प्रधानमन्‍त्रीले मन्‍त्रीलाई भने : मन्‍त्रिपरिषद् हेरफेर हुँदैछ, तयार रहनुहोस्

- November 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् हेरफेर हुन लागेको जानकारी गराएका छन्। 

मन्त्रिपरिषद् हेरफेरको विषयमा सञ्चार माध्ययममा आइसकेपछि मन्त्रीलाई काम गर्न अप्ठेरो परेको भन्दै प्रधानमन्त्री ओलीले बुधबार दिउँसोसम्मा मन्त्री हेरफेर हुने औपचारिक जानकारी गराएका हुन्।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेतासँगै सम्भावित मन्त्रीसँग छलफल गरेपछि मन्त्रिपरिषद् सदस्यलाई औपचारिक रुपमा जानकारी गराएका हुन्।

‘मैले मन्त्रिपरिषद् हेरफेरका विषयमा सोचिसकेको छु’, बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भने, ‘त्यसका लागि तयार रहनुहोस्।’

एक मन्त्रीका अनुसार बुधबार दिउँसो २ बजे अगाडि नै मन्त्रिपरिषद् हेरफेर हुनेगरी प्रधानमन्त्रीले तयारी गरेका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही दिनयता सम्भावित मन्त्रीसँग एकल र सामूहिक रुपमा छलफल गरिसकेका छन्।

स्रोतका अनुसार हटाउने र नियुक्त हुने मन्त्रीको नामको ड्राफ्ट तयार भइसकेको छ। प्रधानमन्त्री ओलीले केही दिनअघिमात्र कामको गति बढाउने भन्दै केही सल्लाहकार र सहयोगीलाई हटाएका थिए। केही सल्लाहकार र सहयोगी नियुक्त भए पनि केही नियुक्त हुन बाँकी नै छ।

मन्त्रीको नामलाई अन्तिम टुंगो दिन नेकपा सचिवालय बैठक बुधबार बिहान ९ बजेका लागि बोलाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!