सरकारको निर्देशनलाई अटेर गर्दै क्यासिनो सञ्चालक (प्राइम टिभीबाट भिडियो साभार)

- December 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नविकरण शुल्क लामो समयदेखि बुझाएका छैनन् । सरकारले पटक/पटक बक्यौता रकम बुझाउन पत्रचार गर्दासमेत क्यासिनो संचालकले चासो दिएका छैनन् । सरकारले पनि कडाइका साथ शुल्क असुली प्रक्रिया अघि बढाउन सकेको छैन । सरकारले क्यासिनो नियमावली २०७० जारी गर्नु अगाडि र त्यसपछि सञ्चालन भएका अधिकांश क्यासिनोबाट रोयल्टी, राजस्व रकम र नविकरण शुल्क संकलन गर्न सकेको छैन । सरकारले क्यासिनोबाट उठाउनु पर्ने बक्यौतामात्रै २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुगेको पर्यटन विभागले जनाएको छ । जसमा २०७२ साल अगाडिको बक्यौता एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको छ । यो २०७२ चैत मसान्तसम्ममा महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको केन्द्रीय तहसील कार्यालय अर्थात कुमारी चोकमा पुगेको बक्यौता रकम मात्र हो । पर्यटन विभागले २०७२ मा क्यासिनो सञ्चालनबाट रकम असुलीका लागि भन्दै तहसिल कार्यालयको सहयोग लिई कडा कारबाही गर्ने अन्तिम तयारी गरेको अन्तिम तयारी गरेको छ । तहसिल कार्यालयले पनि असुली प्रक्रिया थालेको छ । तर क्यासिनो सञ्चालकहरुले कानुनी छिद्रतालाई प्रयोग गरी अदालतको शरणमा पुगेपछि रकम असुली गर्न नसकिएको पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले बताएका छन् । कुमारी चोकले बाधेको बक्यौता रकममात्र १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको र विभागले कार्तिक सम्ममा तयार पारेको बुझाउनु बाँकी बक्यौता रकम पनि १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको छ । कुमारी चोकमा २०७२ चैत मसान्तसम्मको क्यासिनो बक्यौता रकम १ अर्ब १९ करोड २ लाख रुपैयाँ रहेको छ । यसको ४ वर्षको जरिवाना, ब्याजको हिसाब गरेको छैन । बक्यौता बुझाउन बाँकी रिक्रिएसन सेन्टरको नाममा ५३ करोड ५० लाख रहेको छ ।

सरकारी निकायको निर्देशन र पत्रलाई समेत बेवास्ता गर्दै क्यासिनो सञ्चालकहरुको दादागिरी सरकार मौन । प्राइम टाइम टेलिभिजनमा प्रशारण

Posted by Roshan Karki on Wednesday, December 4, 2019

सोल्टी होटलको नाममा ६ करोड १३ लाख बक्यौता छ । अन्नपूर्ण होटल इन्टरनेश्नलका नाममा ११ करोड ७९ लाख, दी एभरेष्ट होटल १० करोड ३५ लाख र याक एन्ड यतिको नामका ११ करोड ८७ लाख बाँक्ी छ । त्यसैगरी दी फुलबारी रिसोर्ट पोखराको नाममा २४ करोड ६६ लाख, ह्यापी आवरका नाममा ६ करोड ९९ लाख बक्यौता रहेको छ । सरकारले बक्यौता रकमका लागि पत्र काटे पनि होटलहरुले तिर्न अटेर गर्दै आएका छन् । उनीहरु अदालतको शरणमा पुगेसँगै पुरानो १ अर्ब २५करोडभन्दा बढी बक्यौता असुली हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा थपिएको क्यासिनो बक्यौता रकममा समेत बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ४ वटा क्यासिनोको बक्यौता रकम ३६ करोड रुपैयाँ पुगेको छ । तर, आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा यो रकम बढेर ५२ करोडभन्दा बढी भएको पर्यटन विभागको रेकर्डमा उल्लेख छ । पछिल्लो समयको क्यासिनो बक्यौतामा सबैभन्दा बढी रकम ह्यापी आवरको रहेको छ । नयाँ बक्यौता मात्रै १८ करोड ५५ लाख ९४ हजार रुपैयाँभन्दाबढी रहेको छ । गिल्ट क्यासिनोको १३ करोड २८ लाख ५९ हजार रुपैयाँ बक्यौता छ । ¥याड क्यासिनोको ११ करोड र मिनि क्यासिनोको ९ करोड ३७ लाख रुपैयाँभन्दाबढी पुगेको छ ।

बक्यौता नबुझाउने क्यासिनोहरुमा नेपाल रिक्रिएसन सेन्टर प्रालिको नाममा १८ करोड ४ लाख, अन्नपूर्ण इन्टरनेशनलका तत्कालिन महाप्रबन्धक तप्तबहादुर विष्टको नाममा १४ करोड ३१ लाख, होटल एभरेष्ट इन्टरनेशनलका तत्कालिन सञ्चालक मशकुर अहमद लारीको नाममा १२ करोड ६८ लाख, होटल सोल्टीका सञ्चालक दिनेशबहादुर विष्टको नाममा सात करोड ५० लाख ९५ हजार, होटल याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफका नाममा १४ करोड ५३ लाख ९५ हजार, नेपाल रिक्रिएसन सेन्टर प्रालिका सञ्चालक राकेश बाधवाको नाममा ६५ करोड ५० लाख ८६ हजार, ह्यापी आवर प्रालिका सञ्चालक गोकर्ण लामिछानेको नाममा ५ करोड ९८ लाख ८३ हजार र दि फूलबारी प्रालिका सञ्चालक पियुषबहादुर अमात्यको नाममा तीन करोड २० लाख क्यासिनो बक्यौता असुली हुन बाँकी रहेको कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालयले बाधेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!