मदन भण्डारी राजमार्ग : धरान-झापा खण्डको डीपीआर तयार

- March 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : मदन भण्डारी राजमार्गको धरान-झापा १२५ किलोमिटर खण्ड विस्तार गर्न चालु आर्थिक वर्षभित्र ठेक्का निकालिने भएको छ। मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले धरान-झापा खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले ठेक्काको तयारीमा जुटेको जानकारी दिए।

सडक विभागले धरान-झापा खण्डको डीपीआर तयार गरेको छ। निर्देशनालयले चालु आवभित्रै निर्माण प्रक्रिया अघि बढाउन ठेक्काको मस्यौदा तयार गरिरहेको छ। ‘नयाँ ठेक्काका लागि बजेट विनियोजन भएको छ। बजेट स्वीकृतिका लागि योजना आयोग र अर्थमन्त्रालयको सहमति चाहिन्छ’, विन्दुले भने, ‘ठेक्काको मस्यौदा तयार गरेर योजना आयोग र अर्थमन्त्रालयमा पठाउने तयारीमा जुटेका छौं।’ यो सडक विस्तार गर्न करिब ६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान निर्देशनालयको छ। अर्थमन्त्रालयले बजेटको सूनिश्चिता गरेपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ।

सरकारले २०७५ जेठमा १० टुक्रे सडक जोडेर नयाँ राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग घोषणा गरेको थियो। आर्थिक वर्ष २०७५÷७६ को बजेटमा चार अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको थियो। चालु आवमा चार अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। यो वर्ष विनियोजित बजेटमध्ये साढे दुई अर्ब रुपैयाँ खर्च भएको निर्देशनालयले जानकारी दिएको छ।

मदनभण्डारी राजमार्गअन्तर्गतकै धरान-चतरा-गाईघाट-सिन्धुली-हेटौंडा तीन सय १८ किलोमिटर सडक खण्डका निर्माण कार्य २०६४÷६५ देखि नै सुरु भएको छ। यो सडकलाई उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किमी पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किमी सडकलाई पश्चिमी खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ। दुवै खण्डको सडकमा सडक र पुलको फरक फरक ठेक्का गरी काम भइरहेको योजना कार्यालयले जनाएको छ।

सडकको पूर्वी खण्डमा भएको पुल सडकको काम जेआईडेसी, शर्मा लामा जेभी, सीओभीआईसी- रसुवा-चुण्डी जेभी र पश्चिम हेटौंडा खण्डमा सडकको काम कालिका-स्वच्छन्द-रानकेल जेभीले ठेक्का प्राप्त गरेका हुन्। पूर्वी खण्डमा सडकतर्फ ६ अर्ब ५४ करोड रुपैयाँ र पुलतर्फ ३ अर्ब २५ करोड रुपैयाँ बराबरको ठेक्का हो। पश्चिम हेटौंडा खण्डमा सडकतर्फ ६ अर्ब ३० करोड रुपैयाँ र पुलतर्फ २ अर्ब ६० करोड रुपैयाँको ठेक्का लागेको छ। पूर्वी खण्डमा सडकतर्फ ७० प्रतिशत भौतिक प्रगति हासिल भएको छ। यो खण्डमा ४३ वटा पुल रहेकोमा ९४ प्रतिशत प्रगति हासिल भएको छ। यो खण्डको विस्तार २०७७ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।

पश्चिम हेटौंडा खण्डको सडकमा ७५ प्रतिशत र पुल निर्माणमा ९५ प्रतिशत प्रगति भएको प्रमुख विन्दुले जानकारी दिए। यो खण्ड पनि २०७७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

करिब साढे १२ सय किलोमिटर लामो र दुई लेनको यो राजमार्ग झापाको शान्तिनगरदेखि सुनसरीको धरान-चतरा, उदयपुरको गाईघाट-कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी-तम्घास, प्युठानको बागदुला-देवीस्थान, दाङको घोराही-तुलसीपुर-पुरनधारा, सुर्खेतको बोटेचौर-बड्डीचौर, डोटीको सिमचौर-बीपीनगर, कैलालीको सहजपुर-बुडर हुँदै डडेल्धुराको रुपालसम्म पु‍र्‍याउने योजना छ। तर, निर्देशनालयको क्षेत्राअधिकारभित्र ७६५ किलोमिटर मात्र छ। बाँकी सडक खण्ड पूर्वपश्चिम राजमार्ग भएर अघि बढ्छ। अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!