पर्यटन वर्षको नाममा लुट : यसरी तर मार्दै पदाधिकारी

- December 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । दुई सातापछि नेपाल भ्रमण वर्ष सन् २०२० प्रारम्भ हुँदै छ । यो भ्रमण वर्षमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या २० लाख पुर्याएर मुलुकको अर्थतन्त्रमा उल्लेखनीय सहयोग पुर्याउने लक्ष्य सरकारले राखेको छ ।

तर, पर्यटन वर्षको नाममा पर्यटन मन्त्री योगेश भट्टराई, पर्यटन सचिव केदारबहादुर अधिकारी र पर्यटन वर्ष २०२० हेर्ने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको निम्ती भने पर्यटन वर्ष २०२० सुरु हुनुअगाडि नै चाँदी कटाइ सुरु भएको छ । सार्वजनिक रुपमा भद्र देखिने पर्यटन मन्त्री भट्टराई पनि पर्यटन वर्ष २०२० को नामको लुटको गंगामा डुबुल्की मार्न पछि परेका छैनन् ।

पर्यटन वर्षको प्रबद्र्धन गर्न भनेर विभिन्न मुलुकको भ्रमण गर्दा पर्यटन मन्त्री भट्टराईले राज्य कोषबाट २० लाख रुपैयाँ खर्च गरेका छन् । यसैगरी सन् २०२० भरी नै विश्वका विभिन्न ठाउँमा पर्यटन वर्षको प्रबद्र्धनका लागि प्रचार गर्न जाने र तारे होटलमा बसेर पत्रकार सम्मेलन गर्ने योजनासमेत पर्यटन मन्त्री भट्टराई तथा पर्यटन सचिव अधिकारी र पर्यटन मन्त्रालयका सहसचिव लामिछानेले बनाएका छन् ।

पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डमा अहिले पर्यटन वर्षको नाममा खुलमखुल्ला लुट नै चलिराखेको छ । पर्यटन वर्षलाई प्रबद्र्धन गर्न भनेर ६ वटा कोठाको रंगरोगन गर्नका लागि राज्यकोषबाट ४५ लाख रुपैयाँ खर्च भएको बिल पेस गरेर पर्यटन वर्षको नाममा भागशान्ति जय नेपाल गर्ने काम पनि भएको छ ।

यसैगरी पर्यटन बोर्ड संचालक समितिको बैठक सचिवले बोलाउँदा प्रतिव्यक्ति दुई हजार रुपैयाँ र सहसचिवले बोलाउँदा १५ सय रुपैयाँ भत्ता पाउने व्यवस्था रहेकोमा अहिले पर्यटन वर्ष सफल पार्ने नाममा पर्यटन बोर्डको प्रति बैठक प्रति व्यक्ति पाँच हजार रुपैयाँ भत्ता लिने गरेका छन् । र, पर्यटन वर्षको नाममा एक महिनामा २० देखि २४ वटासम्म बैठक बस्ने गरेको छ ।

यसरी पर्यटन वर्षलाई सफल पार्ने नाममा पर्यटन विकास बोर्डको बैठकको नाममा पनि लुट मच्चाउने काम भइ राखेको छ र अहिले पर्यटन वर्ष सुरु नै नभई पर्यटन मन्त्रालयका मन्त्री भट्टराई, सचिव अधिकार र सहसचिव लामिछानेका निम्ती कमाइको मामिलामा दसैं सुरु भएको छ ।

पर्यटन वर्षको एउटा प्रमुख आकर्षण लुम्बिनी रहेको छ । र, सरकारले पनि पर्यटन वर्षलाई लक्षित गरेर लुम्बिनीको प्रचार प्रसार गरी राखेको छ । तर, लुम्बिनीसम्म पुग्ने सडक मार्गको अवस्था अत्यन्त दयनीय रहेको छ । र, यो सडकमा स्थानीय जनता नै सकेसम्म यात्रा गर्न नपरोस् भन्ने चाहना राख्छन् ।

तर, पर्यटन वर्षको उपलक्ष्यमा लुम्बिनी घुम्न आउने पर्यटकका निम्ती भनेर पनि सडकको हालत सुधार गर्नेतिर पर्यटन मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गर्ने काम समेत गरेको छैन । लु्म्बिनी–भैरहवा सडकको यो हालतले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकसमेत बिच्किने अवस्था रहेको छ ।

तर, पर्यटन मन्त्रालयका मन्त्री तथा सचिवलाई भने लुम्बिनीसम्मको सडक मार्ग दुरुस्त पार्नेभन्दा कहाँबाट दाम आउँछ भन्ने नै चिन्ता रहेको देखिन्छ । उता भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा करोडौंको ठेक्कामा सबै सामान गुणस्तरहीन प्रयोग गरी कमिसन खाएको एक स्थानीयबासीले बताएका छन् ।

यति मात्र कहाँ हो र एयरपोर्टका लागि चाहिने बत्तीमा समेत करोडौं घोटला भएको समाचार सूत्रले बताएको छ । यसमा संलग्न कर्मचारी पर्यटन सचिव केदारबहादुर अधिकारी उड्डयनका कार्यकारी निर्देशक राजन क्षेत्री, पर्यटन मन्त्रालयका सचिव बुद्धिसागर लामिछानले करोडौं कमाएका छन्, तामाकोशी सन्देशमा उल्लेख छ ।

राजन क्षेत्री यसमा माहिर खेलाडीका रुपमा देखिएका छन् । यसै विषयलाई लिएर स्थानीयबासीहरुले पर्यटन मन्त्रालयमा उजुरी गरेपछि यस विषयमा छानबिन गर्नका लागि सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । तर, भ्रष्टाचार गर्ने व्यक्तिलाई नै छानबिन समितिको संयोजक बनाएपछि कसरी हुन्छ कारबाही ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!