प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलासिस, स्वास्थ्यमा सुधार

- November 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, १२ मङि्सर : प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि सुरु गरिएको डायलाइसिस प्रक्रिया बुधबार पुनः गरिएको छ। रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको चिकित्सकले जनाएका छन्।

यो उनको पाँचौ पटकको नियमित डायलासिस प्रक्रिया हो। महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार साँझ डायलासिस गरिएको हो। यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो।

एक महिनाको अवधिमा प्रधानमन्त्री ओलीको पाँच पटक डायलासिस गरिएको छ।  उनको उपचारमा संलग्न चिकित्सकीय टोलीका संयोजक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. अरुण सायमीका अनुसार बुधबार तीन बजेदेखि डायलासिस सुरु गरिएको थियो। डायलासिसको अवधि झण्डै पाँच घण्टाको हुन्छ। डायलासिस गरेपछि प्रधानमन्त्री ओलीले सुप खाएका थिए। बुधबार मध्यान्हमा उनले कालो चिया पिएका थिए।

शल्यक्रियाको साँझ थेरापी

प्रधानमन्त्री ओलीलाई मंगलबार मध्यान्ह एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको थियो। शल्यक्रियाका क्रममा जेनरल एनेस्थेसिया (बेहोस गराउने प्रक्रिया ) अपनाइएको थियो। उच्च चिकित्सकीय निगरानीका साथ सघन उपचार कक्ष (आईसीयु)मा भेन्टिलेटरसहित राखिएको उपचार टोलीका संयोजक डा.सायमीले बताए।

शल्यक्रियाको गरेपछि प्रधानमन्त्री ओलीलाई मंगलबार साँझ पनि सीआरआरपी (कन्टिन्युअस रेनल रिप्लेसमेन्ट थेरापी) गरिएको थियो।‘यो थेरापी डायलासिस जस्तै काम गर्ने हो। ठ्याक्कै डायलासिस होइन।’ डा. सायमीले अन्नपूर्ण अनलाइनलाई भने। बुधबार पाँचौ डायलासिसपछि प्रधानमन्त्री ओलीले साँझ सुप खाएर आराम गरे।

किन गरिन्छ, डायलासिस ?

मिर्गौला बिग्रेपछि बाँच्नका लागि दुईवटा मात्र उपाय छन्, डायलासिस र प्रत्यारोपण। बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार, डायलासिस मेसिनको सहायतामा रगतको शुद्धिकरण गर्ने प्रक्रिया हो। डायलासिस बाँचुन्जेल गरिरहनुपर्छ।

डायलासिसभन्दा प्रत्यारोपण उपचार विधि राम्रो मानिन्छ। प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए। ०६४ सालमा प्रधानमन्त्री ओलीलाई अन्जान घिमिरेले मिर्गौला प्रदान गरेकी थिइन्। प्रत्यारोपण गरेको मिर्गौलाले सुचारु रुपले काम गर्न सकोस् भन्ने उद्देश्यले प्रधानमन्त्री ओलीले नियमित औषधि सेवन गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले  कहाँ के /के गरे ?  

मंसिर १० गते सीआरआरपी ( कन्टिन्युअस रेनल रिप्लेसमेन्ट थेरापी)  : मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर,महाराजगन्ज
मंसिर ११ गते  (डायलासिस )  : मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर,महाराजगन्ज
मंसिर ८  गते  ( डायलासिस)  : ग्राण्डि इन्टरनेशनल अस्पताल,धापासि
कात्तिक ३० गते   ( डायलासिस)   : ग्राण्डि इन्टरनेशनल अस्पताल,धापासि
कात्तिक १४  गते  (डायलासिस)   : ग्राण्डि इन्टरनेशनल अस्पताल,धापासि
कात्तिक १३ गते  ( डायलासिस)   : ग्राण्डि इन्टरनेशनल अस्पताल,धापासि


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!