किर्ते सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्रहरु बनाउने कार्यमा संलग्न तीन जना पक्राउ

- November 29, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, १३ मंसिर : नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्रहरू बनाउने ३ जनालाई काठमाडौंको विभिन्न स्थानको फोटो स्टुडियोबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुङ्गा रानीवन-७ का काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने ३४ वर्षीय सविन कुमार तोलाङ्गी, चितवन रत्ननगर नगरपालिका-१६ पिठुवाका काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने स्टार डिजिटल फोटो स्टुडियोका संचालक ३४ वर्षीय अमृत सुर्खेती र धादिङ निलकण्ड नगरपालिका-९ का काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने दुवाडी डिजिटल फोटो स्टुडियोका संचालक २६ वर्षीय मधु सुदन दवाडी रहेका छन् ।

नक्कली सरकारी कागजातहरू, शैक्षिक योग्यताको प्रमाणपत्रहरू, सवारी चालक अनुमतीपत्रहरू लगायतका सरकारी कागजातहरू किर्ते रुपमा बनाई सर्वसाधारणबाट रकम असुल गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई विभिन्न समानहरु सहित पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरी प्रधान कार्यालयको लेटरप्याडमा तयार भएको पुलिस रिपार्टहरू, +२ को एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेटहरू, सशस्त्र प्रहरी बल बंगलामुखी बिशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हातहतियार तालिम, बिशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाणपत्र, विभिन्न विद्यालयहरूको डिस्ट्रिक लेभवल ईग्जामिनेसन एजुकेशन वोर्डको मार्कसिट तथा शैक्षिक प्रमाणपत्रहरू, नेपाली सेनाले प्रदान गरेको To whom it may concern को पत्र, विभिन्न महानगरीय प्रहरी वृत्तहरूको लेटरप्याड तथा To whom it may concern लेखेका पत्रहरू, विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट जारी अंग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्रहरू, काठमाडौं महानगरपालिकाको सहिछाप गरेको खाली लेटरप्याड, वडा कार्यालयको सिफारिसपत्र, पार्टी कार्यालयहरूका लेटरप्याडहरूमा लेखिएका पत्रहरू, बैंक स्टेटमेण्ट, मेडिकल रिपोर्ट, स्थायी लेखा नम्बरको प्रमाणपत्र बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई लिखत सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद  २५ लिखत सम्बन्धी कसूर अन्तर्गत दफा २७६ विपरीत कसूर भएको हुँदा ऐ. २७६(३ को ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने र यो कारवाही अभियान जारी रहेकोले यस्तो गैरकानूनी कार्य गर्नेलाई मात्र नभई गर्न लगाउनेलाई पनि कारवाही हुने उक्त व्यूरोले जनाएको छ । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!