नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

- February 11, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो । आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त भब्य कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताउनुभयो । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको सीईओ झाले बताउनु भयो ।
बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उहाँको कथन थियो । सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिनुभयो । उहाँले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताउनुभयो ।
सीईओ झाले भन्नुभयो, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।’
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले स्वागत मन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइपु¥याउने श्रेय सम्पूर्ण अभिकर्ताहरुको रहेको बताउँदै सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । सम्पूर्ण अभिकर्ताहरुले आम नागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बीमा गराउन उहाँको सुझाव थियो ।
पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गर्नुभयो । त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताउनुभयो । कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरियो । मिसन २०२० अन्तर्गत अन्नपूर्ण–१ चढ्ने तयारीमा रहनुभएकी श्रेष्ठले आमादाब्लम, मनास्लु हिमालको सफल आरोहण गरिसक्नुभएको छ । सो अवसरमा पत्रकार श्रेष्ठले आप्mनो सफलताको कथा सुनाउनुभएको थियो ।
सो भव्य कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिनुभएको थियो । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेल, प्रशासन एवं मानव संसाधन प्रमुख सोन बहादुर मगर र कम्युनिकेसन तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले उत्कृष्ठ व्यवस्थापन गर्नु भएको थियो । कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख दिवाकर बरालको सभापतित्वमा सम्पन्न भएको हो ।
जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्मा रू. १४ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको कम्पनीले जारी गरेकाे विज्ञप्तीमा उल्लेेेख छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!