प्रचण्डले वामदेवलाई प्रधानमन्त्री बनाइदिने, तीन मन्त्रीको सुरक्षा खतरा !

- December 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, १८ मंसिर । कार्यकारी अध्यक्षको पदवी पाएपछि सत्तारुढ नेकपाका नेता प्रचण्ड पार्टी र सरकारलाई आफ्नो नियन्त्रणमा लिने गुप्त गृहकार्यमा जुट्नु भएको जानकारी प्राप्त भएको छ ।
समाचारअनुसार प्रचण्ड यतिबेला नेकपा एमालेका केही नेताहरुलाई आफ्नो पक्षमा ल्याएर केपीविरुद्ध बलियो मोर्चा खडा गर्ने अभियानमा लाग्नु भएको छ ।माधव नेपालप्रति सशंकित प्रचण्डले एमालेका नेताहरु वामदेव गौतम, भीम रावल, सुरेन्द्र पाण्डे र विष्णु पौडेललगायतलाई आफ्नो पक्षमा उभ्याउने कसरत शुरु गर्नु भएको छ ।

माधव नेपालमाथि भर पर्न नसकिने निष्कर्षमा पुग्नु भएका प्रचण्डले वामदेव गौतम, सुरेन्द्र पाण्डे, भीम रावल र विष्णु पौडेललाई मिलाएपछि आफ्नो मोर्चा बलियो बन्ने ठान्नु भएको छ ।

महासचिव विष्णु पौडेलले केपीको टिममा रहँदा रहँदै पनि आफूलाई सहयोग पुर्याएकोले ईश्वर पोखरेललाई टिममा ल्याएर विष्णु पौडेललाई चिढ्याउने पक्षमा प्रचण्ड नरहनु भएको बुझिन्छ ।

वामदेव गौतम जतिबेला जसका विरुद्ध पनि प्रयोग उपयोग हुन सक्ने भएकोले केपी ओली र आवश्यक परे माधव नेपालका विरुद्ध समेत प्रयोग गर्न प्रचण्डले उहाँलाई आफ्नो काबुमा लिइसक्नु भएको छ ।

वामदेवलाई पदीय प्रलोभन दिएर आफ्ना पक्षमा उभ्याउन सकिन्छ भन्ने राम्रोसँग बुझ्नु भएका प्रचण्डले गौतमलाई प्रधानमन्त्री बनाइदिने विश्वास मंसिर नलाग्दै दिलाउनु भएको थियो ।

आगामी फागुनको पहिलो साता राष्ट्रिय सभाका डेढ दर्जनभन्दा बढी सदस्यहरुको पद रिक्त हुँदैछ । प्रचण्डले वामदेवलाई राष्ट्रिय सभा सदस्य चयन गरी संविधान संशोधन गरेर प्रधानमन्त्री बनाइदिने वचन दिनु भएको छ ।

मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिने सचिवालय बैठक (मंसिर १ गते) मै प्रचण्डले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान र संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउन सकिने किसिमले संविधान संशोधन गर्ने प्रस्ताव राख्नु भएको थियो ।

प्रचण्डले यस्तो प्रस्ताव ल्याउनुको रहस्य बुझेर पनि केपी ओलीले उक्त प्रस्तावमा असहमति जनाउनु भएको थिएन ।

वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्न वामदेवपत्नी तुलसाबाहेक कुनै पनि सांसद तयार हुँदैनन् भन्ने जानकारी प्रचण्डलाई नभएको होइन ।

तर, यसो गर्दा वामदेव केपीबाट धेरै टाढा तथा आफूसँग निकट बन्ने विश्वासका साथ प्रचण्डले यस्तो खेलमा उहाँले एकस्तरको सफलता पनि पाइसक्नु भएको छ ।

अब प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभ गर्नु भएपछि प्रचण्डबाट वामदेवलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधन गरी उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टी बैठकमा विधिवत् राखेर निर्णय गराउन प्रयास हुने प्रबल सम्भावना छ ।

ज्ञातव्य छ, विद्यमान संवैधानिक प्रावधानअनुसार प्रतिनिधि सभाका सदस्य मात्र देशको प्रधानमन्त्री बन्न सक्नेछन् । राष्ट्रिय सभा सदस्यलाई मन्त्री बन्न बन्देज नभए पनि प्रधानमन्त्री बन्न सक्ने संवैधानिक प्रावधान छैन ।

तीन मन्त्रीको सुरक्षा खतरा !
नेपाल सरकारका केही मन्त्रीहरु सुरक्षा खतरामा परेको जानकारी प्राप्त भएको छ । सरकारको सुरक्षा संयनत्रले विप्लव नेतृत्वको नेकपाबाट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डनिकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको बुझिएको छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमनन्त्रीका सल्लाहकार विष्णु रिमाल ‘टार्गेट’ मा परेको सूचना सरकारी संयन्त्रले पाएको हो ।

सुरक्षा निकायले विप्लव नेतृत्वको नेकपा मन्त्रीहरुको हत्या गर्ने योजनामा रहेको सूचना सरकारलाई दिएको छ । तर, विप्लव नेतृत्वको नेकपा नै यस्तो योजनामा रहेको पुष्टि भने कतैबाट पनि हुन सकेको छैन ।

यद्यपि शंकास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी मिलेको छ । मन्त्रीको हत्या योजनामा संलग्न हुन सक्ने ठानिएका अन्य केहीको खोजी भइरहेको बुझिएको छ,  घटना र विचारमा उल्लेख छ ।

मन्त्रीहरुमध्ये सबैभन्दा बढी खतरा गोकुल बाँस्कोटालाई रहेको निचोडमा सुरक्षा संयन्त्र पुगेको बुझिए पनि खतरामा रहेकाहरुको सुरक्षाका निम्ती कुनै ठोस पहल लिएको पाइएको छैन ।

हमलाका योजनाकारहरु विप्लव समूहसम्बद्ध भनिए तापनि अरु नै कुनै आपराधिक गिरोहले विप्लवको नाममा आफ्नो गतिविधि संचालन गरेको हुन सक्ने पनि ठानिएको छ । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!