मन्त्रालयमा व्यापारी राज्यमन्त्रीको रमिता ! मन्त्रीसँग पौंठेजोरी खेल्दै खरेल

- December 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, १६ मंसिर । मन्त्रीमण्डल पुनर्गठनपछि सबैभन्दा बढी ताहुरमाहुर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले प्रदर्शन गरेका छन् ।

पदबहालीमा श्रीमतीसहित लिएर गएको होस् वा पत्रिकामा सम्माननीय भनेर बधाइ हाल्न लगाएको विषयमा होस् सेञ्चुरी मसलाका साहु दुगड विवादमै छन् ।

उनले राज्यमन्त्री भएको समेत बिर्सेर मन्त्रालयका सहसचिवदेखि सचिवसम्मलाई यो भएन र ऊ भएन भनेर करकर गर्ने गरेका छन् ।

उद्योगमन्त्री लेखराज भट्ट हुन् भन्ने पनि बिर्सिएर दुगडले व्यापारी बोलाउँदै भेटेर सुझाव लिने, यो हुनुपर्यो, त्यो हुनुपरयोा भनेर कर्मचारीलाई बोलाउँदै निर्देशन दिने गरेका छन् ।

उद्योग मन्त्रालय उद्योगी व्यापारीको अड्डा होइन्, मन्त्रालय हो भन्ने समेत उनले बिर्सिएर मेला लगाउन थालेकोमा कर्मचारी नै वाक्क हुन थालेका छन् ।

राज्यमन्त्री दुगडले पदबहाली गरेदेखि नै आफ्नो कार्यकक्षका फर्निचरदखि सबै स्तरीय नभएको गुनासो मात्र गरेका छैनन्, वाणिज्य सचिव बैकुण्ठ अर्यालाके कार्यकक्ष ताक्न थालेका छन् ।

उनले मन्त्रालयमा छिरेदेखि नै टेबुल, कुर्सी सबै फेर्नुपर्ने कचकच गर्न छाडेका छैनन् । जुन कचकचले कर्मचारीहरु नै आजित हुन पुगेको खबर छ ।

२०७६ मंसिर ५ गते उनी हैसियत नै बिर्सेर सचिव यामकुमारी खतिवडाको कार्यकक्षमा गएका थिए । राज्यमन्त्रीले सचिवलाई बोलाउने हो तर उनी आफैं हैसियत नै बिर्सेर गएका थिए ।

कार्यकक्ष र फर्निचरको बारेमा गुनासो गर्दै आएका दुगड कार्यकक्ष हेर्न पो गएका हुन् कि भन्ने चर्चा पनि उद्योग मन्त्तालयका कर्मचारीहरुले गरे । उद्योग मन्त्रालयमा दुई वटा कोठा मात्र मन्त्री र राज्यमन्त्रीले प्रयोग गर्दै आएका थिए ।

तर, भट्ट र दुगड मन्त्री र राज्यमन्त्रीका रुपमा आएपछि एउटा तल्ला सिंगै प्रयोग हुन थालेको छ । एउटा तल्ला सिंगैले नपुगेर राज्यमन्त्री दुगडले सचिव अर्यालको कोठामा सार्न दबाब दिइरहेका छन् । प्रशासनका सहसचिव रामचन्द्र ढकाललाई सचिव अर्यालको कार्यकक्ष मिलाउन उनले दबाब दिइरहेका छन् ।

यसैबीच, मन्त्री भट्टले आफ्नै पैसामा निवासमा सोफा, कार्पेट, पर्दा हालेको गुनासो मन्त्रालयका महाशाखा प्रमुखहरुसँग गरेका छन् ।

मन्त्री भट्टकी श्रीमतीले भइरहेका फर्निचर, पर्दा नफेरे निवासमा नजाने भनेपछि उनले आफ्नै खर्चमा फेरिएको गुनासो गरे । अर्कोतिर राज्यमन्त्री दुगडले भने यो भएन, त्यो भएन भनेर गुनासो गरिरहेका छन् ।

संस्थानका नियुक्तिको विवरण माग
राज्यमन्त्री दुगडले संस्थाहरुमा के कति राजनीतिक नियुक्ति गर्न बाँकी छ, त्यसको समेत विवरण माग गरेका छन् । निकटहरुलाई नियुक्तिका लागि उनले रिक्त विवरण मागेका छन् ।

सचिवालयका सबै बाहिरिए
यसअघिका मन्त्री मातृका यादवले राखेका स्वकीय सचिवालयका कर्मचारीहरु त बिदा हुने नै भए, सचिवालयका सरकारी कर्मचारीहरु पनि बाहिरिएका छन् । यादव मन्त्री हुँदाका सचिवालयका उपसचिव बैकुण्ठ सापकोटाले मन्त्री भट्टसँग अनुनय विनय गरी थमौतीमा परेका छन् ।

उपसचिव सापकोटाले मन्त्रीको सचिवालयमा बसेर शाखा अधिकृत र उपसचिवहरुलाई किन यो पत्र काटेको भनेर थर्काउने गर्दै आएका थिए । सचिवको निर्देशन अनुसार पत्र काटेको जवाफ दिँदा पनि उनले किन काटेको भनेर तनाव दिने गरेका थिए ।

सचिवको निर्देैशन किन मानेको भन्दै शाखा अधिकृत र उपसचिव थर्काउँदै आएका सापकोटा उद्योग विभागमा सरुवा हुन लागिरहेका छन् । उपसचिव कृष्ण बस्याल वन तथा वातावरण मन्त्रालयमा जाने दाउमा भएकाले सापकोटा त्यहाँ जान खोजिरहेको कर्मचारी स्रोत बताउँछ ।

मन्त्रीसँग पौंठेजोरी खेल्दै खरेल
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल यतिबेला चर्चामा छन् । आर्थिक रुपमा अपारदर्शी मात्र होइन निगम व्यवस्थापनमा असफल खरेल दोहोरिएर आए पनि विवादबाट मुक्त हुन सकेको छैनन् ।

निगमलाई गति दिनभन्दा पनि डुबाउने खेलमा लागेका खरेल खासमा निजी वायुसेवा कम्पनी यति एअरलाइन्स र हिमालय एअरलाइन्सको सेवामा लागेका आरोप छ । त्यसले गर्दा निगम नाफामा भन्दा अर्बौं घाटामा सञ्चालन भइरहेको छ ।

अनुमति पाएर पनि चीनको गोञ्जाओमा उडान गर्न नसकेका खरेल उडान गर्ने हतारोमा पनि देखिएका छैनन् । त्यतिमात्र होइन जापानको उडानमा पनि अध्यक्ष खरेल विवादमुक्त बन्न सकेनन् । जहाँबाट उडान गर्दा निगमलाई फाइदा हुँदैन त्यहीँ क्षेत्रबाट उडान गर्ने प्रयासमा लागे र गराई पनि छाडे ।

जसले गर्दा अहिले निगमको जापान–नेपाल उडान घाटामा सञ्चालन भइरहेको छ । जापानको प्रमुख गन्तव्य जहाँबाट जापानी र नेपालीहरु जापान–नेपाल आउन जान सक्छन् र धेरै हुन्छन् त्यहाँ उडान गर्नुको सट्टा जापानकै अर्को विमानस्थल ओसाका क्षेत्रबाट उडान गरेका छन् ।

हिराचन ओसाकाबाट उडान गर्ने प्रयासमा थिए । कार्यकारी अध्यक्ष खरेलले साथ दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नारिताबाट उडान किन नगरेको भने हप्काउँदा पनि अध्यक्ष खरेलले टेरपुच्छर लगाएनन् । जसले गर्दा विमानले घाटा खाइरहेको छ ।

पहिला नेपाल–जापान उडानका क्रममा चीनमा ट्रान्जिट बनाइएको थियो । त्यसो हुँदा विमानले घाटा ब्यहोर्नु परेको थिएन । अहिलेको सीधा उडान जहाँबाट यात्रु कम छन् त्यहीँ उडान गरेर करोडौं घाटा व्यहोरिरहेको छ ।

त्यसमा खरेल कतिसम्म निगम डुबाउन लागेका छन् भन्ने देखाउनलाई हिमालय एअरलाइन्सले बेइजिङ उडान गर्न सफल हुँदा निगमले प्रयास नै नगरेबाट स्पष्ट हुन्छ । चीनको गोञ्जाओमा उडान अनुमति पाएर पनि उडान भर्न सकेको छैन ।

रुची पनि देखाएका छैनन् । यसरी निगमलाई डुबाउने खेलमा लागेका कार्यकारी अध्यक्ष खरेललाई हटाउन पर्यटनमन्त्री योगेश भट्टराईले प्रयास गरेका थिए । तर, झापाका केही व्यापारी र प्रधानमन्त्री निकटकाहरुलाई परिचालन गरेर रोकिने प्रयासमा लागेका छन् ।

मन्त्री भट्टराईले सहज बर्हिगमनका लागि छोडिदिन आग्रह गरिसकेका थिए । त्यसपछि एकपटक प्रधानमन्त्रीलाई सोध्छु भनेर उम्केका खरेल झापाली शक्ति परिचालन गर्न थालेको स्रोत बताउँछ । अनि प्रधानमन्त्रीले अहिले नछोड्नु भनेको भन्दै मन्त्रीलाई समेत टेर्न छाडेका छन् ।

खासमा प्रधानमन्त्री ओली स्वयम् खरेललाई निरन्तरता दिने पक्षमा छैनन् भन्ने कुरा निगमको बारेमा सार्वजनिक रुपमै आलोचना गरेबाट स्पष्ट हुन्छ, साँघुमा उल्लेख छ ।

सुरुमा केही प्रभाव देखाएका खरेलले काम नगरेको बुझाइमा प्रधानमन्त्री पनि रहेको स्पष्ट हुन्छ । प्रधानमन्त्रीको ग्रिन सिग्नलपछि मन्त्री भट्टराई अहिले खरेललाई हटाउने अभियानमा लागेको स्रोत बताउँछ ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!