आउँदा दिनहरू हाम्रा लागि थप चुनौतीपुर्ण -स्वास्थ्यमन्त्री ढकाल (भिडियोसहित)

- May 19, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विश्व स्वास्थ्य संगठनको ७३ औं विश्व स्वास्थ्य महासभामा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालज्यूले गर्नुभएको सम्बोधन जस्ताकाे तस्तै ।

७३ औं विश्व स्वास्थ्य महासभा
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युको सम्बोधन

सभा-अध्यक्ष महोदय तथा उपस्थित सम्पुर्ण विशिष्ठ महानुभावहरू, हार्दिक नमस्कार !
कोभिड को विश्वव्यापी महामारीका सन्दर्भमा हामी निकै कठिन घडीबाट गुज्रीरहेका छौं, जहाँ धेरै जोखिम र अनिश्चितताहरू छन् ।
म लगायत मेरो देशका तर्फबाट विश्वभरी महामारी विरूद्ध अंग्रपंक्तिमा रही निरन्तर खटीरहेका सम्पुर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मानका साथ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कोभिड लगायत यस्ता संक्रामक रोगहरूको कुनै सीमाना हुदैन र यसले कुनै रंग, समुह र वर्ग बीच विभेद गर्दैन । त्यसैले सबैको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो । नेपालले महामारीको सुरूवात देखि नै उच्च राजनैतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्र मार्फत यस विपदको प्रतिकार्य गर्दै आएको छ । नेपालमा संघीय प्रणाली संस्थागत हुदै गैरहेको अवस्थामा कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय छन्। कोभिडबाट हाल सम्म नेपालमा दुइ जनाको ज्यान गएको छ भने मानवीय क्षति नभएता पनि संक्रमितको संख्या केही दिन यता बढ्दो क्रममा रहेकोछ । आउदा दिनहरू हाम्रा लागि थप चुनौतीपुर्ण हुन सक्दछन् ।
स्वास्थ्य विकासको एक प्रमुख आधार हो । निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको छ । यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ । त्यसैले हाम्रा समग्र प्रयासहरूलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु । कोभिड नियन्त्रणमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूको भूमिका सराहनीय छ। विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टी भएको छ । सर्वव्यापी स्वास्थ्य सुरक्षाको लागि सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नु पर्ने आजको आवश्यकता भएको विषय पनि उठाउन चाहन्छु । कोरोना विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउदै महामारीका चुनौतीहरूलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदाय समक्ष म अनुरोध गर्न चाहन्छु। अन्तमा, विभिन्न प्रतिकुलताका वावजुद पनि उपलब्ध प्रविधिको प्रयोग गरी संचालित यस विश्व स्वास्थ्य महासभाको पूर्ण सफलताको कामना गर्दछु।
धन्यवाद ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!