नेपाल-भारत सीमा सुरक्षा बैठक : कालापानी किन एजेन्डा बनेन ?

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा : भारतले नेपालको कालापानी मिचेकोमा नेपाली तीब्र आक्रोशित भएका बेला नेपाल-भारत सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बुधबारसुरु भएको छ। तर सीमा विवाद उक्त बैठकको एजेन्डा होइन। बैठकमा दुईतर्फका उच्च सुरक्षा अधिकारी सम्मिलित छन्। उनीहरुले पूर्वनिर्धारित सुरक्षा एजेन्डामाथि छलफल गरेका छन्। 

तीन महिनाअघि नै निर्धारित एजेन्डा सीमावर्ती अपराधलाई नियन्त्रण, हातहतियार ओसारपसारमा रोकावट, लागुऔषध तथा मानवतस्करी नियन्त्रण विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए। ‘सीमा विवादबारे छलफल गर्ने आधिकारिक व्यक्ति हामी होइनौं,’ उनले भने, ‘सरकारले वार्ता गर्ने र सीमा यहाँसम्म हो भनेपछि हामीले सुरक्षा दिने हो, हाम्रो बैठकमा सीमा विवादको एजेन्डा हुने कुरा भएन।’

सीमामा सम्भावित अपराध नियन्त्रणमा कसरी समन्वय र सहयोग आदानप्रदान गर्ने भनेर छलफल गरिएको डिआइजी श्रेष्ठले बताए। बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारततर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक (डिजी) कुमार राजेश चन्द्राले नेतृत्व गरेका छन्। नेपालको परराष्ट्र र गृह मन्त्रालय, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी पनि सम्मिलित रहेको जानकारी डिआइजी श्रेष्ठले दिए।

सीमामा सुरक्षा बन्दोबस्ती अझै बलियो बनाउनेबारे छलफल केन्द्रित रहेको उनले बताए। पहिला भएका कामको समीक्षासमेत बैठकले गरेको छ। ‘दसैंतिहारका बेलामा सीमा क्षेत्रमा राखिएको संयुक्त हेल्प डेस्क निकै प्रभावकारी भयो, यसलाई निरन्तरता दिने कुराकानी गरेका छौं,’डिआइजी श्रेष्ठले भने।

भारतीय सीमा सुरक्षाको बलको तालिममा नेपालको सशस्त्र प्रहरी र यताको तालिममा उताको बलका प्रहरी सहभागी गराउनेबारे पनि छलफल गरेको जानकारी श्रेष्ठले दिए।

पोखरा दोबिल्लाको माउन्ट ग्लोरी होटलमा सुरु बैठककोसमापन भने ६ गते काठमाडौंमा हुनेछ। पहिलो चरणको बैठक बुधबार दिउँसो नै सकिएको छ। बैठक सकेर संयुक्त टोलीले पोखराको पर्यटकीय क्षेत्रको भ्रमण गरेको थियो। बिहीबार कुरिनटारस्थित सशस्त्रको तालिम केन्द्र अवलोकन गरेी टोली काठमाठौं पुग्नेछ।

बैठकमा उठेका विषयलाई दुवै देशका सुरक्षा संयन्त्रले आआफ्नो देशको गृहमन्त्रालयमा जानकारी गराइसकेका छन्। मन्त्रालयबाट आवश्यक परिमार्जनसहित आएपछि माइन्युट गरेर औपचारिक रुपमा बैठकको समापन गरिने प्रवक्ता डिआजी श्रेष्ठले जानकारी दिएका छन्। यसअघि सीमा सुरक्षा बैठक भारतको नयाँ दिल्लीमा भएको थियो। साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!