भारतबाट आए लगभग ६ लाख नेपाली, चोरबाटोको हिसाबै छैन : सिमितको मात्र परीक्षण

- May 25, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गत २५ फागुनदेखि १० जेठसम्म रोजगारी, उपचार तथा तीर्थाटनसहित विभिन्न कामका लागि भारत पुगेका ५ लाख ७८ हजार २ सय नेपाली स्वदेश फर्किएका छन् । विभिन्न कामको सिलसिलामा भारत पुगेका उनीहरू विश्वभर कोरोना संक्रमणको सन्त्रास बढेसँगै स्वदेश फर्किएका हुन् ।

गृह मन्त्रालयको तथ्यांकअनुसार २५ फागुनदेखि ११ चैतसम्म सबैभन्दा बढी नेपाली भारतबाट विभिन सीमा नाका हुँदै नेपाल प्रवेश गरेका छन् । ११ चैतमा सरकारद्वारा देशभर लकडाउन घोषणा गरिएको थियो ।

लकडाउनपछि ७५ हजार आए
आधाको पनि भएन परीक्षण

गृह मन्त्रालयका उपसचिव परमानन्द घिमिरेले गत २५ फागुनदेखि १० जेठसम्मको ७७ दिनको अवधिमा ५ लाख ७८ हजार २ सय नेपाली भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए । यसरी आउनेहरूमध्ये अधिकांश लकडाउनअघि अर्थात् २५ फागुनदेखि ११ चैतसम्म आएका छन् ।

‘गत २५ फागुनदेखि १० जेठसम्मको अवधिमा ५ लाख ७८ हजार २ सय नेपाली भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यसरी आउनेहरूमध्ये धेरैजसो ११ चैत अर्थात् लकडाउनअघि नै आएका छन्,’ घिमिरेले भने ।

सरकारले लकडाउन घोषणा गरेको ११ चैतदेखि हालसम्मको अवधिमा मात्रै करिब ७५ हजार नेपाली विभिन्न सीमा नाका हुँदै नेपाल आएका छन् । यसरी आएकाहरूलाई घर पुग्नुअघि अनिवार्य क्वारेन्टिन राखिँदै आइएको छ ।

कोरोना नियन्त्रण उच्चस्तरीय समितिले भारतीय सीमा क्षेत्रमा आएर अलपत्र परेकाहरूलाई आउन दिने निर्णय गर्दा मात्रै करिब ३० हजारको संख्यामा विभिन्न नाका हुँदै नेपालीहरू आएको गृह मन्त्रालय बताउँछ ।

यस्तै, पछिल्लो समयसमेत नाकामा आएर क्वारेन्टिनमा बसेकाहरू धमाधम घर फर्कंदै आइरहेका छन् । शनिबार मात्रै ७ हजार नेपाली भारतबाट नेपाल प्रवेश गरेका थिए । यसैगरी, भारतसँगको खुला सीमाका कारण चोरबाटो हुँदै ठूलो संख्यामा नेपालीरू लुकीछिपी आइरहेका छन् ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले भने भारतबाट लकडाउनकै बीचमा आएका नेपालीको संख्या ठूलो भए पनि कोरोना चेकजाँच भने आधाको पनि हुन नसकेको बताए ।

‘भारतबाट लकडाउनकै बीचमा ठूलो संख्यामा नेपालीहरू आए । अझै पनि आइरहेकै छन् । तर, यसरी आएकामध्ये आधाको पनि कोरोना परीक्षण भएको छैन,’ गृह मन्त्रालयका ती उच्च अधिकारीले भने ।

पछिल्लो समय सरकारले सीमा क्षेत्रमा आएर बसेकाहरुलाई क्वारेन्टिनमा राखेपछि आरडीटी परीक्षण गरेर स्वदेश आउन दिने गरी सहज बनाइदिएको छ । तर, यसरी आउनेहरूमध्ये पनि धेरैजसो बिनापरीक्षण नै आइरहेको गुनासो छ । भीडभाडका साथ प्रवेश गर्दा उनीहरूको आरडीटी परीक्षणमा समस्या हुँदै आएको बताइन्छ ।  महेश्वर गौतम, राजधानीबाट-


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!