देशको आर्थिक बृद्धि गिरावट : लक्षित राजस्व र विकास खर्च गर्न सरकार असफल (भिडियो सहित)

- January 16, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

संघीय सरकारको ६ महिनाको पुँजीगत खर्च निकै कम भएको छ । सरकारले लक्ष्य अनुुसारको राजस्व समेत संकलन गर्न सकेन । यही हिसाबले सरकारले लिएको बार्षिक लक्ष्य पुरा गर्न कठिन हुने अबस्था देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम दिनसम्मा लक्षित राजस्व संकलन नहुने भएपछि राजस्व सचिव शिशिर ढुंगाना तोकिएको राजस्वको लक्ष्य पूरा गराउनकै लागि दौडधुप रहे । राजस्व सचिब ढुंगाना आफ्नो कार्यकक्षमा बसेर राजस्वको हिसाब गर्दै आफ्ना मातहतका विभाग र कार्यालयलाई राजस्व उठाउन दवाव दिएको सम्बन्धित निकायका कर्मचारीहरुको भनाई रहेको छ ।

चालु आर्थिक वर्षमा राजस्व लक्ष्य भेट्न समेन नसम्ने भएपछि अर्थमन्त्रालयका राजस्व सचिव ढुंगाना दबाबमा समेत परेका छन् । पुस मसान्तसम्मको राजस्वको तथ्यांकले वर्षभरिको संकलनको तस्विर देखाउने भएकाले समेत राजस्वका कर्मचारीले यो समयमा दबाब बढाउदै आउने गरेको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतका ५९ करदाता सेवा कार्यालयहरु आयकर उठाउन व्यस्त रहने गर्दछन् । पुस महिनामा मात्रै ८१ अर्ब राजस्व संकलन लक्ष्य लिएको विभागले ५२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले चालु आर्थिक वर्षको अहिलेसम्म १ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्य भन्दा ५९ अर्ब रुपैयाँले कम हुन पुगेको छ । सरकारले आबश्यक परेको खण्डमा नीति नियमलाई परिर्वत गर्नु गराउनु पर्ने अर्थबीद् प्राडा विश्वम्भर प्याकुरेलले बताएका छन् । प्राडा प्याकुरेलका अनुसार सरकारले ल्याएको नीति नियम जसरीपनि मान्नु पर्छ भन्ने अडान राख्दा आर्थिक विकास र राजस्व संकलनमा समेत असर पुग्ने गरेको बताए ।

अहिले सरकारी प्रणालीमै दोष देखिएको पुर्वअर्थमन्त्री शंकरप्रसाद कोईरालाले बताएका छन् । कोईरालाका अनुसार सरकारकै काम कारबाही र नीति नियमका कारण व्यवसायी र अन्य क्षेत्रमा निरासा देखिएको बताए । उनले सरकारी राज्य सयन्त्र सशख्त रुपमा अगाढी नबढ्नाले अर्थतन्त्र र विकास खर्च कमजोर हुन पुगेको बताए । सरकारले अर्थतन्त्रलाई चलायमान बनाई राख्न सकेको खण्डमा देशको आर्थिक विकासका साथै राजस्व संकलनमा समेत बृद्धि हुने पुर्वअर्थ सचिब शान्तराज सुबेदीले बताएका छन् । उनले जवसम्म सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दै तबसम्म आर्थिक विकास, रोजगार र राजस्व संकलनमा गर्न कठिन हुने बताए । यसैबीच, भन्सार विभाग अन्तर्गतका कार्यालयले २६ अर्ब रुपैयाँ राजस्व असुल गरेको छ । विभागले पुस महिनाको ३६ अर्ब राजस्वको लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भन्सार विभागले २ खर्ब ४४ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएको छ । हालसम्मको अवस्था हेर्दा १ खर्ब ७९ अर्ब राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ६४ अर्ब रुपैयाँले कम हुन पुगेको छ । पुस मसान्तमा अग्रिम आयकर समेतले गर्दा केही राजस्व बढ्ने देखिए पनि लक्ष्य भने पुरा नहुने भएको छ । यो ६ महिनामा सरकारले ३ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सोही अवधिमा सरकारले ४ खर्ब ७० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सरकारले यो अवधिमा ५ खर्ब ३७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सो अबधिमा ४ खर्ब ३३ अर्ब रुपैयाँमात्र राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सरकारले यो अवधिसम्म तीन वर्षयताकै न्यून अर्थात् ६ महिनामा जम्मा १३ प्रतिशतमात्र खर्च गरेको जनाएको छ । विकास खर्चको कहालीलाग्दो अवस्था र भन्सार राजस्व न्यून हुँदा राजस्व असुली न्यून देखिएको विश्लेषकहरु बताउँछन् । (साभार :प्राईम टाइम टेलिभिजनको अर्थव्यूरो)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!