झण्डै २५ सय सुरक्षाकर्मी क्वारेन्टाइनमा, ३० सैनिक आइसोलेसनमा

- April 10, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ हजार ३ सय सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । संक्रमण सुरु भएयता विदेशबाट फर्केका, घर बिदामा गएर फर्किएका, विदेशबाट आएर संक्रमितको सम्पर्कमा पुगेका तथा रुघाखोकी जस्ता समस्या देखिएका सुरक्षाकर्मीलाई तीन वटै सुरक्षा अंगले आआफ्नै क्वारेन्टाइनमा राखेको हो ।

क्वारेन्टाइनमा राखिएकामध्ये नेपाली सेनाका धेरै छन् । सेनाले देशभर गरी २ हजार १ सय ६२ जनालाई क्वारेन्टाइनमा राखेको छ । यस्तै, ३० सैनिक आइसोलेसनमा छन् ।

यसैगरी, सशस्त्र प्रहरीतर्फ १ सय ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सशस्त्र प्रहरीतर्फ सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै, नेपाल प्रहरीतर्फ तीन जना क्वारेन्टाइनमा छन् । नेपाल प्रहरीतर्फ डोल्पामा एक हबल्दार तथा एक जवान गरी दुई जना तथा बाँकेमा एक प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार तालिमका लागि विदेश गएर फर्किएका, यूएन मिसनमा गएर फर्किएका, निजी बिदामा विदेश गएर फर्किएका तथा विभिन्न युनिटबाट घर बिदामा गएर फर्किएका गरी देशभर २ हजार १ सय ६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसअनुसार २ हजार १ सय ३८ जना सैनिक घर बिदामा गएर फर्किएपछि क्वारेन्टाइनमा बसेका छन् । यस्तै, तालिमपछि अमेरिकाबाट फर्किएका १ जना र भारतबाट फर्किएका ६ जना गरी सात जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

बिदामा विदेश गएर आउने ५ जना तथा संयुक्त राष्ट्रसंघको मिसनबाट फर्किएका १२ जना सैनिक क्वारेन्टाइनमा छन् ।

सेनाले क्वारेन्टाइनमा राखिएकाहरू धेरैजसोले १४ दिनको क्वारेन्टाइन बसाइ पूरा गरिसकेका छन् । उनीहरूलाई थप ७ दिन अर्थात् २१ दिनसम्म राख्ने व्यवस्था मिलाइएको छ । तर, पटक–पटक गरिएको स्वास्थ्य जाँचमा भने कसैलाई समस्या नदेखिएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए ।

यसैगरी, सशस्त्र प्रहरीतर्फ १ सय ३५ जनालाई क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कैलाली र कञ्चनपुरमा मात्रै ९६ जना सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै, सोबाहेक अन्य ६ वटा प्रदेशमा गरी ३९ जना क्वारेन्टाइनमा छन् ।

भारततर्फबाट गौरीफन्टा नाका तथा गड्डा चौकी नाका हुँदै आएका दुई जनामा संक्रमण पुष्टि भएपछि उनीहरूसँग सम्पर्कमा गएका र उनीहरू स्वदेश फर्किदा गौरीफन्टा नाकामा भएको प्रदर्शन नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीतर्फका सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो ।

‘कैलाली र कञ्चनपुरमा खटिएका ९६ जनालाई क्वारेन्टाइनमा राखिएको छ, भारततर्फबाट गौरीफन्टा तथा गड्डा चौकी नाका हुँदै आएका दुई जनामा संक्रमण पुिष्ट भएपछि उनीहरूसँग सम्पर्कमा पुगेका सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राखेका हौं,’ डीआईजी श्रेष्ठले भने ।

यसैगरी, घर बिदा गएर फर्किएका तथा सामान्य रुघाखोकीको समस्या भएका अन्य ३९ जनासमेत सशस्त्र प्रहरीको आफ्नै क्वारेन्टाइनमा छन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका, हेल्थ डेस्क तथा नियमित ड्युटीमा गरी २३ हजार ५ सय सशस्त्र प्रहरी खटिएका छन् । -महेश्वर गौतम, राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!