रड र सिमेन्ट नै गुणस्तरहीन : जीवनभरको कमाइ छिनभरमै खरानी

- February 27, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । निर्माण सामग्रीको उत्पादनस्थलमै गुणस्तरमा चरम लापरबाही गरेको पुष्टि भएको छ । रड र सिमेन्ट नै गुणस्तरहीन उत्पादन भएको पुष्टि भएपछि नेपालको भवन, पुल, सडक, जलविद्युत् आयोजना, सिँचाइ, खानेपानी योजनाहरुको साथै निजी आवासमा समेत जोखिम बढेको छ ।
घर कुनै पनि व्यक्तिको जीवनभरको कमाइको रुपमा लिइन्छ । अपवादबाहेक मानिसले पटक–पटक घर निर्माण गर्दैन । तर, त्यही घरमा प्रयोग भएका रड र सिमेन्ट नै गुणस्तरहीन भएको पुष्टि भएपछि जीवनभरको कमाइ छिनभरमै खरानी बन्ने अवस्था आएको छ ।

निर्माण सामग्री गुणस्तरहीन भएको गुनासो बढेपछि पछिल्लो समय नेपाल गुणस्तर तथा नापतौल विभागले बजारमा बिक्रीका लागि राखिएका त्यस्ता सामग्रीको नमूना संकलन गरेर परीक्षण गर्न थालेको छ । बजारमा बिक्रीका लागि ठिक्क पारिएका मिसेन्ट र रडहरु परीक्षण गर्दा गुणस्तरहीन भएको पुष्टि भएपछि गुणस्तर विभागले उत्पादन इजाजत नै रद्द र स्थगित गरिदिएको छ ।

विभागका अनुसार शालीमार सिमेन्टको पीपीसी सिमेन्ट गुणस्तरहीन भएको पुष्टि भएको छ । बजारबाट संकलित उक्त सिमेन्टको तीन दिनको परीक्षणबाट गुणस्तरहीन भएको पुष्टि भएको हो ।

बारामा फ्याक्ट्री रहेको शालीमार सिमेन्टको तीन दिनको कम्प्रेसिभ स्ट्रन्थ १५ एमपीए मात्र रहेको छ । पीपीसी सिमेन्टमा न्यूनतम १६ एमपीए हुनुपर्ने विभागको प्रावधान छ । एमपीए भनेको सिमेन्टको बलियोपना हो । सिमेन्टमा बलियोपना नै नभएपछि विभागले गुणस्तर नियमावली २०४० को नियम १६ अनुसार इजाजतपत्र स्थगन गरेको हो ।

शालीमार सिमेन्ट उद्योगका सञ्चालकहरु अशोक वैद्य, राजकुमार वैद्य, विजय वैद्य र जीवन अग्रवाल हुन् । शालीमार सिमेन्टमा अर्को कैफियत पनि फेला परेको छ । पीपीसी सिमेन्टमा ६ प्रतिशत मात्र म्याग्नेसियम अक्साइड (एमजीओ)को मात्रा हुनुपर्नेमा शालीमारमा छ दशमलव सात प्रतिशत भेटिएको छ । यसले पनि उक्त सिमेन्ट निर्माणकार्यका लागि अनुपयुक्त देखाएको छ ।

त्यस्तै, विभागले कपिलवस्तुमा रहेको अर्को सिमेन्ट उद्योग एमजेप्पी सिमेन्ट उद्योगले उत्पादन गरेको बुद्ध पीपीसी सिमेन्ट पनि गुणस्तरहीन भएको ठहर गरेको छ । गुणस्तरहीन भएको ठहर भएपछि विभागले स्पष्टीकरण सोधेको छ ।

त्यस्तै, बारामा रहेको सिलाइन्स सुपरटेक सिमेन्ट प्रालिले उत्पादन गरेको डनलप पीएससी सिमेन्ट पनि गुणस्तरहीन भएको भन्दै नियमावलीअनुसार इजाजतपत्र स्थगन गरेको छ । उक्त उद्योगबाट उत्पादित डनलप पीएसी सिमेन्टमा पनि कम्प्रेसिभ स्ट्रेन्थ १४ एमपीए भन्दा कम भेटिएको छ । करिब १५ वर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको उक्त उद्योगका अध्यक्ष विनोदकुमार अग्रवाल हुन् ।

उक्त उद्योगमा भरतकुमार तोदी, पियुषकुमार तोदी, नारायण तोदी, ऋषि अग्रवाल, राहुल अग्रवाल पनि सञ्चालक छन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दिएको जानकारीअनुसार अशोक स्टिल प्रालि बाराद्वारा उत्पादित १२ एमएमको एफई५०० टीएमटी रड गुणस्तरहीन भएको पुष्टि भएपछि नेपाल गुणस्तर (प्रमाण चिह्न) नियमावली, २०४० को नियम १६ अनुसार इजाजतपत्र रद्द गरिएको छ ।

विभागले माघ २३ गते अशोक स्टिलको १२ एमएमको टीएमटी बार एफई५०० गुणस्तरहीन भएको जनाउँदै उक्त रडको बिक्रीमा रोक लगाउनुको साथै बजारमा पुगेका सबै रडहरु तुरुन्त फिर्ता गरेर स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । उक्त कम्पनीको स्पष्टीकरण चित्त नबुझेपछि विभागले मंगलबार अर्थात् फागुन १३ गते इजाजतपत्र नै रद्द गरेको हो ।

१२ एमएमको रड उत्पादन गर्नका लागि उक्त कम्पनीले अब नयाँ प्रक्रियाबाट मात्र इजाजत लिनुपर्नेछ । अशोक स्टिलको उक्त १२ एमएमको रडमा इलोङगेसन कम्तिमा १२ प्रतिशत हुनुपर्नेमा ११ दशमलव ६७ प्रतिशत मात्र छ । बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ हुनुपर्नेमा त्यो पनि पूरा भएको छैन ।

सोही कारण बजारबाट फिर्ता गर्नुपर्ने पत्र विभागले माघ २३ गते दिएको थियो । माघ २३ गते विभागले अशोक स्टिल इन्डष्ट्रिज प्रालिको साथै रौतहटको गोदावरी स्टिल्स प्रालि र रुपन्देहीको गोयन्का स्टिल्स प्रालिले गुणस्तरमा चरम लापरबाही गरी गुणस्तरहीन रड उत्पादन गरेको ठहर गर्दै पहिलो चरणको कारबाही गरेको थियो । (आर्थिक दैनिक बाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!