नेकपाको नयाँ तुरूप: धरान उपमहानगरको मेयरमा नेपाली काँग्रेस विजयी

- December 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, १६ मंसिर । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका गरी रिक्त ५२ पदमा भएको उपनिर्वाचन परिणाम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पोल्टामा पुगेको छ ।

विगतमा पराजय व्यहोरेका धेरै स्थानमा नेपाली कांग्रेस विजयी बनेको छ । सत्तारुढ नेकपाले विगतमा चुनाव जितेका भक्तपुर र धरान उपमहानगरपालिका लगायतका धेरै स्थान गुमाएको छ ।

प्रतिनिधिसभाको एक र प्रदेश सभाका तीनवटा क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको हो । यी चारवटैमा वितगमा नेकपाले चुनाव जितेको थियो ।

तर उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २१० मत पाएका छन् । यसअघिको निर्वाचनमा नेकपाका उम्मेदवारले ११ हजार र कांग्रेसका उम्मेदवारले आठ हजार मत प्राप्त गरेका थिए ।

यसैगरी, स्थानीय तहअन्तर्गतका ४८ वटा पदमा भएको निर्वाचनमा पनि नेपाली कांग्रेसले उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

विगतमा यी ४८ स्थानमध्ये १२ स्थान नेपाली कांग्रेसले ४१ स्थान तत्कालीन नेकपा एमाले र माओवादीले तथा चार स्थान विभिन्न पार्टीले जितेका थिए ।

तर  विगतमा १२ स्थान जितेको नेपाली कांग्रेसले यसपटक १४ स्थान हात पारेको छ । सत्तारुढ नेकपा ४१ स्थानबाट झरेर ३८ स्थान मात्रै हात पार्न सफल भएको छ ।

रोचक कुरा के छ भने विगतमा एमालेले र माओवादी छुट्टाछुट्टै चुनाव लड्दा पनि स्थानीय तहका कतिपय स्थानमा कांग्रेस पराजित भएको थियो ।

तर यसपटक एमाले र माओवादी एकीकरण भई कम्युनिस्ट पार्टीका रूपमा एकजना उम्मेदवार उठाउँदा पनि नेपाली कांग्रेसले चुनाव जितेको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा नेपाली कांग्रेसका उम्मेदवार  शोभाकर खनाल एक हजार ५९ मत ल्याएर विजयी भएका छन् । यसअघि यो वडामा एमालेका उम्मेदवारले चुनाव जितेका थिए भने माओवादीका उम्मेदवारले तेस्रो पोजिसन ल्याएका थिए ।

दाङको घोराही नगरपालिका–१६ मा नेपाली कांग्रेसका ताराबहादुर डीसी १२१८ मत ल्याएर विजयी बनेका छन् । यसअघि एमाले पहिलो र माओवादी तेस्रो बनेको थियो ।

यसैगर, मोरङको धनपालथान गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नारायणप्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि पार्दै जित निकालेका हुन् । नेकपाका मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए । यसअघि यो वडा  एमालेले जितेको थियो ।

भरतपुर महानगरपालिका–१६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका–४ मा देवबहादुर बस्नेत, ५ वडामा प्रतिमा कार्की विजयी हुँदा सत्तारुढ दलले एउटा वडामा पनि जित्न सकेनन् ।

खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिस्पर्धी नेकपाका वेदबहादुर अधिकारीलाई हराएका हुन् । बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रभाव क्षेत्रको रूपमा प्रचारित चितवनको खैरहनी नगरपालिका–५ मा कांग्रेसले जितेको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई हराएकी हुन् । उनले आफ्नी प्रतिस्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।

रौतहटको गढीमाई नगरपालिका–२ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ७७१ मत ल्याएर विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार जवार मियाले ५९६ मत ल्याए ।

समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका दिनेश दासले एक सय २२ मत ल्याए । २०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वाचित वडाअध्यक्ष जोगी दास तत्माको मृत्यु भएपछि उक्त वडामा निर्वाचन भएको हो ।

नेकपाको नयाँ तुरूप
यो उपनिर्वाचनलाई धेरैले मिनी जनमतसंग्रहका रूपमा विश्लेषण गरे पनि सत्तारुढ दल नेकपा तथा राजपाले दिवंगत पदाधिकारीका विधवालाई उमेदवार बनाएका कारण मिनी जनमतसंग्रह हुन सकेन ।

दिवंगत पदाधिकारीका विधवा उम्मेदवार नभएका अधिकांश ठाउँमा सत्तारुढ नेकपाले चुनाव हारेको छ । दिवंगत पदाधिकारीका विधवालाई राजनीतिक दलहरूले तुरूपको रूपमा प्रयोग गर्दै उम्मेदवार बनाउने सिलसिला नेपालको राजनीतिमा लामो समयदेखि जारी छ, तरुणमा उल्लेख छ ।

२०५० सालमा काठमाडौं–१ मा भएको उपनिर्वाचनमा  एमालेले दिवंगत नेता मदन भण्डारीकी श्रीमतीलाई तुरूपका रूपमा प्रयोग गर्दै नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई चुनाव हराएको थियो ।

यसपटक कास्की र दाङमा सत्तारुढ नेकपाले त्यही तुरूप प्रयोग गर्यो । त्यसैले दाङ र कास्कीमा मिनी जनमतसंग्रह हुन पाएन । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!