तरकारीमा विचाैलियाकाे राज : मूल्यसुची विपरित काराेबार

- February 14, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना पसलमा तरकारी बेच्ने साना व्यापारीको बिहानैदेखि घुइँचो हुन्छ । सस्तो तरकारी पाइन्छ भनेर गृहणीहरू आउने गर्छन् तर कालीमाटीका लागि सबैभन्दा ठूलो समस्या भनेको मूल्य नै हो । बिचौलियाले पत्रपत्र गरेर मूल्य बढाउँछन् ।

छैन मूल्यसूची
त्यहाँको मूल्य कसैको नियन्त्रणमा छैन । खुद्रा व्यापारी त्यहाँ पुग्दासम्म तरकारीको मूल्य के हुन्छ भन्ने थाहा हुँदैन । त्यहाँ ठूला व्यापारीलाई सोधपुछ गरेपछि मात्र थाहा हुन्छ । मूल्य थाहा नहुँदा कतिपय व्यापारी तथा उपभोक्ता ठगिएको देखिएको छ । सरकारले सबै पसल तथा होटलमा देखिने गरी मूल्यसूची राख्न अनिवार्य गरेको छ । तरकारी बजारमा मूल्यसूची नै छैन । कालीमाटीको गेटभित्र छिर्नेबित्तिकै कुन तरकारी कति मूल्यमा पाइन्छ भनेर जान्नै समस्या भएको दुखेसो सानेपाका खुद्रा व्यापारी विपीन केसीले गर्नुभयो । न समितिले देखिने गरी कहीँ सूची राखेको छ न कुनै स्टलमा मूल्यसूची झुण्डिएको पाइन्छ, त्यसले गर्दा त्यहाँका व्यापारीले भनेकै मूल्यमा तरकारी किन्न बाध्य हुनुपरेको उहाँ बताउनुहुन्छ ।
कालीमाटी तरकारी बजारभित्र समितिको भवन छ । भवनमाथि मूल्यसूची प्रदर्शन हुने ठूलो बोर्ड छ तर त्यो दुई महिनादेखि बन्द छ । मूल्यसूची अद्यावधिक गर्ने बजार सहायक राजेश श्रेष्ठसँग मूल्यसूचीबारे जिज्ञासा राख्दा उहाँले आफ्नो मोबाइल खोलेर मूल्य देखाउनुभयो । उहाँले भन्नुभयो, “फेसबुक, अनलाइनमा मूल्यसूची हेर्न सक्नुहुन्छ ।” मूल्यसूची कसरी अद्यावधिक गर्र्नुहुन्छ भन्ने जिज्ञासामा श्रेष्ठले बजारको अनुगमन गरी व्यापारीसँग सोधेर मूल्य तय गर्ने गरिएको जनाउनुभयो । समर्थन मूल्य तोकेको छैन । दिनैपिच्छै मात्र होइन, घण्टैपिच्छे मूल्य फरक हुन्छ अर्थात् कालीमाटी बजारको मूल्य नियन्त्रणमा छैन । बिहान ३ बजेदेखि ५ बजेसम्म एउटा मूल्य हुन्छ भने ५ बजेदेखि ७ बजेसम्म अर्को र फेरि ७ बजेपछि अर्को मूल्यमा बिक्री भइरहेको हुन्छ । यस्तो हुनुको एउटै कारण तरकारी बजार किसान तथा उपभोक्तामुखी नहुनु हो । कालीमाटी तरकारी बजार न किसानमुखी हुन सकेको छ, न उपभोक्तामुखी । त्यसैले बजारको मूल्य सरकारको नियन्त्रणभन्दा बाहिर रहेको विश्लेषण गरिएको छ । किसानको पहुँच तरकारी बजारसम्म छैन । व्यापारीले किसानकै खेतमा गएर तरकारी किन्छन् । ठूल्ठूला व्यापारीले किसानलाई कालीमाटी बजारको गेटभित्र छिर्नै नदिएको गुनासो छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरे कालीमाटी तरकारी बजार किसान तथा उपभोक्तामुखी हुन नसकेको स्वीकार गर्नुहुन्छ ।

फरक फरक मूल्य
एउटै बजारमा फरक फरक मूल्य पाइएको छ । काउलीको बिहीबार बिहान ४ बजेको मूल्य २०, २३ र २५ रुपियाँ प्रतिकेजी थियो । यो ठाउँअनुसारको काउलीको मूल्य हो । तराईको काउली सस्तो छ । पाँचखाल, काभ्रे, चितवनतिरको काउली महँगो छ तर त्यही गाडीबाट झारेको काउली त्यहीँका व्यपारीले खरिद गरेर आफ्नो स्टलमा राखेपछि त्यसको मूल्य ४० रुपियाँ प्रतिकेजी पुग्यो । उपभोक्ताको भन्सासम्म पुग्दासम्म ५० देखि ६० रुपियाँ पुग्छ । कालीमाटीका व्यापारी केशव रिमाल भन्नुहुन्छ, “कालीमाटीको तरकारीको मूल्य ठीक भए पनि सो मूल्यलाई बिगार्ने काम खुद्रा व्यापारीले गरेका छन्, जसको दोष कालीमाटी तरकारी बजारलाई परेको छ ।” व्यापारी भीमसेन शाही ठाकुरी भन्नुहुन्छ, “किसानबाट किनेर कालीमाटीसम्म ल्याउँदा ढुवानी, प्याकेजिङ लगायतका खर्च हुन्छ, त्यसैले मूल्यवृद्धि हुन्छ । झन् किराना पसलसम्म पुग्दा त किसानको खेतबाट किनेभन्दा धेरै फरक हुन्छ । न किसानले राम्रो भाउ पाउँछन् न उपभोक्ताले सस्तो नै । बिचौलिया र व्यापारीले अनेक चरणमा भाउ बढाउँछन् ।”

भारतीय तरकारी महँगो
कालीमाटी तरकारी बजारमा भारतबाट आएका सबै तरकारी महँगो थियो भने नेपालमा उत्पादित तरकारी सस्तो थियो । भारतबाट आउने भिण्डी, करेला, कटहर, खुर्सानी, लसुन महँंगो छ । भारतबाट आएका करेला थोकमा १३५ रुपियाँ केजी थियो भने खुद्रामा १५० देखि १६० रुपियाँसम्म थियो । भारतबाट आएको कटहरको थोक मूल्य केजीको एक सय थियो भने खुद्रा मूल्य १५० देखि १६० रुपियाँ थियो । खुर्सानी ५० रुपियाँ केजी थियो । भारतबाट आएको लसुनको मूल्य केजीको ४४० रुपियाँ थियो तर नेपालमा उत्पादित काउलीको खुद्रा मूल्य ४० रुपियाँ, मूला २०, गाँजर २५ र ब्रोकाउली ४० रुपियाँ केजी थियो । नेपालमा भिण्डी, करेला, कटहर लगायतको सिजन नभएका कारण भारतीय व्यपारीले नेपालमा ल्याएर महँगोमा बेचेका छन् तर त्यसको नियन्त्रण गर्ने निकाय यो मामिलामा बोल्न चाहँदैन । कालीमाटीको तरकारी बजार भारतीय व्यापारीकै कब्जामा छ । महासङ्घका घिमिरका अनुसार भारतबाट आलु ६० प्रतिशत, खुर्सानी ९०, कागती ९९, प्याज ९५, भिण्डी ४०, काँक्रो ३०, करेला ९अफ सिजनमा मात्र० शतप्रतिशत आउने गरेका छन् ।

पहिलाभन्दा सुधार
तरकारी बजारमा पहिलाभन्दा सरसफाइ रहेको पाइएको छ । दुर्गन्ध हटेको छ, दिनमा दुईपटक सफाइ हुन्छ । स्टल पार्किङ र शौचालय व्यवस्थित छ । यद्यपि, उपभोक्ताले दुवैका लागि पैसा तिर्नुपर्छ । कुनै किसानसँग वा व्यापारीसँग जबर्जस्ती सामान खोसिएको छैन । समितिका सदस्य राममणि आचार्यका अनुसार ३०–३५ वटा स्टल खाली छन् । पहिलाजस्तो स्टलमा बिचौलिया छैनन् । गोरखापत्रबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!