बैंक ह्यकिङ काण्ड : सत्रवटा बैंकहरू खतरामा

- December 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

newsabhiyan

काठमाडौं । सामाजिक सञ्जालमा जोडिएर विदेशबाटै ठगीमा सक्रिय रहेका समूहको नेपालको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको छ।

नाइजेरिया तथा भारतीय नागरिकले विभिन्न मुलुकमा बसी भाइबर, ह्वाट्स एप, इमो, फेसबुकमार्फत् अनलाइन चिठ्ठा परेको भन्दै ठगी गर्दै आएका छन्। उनीहरुको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको हो।

विदेशमा रहेर ठगी गर्ने समूहको एजेन्टका रुपमा रही नेपालमा अनलाइनमार्फत् ठगीमा सक्रिय रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार रहेका छन्।

यसरी ठगीमा सक्रिय भएकाहरुको विभिन्न बैंकमा भएको कारोबारको आधारमा प्रहरीले अरु बैंकहरु पनि ह्याक भएको हुनसक्ने जनाएको छ।

‘यिनीहरुको कनेक्स ह्याकरहरुसँग देखिएको छ,’ अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘अरु बैंकहरु पनि ह्याक भएको हुनसक्ने देखिएको छ। यसमा हामीले अनुसन्धान थालिसकेका छौं।’

यो समूहको १७ वटा बैंकमा कारोबार भएको देखिएको छ। त्यसका आधारमा ती बैंकहरु पनि ह्याकरको निसानामा परेको हुनसक्ने देखिएको छ।

गत असोजमा कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिक्नेहरु पक्राउ परेको समूहकै रहेको भेटिएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको हो।

१७ बैंकबाट यो समूहको १४ करोड रुपैयाँको कारोबार भएको देखिनुले अन्य बैंकहरु ह्याक भएको हुनसक्ने निष्कर्षमा प्रहरी पुगेको हो।

प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार ह्याक र ठगी गरेको रकम नेपाली एजेन्टमार्फत् भारत पठाउने गरेको खुलेको छ। नेपाली एजेन्टले १५ देखि २० प्रतिशत कमिसनमा उनीहरुलाई साथ दिएको देखिएको छ।

४० जना भन्दा बढी नेपालीहरु एजेन्टका रुपमा परिचालित भएको देखिएको छ। एजेन्टले ठगी गरेको रकम कारोबारका लागि प्रयोग भएका बैंकको सिस्टम ह्याक भएर रकम झिकिएको हुनसक्ने प्रहरीको अनुमान छ।

अहिलेसम्म कृषि विकास बैंक र पानस रेमिट ह्याक भएर रकम झिकिएको खुलासा भइसकेको छ। बैक अफ काठमाडौं, प्रभु, मेगा, हिमालयन, सनराइज, सिजिटन, नविल, माछापुछ्रे, एसबीआइ, नेपाल बंगलादेश, ग्लोबल आइएमइ, एनआइसी एसिया, स्ट्यान्डर चार्टर्ड, एनएमबी, सिद्धार्थ, लक्ष्मी बैक तथा लुम्बिनी विकास बैंकबाट यिनीहरुले कारोबार गरिएको देखिएकाले ती सबैमा ह्याकिङको सम्भावना रहेको प्रहरीको अनुमान छ।

विदेशमा रहेर काले भनिने नाइजेरियन पिटर र स्मिथ मोरिसले नेपालमा एजेन्ट खडा गरी ठगी गर्दै आएका छन्। ह्याकिङमा पनि यिनीहरुकै कनेक्सन देखिएको हो।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!