कोरोना त्रास : एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले पाउदैन् बास

- May 13, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भोजपुर । विश्व कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित छ । मानिसहरुमा यो सयममा कोरोनाको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानविय व्यवहार समेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बास समेत पाउन छाडेका छन् ।

कोरोनाको आशंकामा विरामीलाई बोकेर अस्पतालमा पु-याएको थाहा पाएमा बास बस्न त के पानी समेत खान नपाउने अवस्था बनेको एम्वुलेन्स चालकहरुको भनाइ छ । कतिपय ठाउँमा कोरोनाको विरामी बोकेकै कारण अमानविय व्यवहार समेत खेप्नु परेकोे भोजपुरमा को २ च १२५६ नम्बरको एम्वुलेन्स चलाउदै आउनु भएका चालक मचिन्द्र राईले बताए । चालक राईले भने, ‘कोरोनाको विरामी बोकेकै कारण मैले धेरै ठाउँमा अपमान भोगेको छु, बास दिन त परको कुरा भयो बाटोमा हामीलाई स्थानीयले पानी सम्म पनि दिन मान्दैनन्, म भोजपुरबाट खाना खाएर बिरामी लिएर जान्छु र फेरी रातभर लगाएर खान र बस्न भोजपुर नै आइपुग्ने गरेको छु, यात्राका क्रममा हामीलाई असाधै समस्या छ ।’

राईले काम गर्न पनि निकै जोखिम रहेको बताए । सम्बन्धित निकायबाट आवश्यक सुरक्षाको सामग्री नपाएको समेत उहाँले गुनासो गरे । मास्क, पञ्चा लगाएतको सामग्री समेत आफैले खरिद गरेर काम चलाउने गरेको राईको भनाइ छ । ‘काम गर्न निकै जोखिम छ, आवश्यक सुरक्षा सामग्री छैन, विरामी लिएर जादा बाटोमा पानी सम्म खान नदिने अवस्था छ, खानाको समय नमिलेकै कारण विरामी भएर आफै पनि हस्पीटल बस्नु पर्यो, हामीलाई यो समयमा काम गर्न अत्यान्तै गाह्रो छ । चालक राईले भने ।

बस्नको लागि स्थानीयले बास नदिएपछि दिनरात नभनि काम गरेका एम्बुलेन्स चालकहरु जस्तो सुकै अवस्थामा पनि आफ्नै घरमा बस्न पुग्नु पर्ने अवस्था रहेको बताउँछन् । भोजपुरबाट धरान, विराटनगर विरामी लगेर आईपुग्न १२ देखि १४ घण्टासम्म लाग्ने गरेको चालक राईले बताए । त्यस्तै ग्रामीण भेगमा क्वारेन्टाइनमा बसेका विरामीको स्वाब संकलन तथा अन्य कामका लागि गएका चिकित्सकले समेत बास वस्न नपाउने गरेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले भने, ‘स्थानीयमा कोरोनाको त्रास बढेको कारण दैनिक काम गर्न स्वास्थ्यकर्मीलाई समेत समस्या छ, कतै स्वाब संकलनका लागि गएमा बास वस्नु पर्ने भएमा स्वास्थ्यकर्मीले सहजरुपमा बास वस्ने अवस्था छैन, भोजपुरको घोडेटारमा कोरोना संक्रमितको स्वाब संकलन गर्न गएको चिकित्सकको टोली बास नपाएर रातको १२ बजे सदरमुकाम आएको तितो अनुभव छ, यस्तै जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीले बास नपाएर रातरात फर्केको अवस्था छ ।’

स्थानीयमा चेतनाको अभावका कारण पनि काम गर्न समस्या हुने गरेको स्वास्थ्य कार्यालयको भनाइ छ । कोरोनाको विषयमा धेरैमा त्रास बढेको कारण उनीहरुले बस्न त के खान समेत दिने नगरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  -युवराज विष्ट, राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!