प्रक्षेपण गरेका छन्। स्वास्थ्य आपतकाल घोषणाबारे मन्त्रालयमा छलफल गरे पनि मन्त्रिपरिषद्मा पेश हुन सकेको छैन। संक्रमित बढ्दै जाँदा अस्पतालका शैया भरिने संकेत देखिएको छ। त्यसका लागि मन्त्रालयले जटिल खालका संक्रमितलाई मात्र भर्ना गर्ने तयारी गरेको छ।

भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन बनाएजस्तै सुविधा सम्पन्न आइसोलेसन सेन्टरको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले पीसीआर परीक्षणको लक्ष्य कुल जनसंख्याको दुई प्रतिशत अर्थात् ६ लाखको पीसीआर परीक्षण गर्ने राखेको छ। मन्त्री ढकालले भने, ‘संक्रमणको बढ्यो भने परीक्षण दायरा पनि बढाउँछौं। परीक्षण धर्मशास्त्र होइन। यतिमा मात्रै सीमित हुनुपर्छ भन्ने होइन।’ स्वास्थ्य सामग्री खरिद प्रकरण लगायतका विषयमा विवादमा आएको सन्दर्भमा मन्त्री ढकालले पदको दुरूपयोग नगर्नेे प्रतिवद्धता व्यक्त गरे। ‘पदमा बसेका बेला यही भन्छन् भन्ने लाग्न सक्छ। निष्ठा र इमान्दारिताका लागि राजनीति गर्ने हो’, मन्त्री ढकालले भने।

यसबीच, कास्कीको पोखरास्थित गण्डकी बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था पूर्वगण्डकी बोर्डिङ स्टुडेन्टस् एसोसियसन (एग्बोसा) काठमाडौंले राजधानीस्थित त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

एग्बोसाले पाँच हजार थान सर्जिकल माक्स, ६ सय एन ९५ माक्स, दुई सय फेस सिल्ड, ६० लिटर स्यानिटाइजर र चारवटा स्यानिटाइजर डिस्पेन्सर प्रदान गरेको हो। एग्बोसाकी अध्यक्ष डा. सुजिता हिराचनले अस्पतालका कार्यकारीनिर्देशक डा. रोहित पोखरेललाई आइतबार एक कार्यक्रमबीच उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्।

‘९८ प्रतिशत संक्रमित लक्षणविहीन’

डा. बासुदेव पाण्डे

निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा भएका संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका छन्। त्यसमध्ये ९२ प्रतिशत पुरुष छन्। अधिकांश १५ देखि ५४ वर्ष समूहका छन्। श्रमको लागि विदेश गएकाहरू फर्कंदा संक्रमण भएको देखिन्छ। संक्रमितमध्ये ९८ प्रतिशतमा कुनै लक्षण छैन। भाइरस समुदायमा नगएको पुष्टि हुन्छ। मृत्यु भएका पनि कोरोना भाइरसले मात्र नभएर अन्य दीर्घ रोगका कारणले भन्ने देखिन्छ। जसमा धेरैजसो मिर्गौलाको रोग, दम, हाइपरटेन्सका बिरामी हुन्। अहिले करिब ६ देखि ८ दिनमा संक्रमणका केस वृद्धि भई दोब्बर भएको देखिन्छ। अहिलेसम्म १ लाख ७० हजार बढीको परीक्षण भएको छ। कन्ट्रयाक्ट टे«सिङका लागि महाशाखामा २० वटा समूह छ। यसका साथै तीन÷तीनवटा टीम हरेक प्रदेशमा रहेर कन्ट्राक्ट टे«सिङको कार्य भइरहेको छ। अन्नपूर्णबाट

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV