धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार, कर घटाउन पुनरावलोकन गरिने

- December 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इटहरी । धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार कार्यभार सम्हालेका छन् । उनले धरान १६ मा रहेको गणेशमान सिंह र धरान–१९ स्थित तत्कालिन मेयर तारा सुब्बाको शालिकमा माल्यार्पण गरेपछि उपमहानगरपालिका कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।

२०४७ देखि नेपाली कांग्रेसमा क्रियाशिल रहेका उनी २०५४ सालमै स्थानीय तहको निर्वाचनमा वडा नं. १८ को सदस्य पदमा उम्मेदवारी दिए । २०५४ सालमा नेविसंघ धरानको सचिवको जिम्मेवारी पाएका राई २०५५ मा तरुण दल धरान नगर समिति सदस्य बने । उनको राजनीतिक यात्रा २०५७ सालपछि अझ सशक्त बन्यो उनी तरुण दल नगर अध्यक्ष बने ।

वि.सं. २०६२ सालमा नेपाली कांग्रेस नगर सचिव हुँदै २०६६ सालमा सम्पन्न १२ औं महाधिवेशनमा धरान सभापति भए । गत २०७४ मा पनि उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका राईले अहिले निर्वाचित भएपछि धरानलाई भ्रष्टाचारमुक्त नगर बनाउने, भ्रष्टाचार अन्त्य गरी कर घटाउने, यहाँ रहेका धार्मिक तीर्थस्थलहरु बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, बिष्णुपादुका लगायतका ठाउँमा आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउने बताउँदै आएका छन् ।

बुधबार कार्यभार सम्हालेपछि राईले सञ्चारकर्मीसँग भने, ‘उपमहानगरपालिकाको करलाई व्यवहारिक र वैधानिक बनाउनका लागि हामीले बोलेको कुरा सदर गरेका छौँ, यसका लागि राजनीतिक दलका साथीहरुले पनि साथ दिनुभएको छ ।’ राजनीतिक दल र नगरबासीको भावना अनुसार कर पुनरावलोकन गरेर यसलाई कार्यान्वयन गर्ने उनको जिकिर थियो । उनले स्थानीय तहमा प्रतिपक्ष र सत्तापक्ष नहुने तर्क गर्दै सबै मिलेर काम गर्ने विश्वास दिलाए । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!