श्रीकृष्ण मा.विको नव निर्मित भवनको उद्घाटन

- December 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चन्द्रागिरि नगरपालिका वार्ड नं १, दहचोकमा अवस्थित श्री कृष्ण माध्यामिक विद्यालयको नवनिर्मित तीन वटा भवनको आइतबार उद्घाटन गरिएको छ ।  विद्यालयद्वारा आयोजित एक भव्य समारोहका बीच नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीको आधार सुत्रनै शिक्षा भएको बताएका छन् । उहाँले  भन्नुभयो  ‘शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना हुँदैन ।’मन्तव्यकै क्रममा उहाँले सरकारले प्रविधिमैत्री व्यवसायीक शिक्षा उपलब्ध गराउने योजनासहित व्यवसायीक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुनेगरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागिएको जानकारी दिनुभयो ।

यसैगरी काठमाडौं क्षेत्र नं ९ का तर्फबाट संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठले सरकारी विद्यालय निम्न वर्गिय विद्यार्थीहरुका लागि मात्र स्थापित हुँदै गइरहेकोले सरकारी कर्मचारी, जनप्रतिनिधि र शिक्षक शिक्षिकाको छोराछोरीहरुलाई पनि अनिवार्य रुपमा समुदायिक विद्यालयमा पढाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले सामुदायीक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै  प्राविधिक शिक्षा तर्फ पनि आफु केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

उद्घाटन समारोहमा राष्ट्रिय सभाका सदस्य रामनारायण विडारी, संघीय संसद सदस्यहरु अञ्जना विसंखे, अमृत थापामगर, विना श्रेष्ठ, तत्कालीन संविधानसभाका सदस्य रुपा महर्जन, ३ नं प्रदेश सभाका सदस्यहरु  केशव पोखरेल, रमा आलेमगर, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मी, वडाध्यक्षहरु राजेन्द्र के.सी, गोपी सुर्खेती, उत्तम राउत, कलाकार दीपकराज गिरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्नुभएका दीपकराज गिरी, रामबहादुर गिरी, बच्चुराम घिमिरे, उमेश गिरी, दीपकराज रेग्मी, अनिल लुईंटेल, सुरेन्द्र खड्का, नारायण खत्री, दहचोक युवा समुह लगायतलाई धन्यवाद सहित सम्मान प्रदान गरिएको थियो । चन्दा दाताहरुलाई सोही समारोहमा प्रमुख अतिथि पुष्पकमल दाहाल प्रचण्डले सम्मानित गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सभापति समेत रहेका अधिवक्ता शशिकुमार गिरीले अतिथि एवं शुभेच्छुकहरुलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!