बालुवाटार बैठक : नयाँ मन्‍त्रिपरिषद्को घाेषणा

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, ०४ मङि्सर: मन्‍त्रिपरिषद् पुनर्गठनबारे निर्णायक छलफल गर्न नसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालवाटारमा सुरु भएको छ। यो बैठकले नयाँ मन्‍त्रिपरिषद्को टुंगो लागेपछि आजै घोषणा हुने संभावना छ। नयाँ मन्‍त्रीहरुको आजै शपथग्रहण गर्ने तयारी भइरहेको छ।

सचिवालय बैठकअघि दुवै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड शितलनिवास पुगेर मन्‍त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए। ओली र प्रचण्ड बुधबार बिहान बालुवाटारमा भेटवार्ता गरेपछि सिधै शितलनिवास पुगेका थिए। मन्‍त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति भण्डारीलाई पूर्व जानकारी लिन र सहमति जुटाउन दुवै अध्यक्ष त्यहाँ पुगेको स्रोतले बतायो।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रारम्भिक सूची तयार पारिसकेका छन्। एक वर्षदेखि मन्‍त्रिपरिषद् पुनर्गठन गर्ने भनेर चर्चा चलेपनि आन्तरिक भागबन्डा र विवादका कारण अहिलेसम्म पुनर्गठन हुन सकेको छैन। पुनर्गठनको चर्चा लामो भइरहँदा मन्‍त्रीहरु अन्योलमा छन् भने मन्‍त्रालयको कार्यसम्पादसमेत प्रभावित भएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।

प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए।

नयाँ मन्‍त्री बन्‍ने सूचीमा सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, यज्ञराज सुनुवार, वसन्त नेम्वाङलगाययत छन्।

मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मालगायतलाई बिदाइ दिने तयारी छ। त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई पनि हटाउन छलफल भएको छ। तर पार्टीभित्र समीकरण मिलाउनुपर्ने भएकाले रहने र फालिने यकिन भइसकेको छैन।

महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिका ठाउँमा जनजातिलाई नै ल्याउने तयारी प्रधानमन्त्रीको छ। यसका लागि उनले अर्का अध्यक्ष दाहालसँग सहमति लिएका छन्।

नयाँ टीम बनाएर नयाँ ढंगले अघि बढ्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीको नीजि सचिवालय परिवर्तन गरिसकेका छन्। आइतबार बेलुका बसेको पार्टी सचिवालय बैठक प्रधानमन्‍त्री ओलीले नयाँ मन्‍त्रिमण्डलको खाका तयार गर्न आफू लागेको र छिटै घोषणा हुने बताएका थिए। साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!