भूर्णहत्यामा पावर : यसरी गराइयो अवैध गर्भपतन

- February 3, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेघा बैंक कुम्मायक शाखामा कार्यरत कुम्मायक–५ स्यावरुम्बाका रमेश खड्का र यासोक बजारकी एक दलित युवतीले मन्दिरमा गएर विवाह गरेका थिए। दुईबीचको सम्बन्धबाट युवतीको पेटमा गर्भ थियो। रमेश र ती युवतीबीच असार महिनादेखि चिनजान भएको हो। फेसबुकबाट साथी बनेका उनीहरूले छोटो समयमै एकअर्कालाई माया गर्न थाले। प्रेम सम्बन्धमा रहेका उनीहरूले सँगै जिउने संकल्प गर्दै विवाह गरे।

तर, उनीहरूको संकल्पमा अध्यक्ष चेम्जोङ तगारो बने। ‘फेसबुकबाट जोडिएको हाम्रो नाता प्रेममा परिणत भयो,’ भू्रणहत्यापछि बेडमा छडपटिइरहेकी युवतीले विवाह गरेको फोटो देखाउँदै भनिन्, ‘गहिरो प्रेममा परेपछि हामीले मन्दिरमा गएर विवाह गरेका थियौं।’ साउन २८ गते पाँचथर सदरमुकाम फिदिमको शिवालय मन्दिरमा उनीहरूले सिन्दुर पोतेसहति (विवाह) गरेका थिए।

क्षेत्रीको छोरा रमेश र दलित युवतीबीच विवाह भएको केही मनिसहरूलाई मात्र थाहा थियो। दलित युवतीसँग विवाह गरेको घरपरिवार र समाजले स्वीकार नगर्ने डरले रमेशले त्यो कुरा सार्वजनिक गर्न नचाहेको हुनसक्ने युवतीको अनुमान छ। सम्बन्धलाई गोप्य राख्न खोजे पनि विस्तारै उनीबीचको सम्बन्ध खुल्दै गयो। ‘हामी दुईबीच नराम्रो थिएन,’ युवती भन्छिन्, ‘अध्यक्ष नै लागेर मलाई बर्वाद बनाए।’

रमेशको परिवारले अध्यक्ष चेम्जोङलाई प्रयोग गरेको युवतीको भनाइ छ। ‘अध्यक्षको दवाव थेग्न नसकेर छोरीको पेटमा रहेको गर्भ फाल्न बाध्य भएँ,’ युवतीकी आमाले भनिन्, ‘निरन्तर धम्की र दवाव आएपछि छोरीको ज्यान जोखिममा पार्न सकिँन।’ चेम्जोङले युवतीको परिवारलाई गर्भपतन नगराए गाउँनिकाला गरेर समाजबाट बहिस्कार गर्ने धम्की दिएको युवतीकी आमा बताउँछिन्।

आमाका अनुसार पुष २४ गते पाँचथर सदरमुकाम फिदिमको समर्पित अस्पतालमा लगेर २६ गते राति जबरजस्ती गर्भपतन गराइयो। २८ गते अस्पतालबाट युवतीलाई डिस्चार्ज दिइएको हो। गर्भपतन गराएपछि रमेश भने सम्पर्कविहीन छन्। ‘अहिले छोरीको अवस्था नाजुग छ,’ उनले भनिन्, ‘रगत बगिरहेको छ। यस्तो दुःखको कुरा अरुलाई भन्न पनि सकिन्। कसैलाई भनिस भने गाउँनिकाला गरिदिन्छु भनेर अध्यक्षले धम्काएका छन्।’

अध्यक्षको धम्कीका कारण दलित परिवार आतंकित बनेको छिमेकीहरू बताउँछन्। आमा छोरीबीच फोनमा बोल्न नपाउने र छोरीलाई घरमा ल्याउन पनि नपाउने भनेर अध्यक्षले धम्काएको पीडित परिवारको भनाइ छ। ‘हामीसँग धन सम्पत्ति छैन,’ युवतीकी आमाले थपिन्, ‘अध्यक्षले छोरीलाई घर नल्याउनु भनेका छन्। म के गरौं ? छोरीलाई बजारमा राख्ने क्षमता पनि छैन।’

पीडित परिवारकाअनुसार पुष २४ गते युवतीकी आमा घरमा काम गरीरहेकी थिइन्। त्यति नै बेला गाउँपालिका अध्यक्ष चेम्जोङ्ले केही काम छ भनेर रानीगाउँमा रहेको आफ्नो पशु फर्ममा युवतीकी आमालाई बोलाए। त्यहाँ पुग्दा अध्यक्ष चेम्जोङ, उनकी पत्नी, रमेशका दाजु सन्तोष खड्का र दिदी कमला खड्का बसिरहेका थिए।

‘चार जना भएर मलाई धम्काए,’ आमाले भनिन् ‘उनीहरूको धम्किकै कारण छोरीको भविष्य बिगार्नुपर्‍यो।’ हल्ला भयो भने केटा केटी दुवै जना जेल जान्छन् भनेर गर्भपतन गराउन आमालाई दवाव दिइयो। ‘केटाको दिदी कमला खड्काले त भन्नु नभन्नु गाली गरिन्,’ आमाले आँसु झार्दै भनिन्, ‘तैले पनि यस्तै काम गर्दै बस्दी रैछेस्। छोरीलाई यस्तै काम सिकाइछेस्। छोरीको गर्भपतन नगराए गाउँपालिकाबाट पाउने सबै सुविधा रोक्न लगाउँछु भन्दै मलाई धम्काए।’

फिदिम लगेर छोरीको गर्भपतन गराउनुपर्ने अध्यक्षको शर्त थियो। गर्भपतन गराएको हल्ला गरे प्रदेश सरकारले सञ्चालन गरेको सुरक्षित आवास कार्यक्रमबाट वञ्चित गराउने भन्दै चेम्जोङले उनलाई धम्काए। यता आफूलाई फसाउन षडयन्त्र गरिएको चेम्जोङले बताए। ‘यो घटनाको बारेमा मलाई सामान्य जानकारी मात्रै छ,’ उनले भने ‘मलाई फसाउन योजनाबद्ध रूपमा कदम चालिएको हो, यसमा म संलग्न छैन।’ कुराकानीकै क्रममा चेम्जोङले पत्रकारले समाचार लेख्दैमा केही नहुने भनेर धम्कीसमेत दिए।

युवततीको गर्भपतन गराउने फिदिममा सञ्चालित समर्पित अस्पतालले नेपाल सरकारबाट स्वीकृति नलिइ गर्भपतन गराउने गरेको खुलेको छ। ‘हामीसँग गर्भपतका लागि अनुमति छैन, त्यो गर्भपतन अध्यक्षको दवाव बढेपछि आएपछि गरेको हो,’ अस्पतालका प्रबन्ध निर्देशक राजेन्द्र कार्कीले भने। गर्भपतन सेवाको स्वीकृति लिने प्रक्रियामा रहेको उनले बताए। गर्भपतनको स्वीकृति लिएका अस्पतालले नौ हप्तासम्मको गर्भ औषधि प्रयोग गरेर खुलाउने अनुमति पाएका हुन्छन्। समर्पित अस्पतालले अनुमति बिना २१ हप्तासम्मको गर्भपतन गराएको हो।  भीमकुमार बाँस्कोटा, अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!