मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ बिरामी

- November 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बैतडी, ०३ मङि्सर : बैतडीको पुर्चौंडी नगरपालिका २ जरसौंमा मरेको कुखुराको मासु खाँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका ९ जना बिरामी परेका छन् । शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए। आइतबारदेखि परिवारका १० जना बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिए । बिरामी परेका मध्ये १५ वर्षीया पुष्पा पार्कीको मंगलबार बिहान मृत्यु भएको उनले बताए।

मासु खाएपछि बिरामी भएकामा बान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएका पन्तले बताए । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिएपनि ठीक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगेको पन्तले बताए ।

महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरका अनुसार बिरामीलाई घरमै गएर औषधि दिँदा पनि बचाउन सकिएन। बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीय सपना पार्की रहेका छन् । ७० वर्षीय पार्वतीबाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको छ । अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!