कोरोना भाइरससबाट सक्रमितको नाममा यसरी हुन्छ अनियमिकता (सूची सहित)

- May 30, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशमा हुने दैविक विपत्तीदेखि मानव निर्मित विपत्तीका नाममा सरकारी निकाय र दलिय भागबण्डामा सरकारी रकम दुरुपयोग गर्दै आएको घटानाहरु एकपछि अर्को आउनेक्रममा बृद्धि हुदै गएको छ । भुकम्पबाट क्षतिबाट पीडित जनताको नाममा करोडौ रुपैयाँ अनियमिकता गरेको घटना सेलाउन नपाउदै पुनः देशमा फैलिरहेको कोरोना भाईरसको सक्रमितलाई उपचार गरेको बहनामा करोडौ रुपैयाँ भुक्तानीकालागि माग गरेको सूची प्राप्त भएको छ । स्वास्थ्यको नाममा हुने लुटमा सरकारी निकायकै उच्च पदस्थ कर्मचारीनै संलग्न हुने गरेको समेत पुष्टी भएको छ । प्राप्त विवरण अनुसार बागलुङको धौलागिरी अस्पतालले कोरोना संक्रमितको उपचारमा संलग्नलाई भत्ता माग गरी पठाएको १६९ जनाको नाम सूची फेला परेको छ। संक्रमित बिरामीमध्यकी एक अंशु सापकोटाले अस्पताल भर्ना भएको १२ औं दिनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भने अनुसार त्यो समयसम्म उनलाई डाक्टरले समेत भेटेका थिएनन्। अस्पतालले प्रोत्साहन भत्ता माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाएको सूचीमा भने डाक्टर, नर्स, अहेबसहितका स्वास्थ्यकर्मीको मात्रै नाम समावेश छैन्। अस्पतालका सबैजसो चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नाम समावेश छ। ती सबैका लागि १ करोड ५३ लाख प्रोत्साहन भत्ताका लागि अस्पतालले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई ११ जेठमा पत्राचार गरेको हो।

रेडियोलोजिस्ट, एनेस्थेसिस्ट, स्त्रीरोग र हाडजोर्नीका डाक्टर, फर्मासिस्ट, फिजियोथेरापिस्ट, अधिकृत, खरिदार, चौकीदार, माली, कार्यालय सहायकलगायतको नाम समावेश गरी प्रोत्साहन भत्ताका लागि अस्पतालले पत्राचार गरेको छ। अस्पतालमा भए जति सबै जसो गरी १६९ जनाको नाममा अस्पतालले प्रोत्साहन भत्ताका लागि पत्राचार गरेको हो। अस्पतालका सूचना अधिकारी तीर्थराज गौतम सरकारले बनाएको निर्देशिकामै फलाना फलानालाई दिने भन्ने यकीन नभएका कारण सबैको नाम पठाएको  बताए। उनले भने, ‘अस्पतालमा आउनुभएका जति सबै रिस्कमा हुनुहुन्थ्यो, एक जनाको पठाउने र त्यसैसँग काम गर्ने अर्कोको नाम नपठाउने कुरा भएन।’ उनले माथिल्ला निकायले छानबिन गरी भत्ता दिनसक्ने पनि बताए। ‘पाउनैपर्छ भनेका छैनौं, भत्ता नभए पनि काम गर्न सबै जना तयार छौं, सरकारले नै भत्ता दिने भन्यो, असारसम्मको अनुमानित विवरण पठाउनोस् भनेर माथिल्ला निकायले भनेकैले पठाएका हौं,’ गौतमले भने।

२ जना संक्रमितको उपचार गर्दा १ करोड ५३ लाख भत्ता !

नेपाल सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न हुने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई प्रोत्साहन भत्ता दिने निर्देशिका बनाएको छ। त्यस्तै कार्यविधि गण्डकी प्रदेश सरकारले पनि बनाएको छ। त्यसै निर्देशिका र कार्यविधिलाई आधार बनाएर त्यस्तो प्रोत्साहन भत्ताको विवरण पठाएको अस्पतालका अधिकारी बताउँछन्। अस्पताले पठाएको प्रोत्साहन भत्ता माग गरिएको विवरण चैतदेखि असारसम्मका लागि हो। संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको सुरु तलब स्केलको शतप्रतिशत भत्ता दिने नेपाल सरकारले भनेको छ। उपचारमा अप्रत्यक्ष संलग्न र इमेजिङ सेवा प्रदायक जनशक्तिलाई तलबको ७५ प्रतिशत र बिरामीको ओसारपसार तथा नमुना ओसारपसार गर्नेलाई ५० प्रतिशत दिने उल्लेख छ। प्रदेशले केन्द्रबाट दिने भत्तामा २५ प्रतिशत थप्ने भनेको भन्दै अन्नपूर्ण दैनिकले समाचार छापेको छ। पछिल्लो समय कोरोना भाइरस रोग कोभिड १९ संक्रमित पुष्टि भएका ६ जना अहिले धौलागिरि अस्पतालमा उपचाररत छन्। तनाम खोला र बडिगाड गाउँपालिकाका उनीहरु बुधबार अस्पताल भर्ना भएका हुन्।

त्यसअघि कोरोना भाइरस पुष्टि भएपछि १९ वर्षीया अंशु सापकोटा २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किएकी थिइन्। अर्की कोरोना संक्रमित मनकुमारी पौडेल २२ दिन अस्पताल बसी ६ वैशाखमा घर फर्किएकी थिइन्। धौलागिरी अस्पतालले डेढ करोड रुपैयाँको खर्च विवरण पेस गरिसकेपछि सामाजिक विकास मन्त्रालयले बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुखको टिमलाई उक्त विवरणमाथि छानबिन गर्न भनेको छ। ‘को साँच्चिकै फ्रन्टमा खटिएको थियो, को थिएन भनेर बुझेर उहाँहरुले प्रतिवेदन बुझाउनुहुन्छ अनि भेरिफाई भए पछि मात्रै भुक्तानी दिइनेछ’ मन्त्रालयका ती अधिकारीले भने, ‘माग्नुभयो भन्दैमा त्यत्तिकै दिइन्न।’ प्रदेशको कार्यविधिमा झुठा विवरण पेस गरे कारबाही हुनेसमेत उल्लेख गरेको उनले सुनाए। मन्त्रालयका एक उच्च अधिकारीले कार्यविधिअनुसारमात्रै प्रोत्साहन भत्ता दिइने  बताए। ‘अहिले कोरोनाका अरु बिरामीको पनि उपचार गरिरहनुपरेको छ, कुनै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि अहिले निरुत्साहित नगरौं’आफ्नो नाम उल्लेख नगर्न अनुरोधसहित उनले भने, ‘तर हामी कार्यविधिले भनेको भन्दाबाहेक दिँदैनौं। पाउनुपर्नेले पाउँछ, नपाउनुपर्ने कसैले पाउँदैन।’

धौलागिरि अस्पताललाई आइसोलेसनका लागि संघ सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ पनि दिएको थियो। त्यो रकम कोरोना रोकथाम कोषबाट प्रदेशले दिएको हो। असारसम्मका लागि ५ जना नर्स करारमा भर्ना गरी मासिक २८ हजार २ सय रुपैयाँ उपलब्ध गराउन प्रदेशले अर्को ४ लाख २३ हजार रुपैयाँ पनि धौलागिरि अस्पताललाई दिएको थियो। २ जनाकै उपचारमा संलग्नको भत्ता भनी त्यतिका धेरै रकम माग गरेको बारे बुधबार गण्डकी प्रदेशसभामा सांसद विनोद केसीले प्रश्न उठाएका थिए। उनले संसदमा भने, ‘दुईजनालाई निको बनाउन यत्रो खर्च आएको छ, भोलि हजारौं लाखौं संक्रमित हुँदा हामीले व्यवभार धान्न सक्छौं त ?

अनियमिकता सूची : @annapurnapost

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!