हल्लै हल्लाले विरामीको बिजोग : अस्पतालहरू प्रायः खाली

- April 6, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सामान्य ज्वरो रुघाखोकी लागेमा सिधै कोरोना अस्पताल लगेर आइसोलेसनमा १४ दिन राख्ने गरेको भ्रमले बिरामी अस्पताल नजाने गरेको पाइएको छ । जिल्लाका ठूला अस्पतालहरू प्रायः खाली छन् । कोरोनाको हल्ला नहुँदासम्म जिल्लाका अस्पतालमा बिरामीको अत्यधिक चाप हुने गरेको थियो । लकडाउन सुरु भएपछि नयाँ बिरामी अस्पताल जाने क्रम घटेको र अस्पतालमा भएका बिरामी पनि डिस्चार्ज मागेर घर घरमा रहेको अवस्था छ । केही अति संवेदनशील बिरामीबाहेक अहिले कुनै पनि अस्पतालमा नयाँ बिरामी देखिँदैनन् ।

जिल्लामा केन्द्रीय स्तरको भरतपुर अस्पताल, २ निजी मेडिकल कलेज, २० निजी अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामीण सहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायिक इकाइ रहेका छन् । स्रोतसाधनको अभावले यो समयमा जोखिम मोलेर उपचारको काम गर्न नसकिने बताउँदै केही निजी मेडिकलले अहिले काम गरिरहेका छैनन् ।

जिल्लाका अस्पतालमा एकैपटक एक्कासि बिरामी कम हुनुलाई चिकित्सकले थप जोखिमको अवस्था मानेका छन् । कोरोना संक्रमणको डरले बिरामी भएकाहरू सकेसम्म अस्पताल जान चाहँदैनन् । तर, डरकै कारणले रोग पालेर बसिरहँदा दीर्घकालीन समस्या पर्न सक्ने भन्दै समयमा सजग हुन चिकित्सकको सुझाव छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले रोग लुकाएर घरमै बस्नु थप जोखिम हुने बताउँदै कोरोनाको डर हृदयघातभन्दा चर्को जस्तो देखिएको बताए । घरमा नै बसेर परामर्शमा औषधि खाएर हुनेबाहेक जटिल हुन सक्ने खालका बिरामीहरूलाई अस्पताल आउन आग्रह गर्दै उनले उच्च जोखिमका रोग पालेर नबस्न र अस्पताल आउनै पर्ने बिरामीले डर नमानी आउनुपर्ने बताएका छन् ।

भरतपुर अस्पतालमा गत वर्ष यो समयमा प्रतिदिन १ हजार बढी बिरामी भर्ना भएको तथ्यांक भए पनि अहिले प्रतिदिन सयको हाराहारीमा मात्र बिरामी आउने गरेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । अन्य अस्पतालमा पनि बिरामी कम आउने गरेका छन् । चितवन मेडिकल कलेजका नर्देशक डा. दयाराम लम्साल आपूmहरूले बिरामी हेरिरहेको भए पनि बिरामी नै आउन छाडेको बताउँदै प्रतिदिन सय जना नयाँ बिरामी पनि मुस्किलले आउने गरेको जानकारी दिए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बाहिर हिँडडुल गर्न जोखिम भएको, घरबाटै चिकित्सक, स्वास्थ्यकर्मीसँग परामर्श गर्ने क्रम बढेकाले बिरामी सिधै अस्पताल आउन कम भएको हुन सक्ने बताए । गएका ९ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा ४ हजारभन्दा बढी विभिन्न रोगका बिरामी उपचारका लागि आएको जानकारी दिँदै तिवारीले लगभग १ हजार बिरामी ज्वरो रुघाखोकीका रहेको जानकारी दिएका छन् ।

नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाले बल्झने र फैलने खालका समस्या छन् भने रोग लुकाउनु घातक हुने बताउँदै टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसँग आउन आग्रह गरेका छन् ।

उनले ज्वरो कोरोनाका कारण मात्र नभएर डेंगु, मलेरिया, स्क्रबटाइफस, हेपाटाइटिस जस्ता कारणले पनि हुने भएकाले नडराई अस्पताल आउन सुझाव दिए । घरमा नै रोग पालेर बस्ने र अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार हुन नसकेर ज्यान जान थालेको भन्दै खतिवडाले सबै जना समयमै सजग हुनुपर्ने बताए ।

सामान्य ज्वरो रुघाखोकी आएमा तुरुन्तै चिकित्सकको सल्लाह र अस्पतालमा पुग्नुपर्ने यो समयमा घरमै बसेर रोग लुकाउँदा थप समस्या र जोखिम बढ्ने भएकाले कोरोनाको डर र त्रास कम गराउँदै सरोकारवालाले अस्पतालमा ढुक्कसँग उपचार हुने वातावरण बनाउन आवश्यक देखिएको छ । – राधेश्याम खतिवडा, राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!