रिवाज फाउण्डेसनद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

- December 31, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । रिवाज फाउन्डेसन काठमाडौंले नुवाकोट जिल्लाको चुतुरालेस्थित ब्रह्मायणी आधारभुत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ । चुतुरालेमा आयोजित कार्यक्रमबीच फाउण्डेशनकी अध्यक्ष दुर्गा विसुरालले उक्त विद्यालयमा अध्ययनरत एक सय दश विद्यार्थीलाई जाडोयाममा पहिरिने न्यानो कपडा वितरण गरेकी हुन् । मूलतः सामाजिक क्षेत्रमा क्रियाशील रहने उद्देश्यबाट अभिप्रेरित भई हालै स्थापना भएको रिवाज फाउण्डेशनकी अध्यक्ष विसुराल मिसेज हेरिटेज इन्टरनेसनल–२०१९ को उपाधिविजेता समेत हुन् ।
छात्रछात्रालाई न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विसुरालले रिवाज फाउण्डेशन कुनै विदेशी दाताको सहयोगमा सक्रिय भएको संस्था नभई आफूहरूले पेशा–व्यवसायबाट आर्जन गरेको थोरबहुत रकमको केही अंश छुट्याएर सामाजिक कार्यमा समर्पण गर्ने सत् उद्देश्यका साथ सक्रिय रहेको स्पष्ट पारिन् । यस संस्थाले बाह्य सहयोग स्वीकार नगर्ने उनको प्रष्टोक्ति थियो । घर तथा कार्यालयको फजुल खर्च कटाएर असहाय–दुःखी बालबालिकाहरूलाई सहयोग गर्ने रिवाज फाउण्डेशनको मूल ध्येय रहेको जानकारी पनि उनले दिइन् ।
यस्तै, बालबालिकालाई सानै भए पनि सेवा गर्ने अवसर जुटाइदिएकोमा अध्यक्ष दुर्गा विसुरालले विद्यालयका प्रधानाध्यापक, विद्यालय परिवार तथा सहजकर्ताको भूमिका निर्वाह गरेका राप्रपा ९संयुक्त०का प्रवक्ता जनकराज पाठकप्रति आभार प्रकट गरिन् । कला, संस्कृतिको माध्यमबाट आफू नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको र देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा राख्न आफू सफल भएको उल्लेख गर्दै उनले नेपालभित्रै यस्ता धेरै सामाजिक कार्य गर्नु आफ्नो दायित्व रहेको र देशको कुना–कुनासम्म यसैगरी क्रियाशील रहने खुलासा पनि गरिन् ।
कार्यक्रममा संस्थाका महासचिव राजेश विसुराल, संस्थाकै सचिव एवं राप्रपा (संयुक्त) का प्रवक्ता जनकराज पाठक र उपाध्यक्ष रिवाज विसुरालको पनि उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पाठकले राजनीतिक क्षेत्रले भन्दा सामाजिक क्षेत्रले जनतामा राहत पुर्‍याउन सकिने अवस्था रहेको परिवेशमा सरकारले नै सामुदायिक विद्यालयलाई उपेक्षा गरेको आरोप लगाए । न्यानो कपडा वितरण गरेर सहयोग गरेकोमा प्रधानाध्यापक नवराज पाठकले फाउण्डेशनलाई प्रमाणपत्रसहित आभार व्यक्त गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!