चार महिनामा उठ्यो १ खर्ब ४ अर्ब राजस्व : विद्युतीय माध्यमबाट कर भुक्तान गर्दा १० प्रतिशत फिर्ता

- November 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,मंसिर १ । सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चौमासिक कात्तिक मसान्तसम्ममा कुल १ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व रकम शुक्रबारसम्म संकलन भएको हो । चालू आवमा कुल ५ खर्ब ६ अर्ब राजस्व संकलन गर्ने अख्तियारी पाएको आन्तरिक राजस्व विभागले चालू आवको बितेका चार महिनाको अवधीमा २३ प्रतिशतले राजस्व वृद्धि गरेको जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले चालू आवको बितेका चार महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताएका हुन् । उनले यस अवधिमा अपेक्षाकृत रूपमा राजस्व उठेको दाबी गरे । कुल ग्राहस्थ उत्पादन (जीडपिी) सँग तुलना गर्दा आन्तरिक राजस्वको योगदान २१.९१ प्रतिशत रहेको जानकारी गराउँदै उनले गत आवको सोही अवधिको तुलनामा औसत राजस्व वृद्धिदर २३ प्रतिशत रहेको बताए ।

यसैगरी, उनले आइतबारदेखि सुरु हुने सप्ताहव्यापी ‘आठौं राष्ट्रिय कर दिवस–२०७६’ को अवसरमा सरकारले विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेे व्यक्ति वा व्यवसायीलाई १० प्रतिशत रकम सम्बन्धित व्यक्तिको खातामा सोेझै फिर्ता गर्ने व्यवस्था गरिएको पनि जानकारी गराए । उनले करदातालाई थप आकर्षित बनाउन सरकारले यस्तो व्यवस्था मिलाएको बताए । कुनै पनि करदाताले विद्युतीय माध्यमबाट कर बुझाएमा १० प्रतिशत रकम सोझै करदाताको खातामा जाने व्यवस्था भएको जानकारी गराउँदै विभागका महानिर्देशक कुँवरले भने, ‘कार्डबाहेक चेक, ड्राफ्ट वा अन्य विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेले यो सुविधा पाउनेछन् ।’

यसैगरी, विभागले १० लाख रुपैयाँभन्दा बढीको कर भुक्तानी नगदमा नहुनेसमेत जानकारी गराएको छ । त्यसैगरी, लगातार चार महिनासम्म मिलान गरेर बाँकी रहेको रकम दर्ता रहेको व्यक्तिले एकमुष्ठ फिर्ता लैजानसमेत पाउने व्यवस्था गरेको छ । विभागका अनुसार यस्तो सुविधा लिन करदाताले निवेदन भने दिनुपर्ने हुन्छ । आगामी पुस मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिई मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भए आव २०७५÷७६ भन्दा अघिको कुनै पनि किसिमको कर बुझाउनु नपर्ने व्यवस्थासमेत गरिएको विभागले जनाएको छ ।

यस अवधिसम्म कुनै पनि व्यक्ति वा व्यवसायी मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भए सो आय वर्षभन्दा अघिको कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउनुनपर्ने व्यवस्था गरिएको समेत महानिर्देशक कुँवरले जानकारी दिए ।

विभागका महानिर्देशक कुँवरले नवीनतम सोच, सीप, उद्यमशीलता र प्रविधिको उपयोग गरी सुरु गरिएका व्यक्ति तथा व्यवसायीलाई करको दायरामा ल्याउन यस्तो सुविधा दिइएको बताए ।

विभागले भ्याट लागू भएको मिति १ मंसिरको दिनलाई हरेक वर्ष राष्ट्रिय कर दिवसको रूपमा मनाउँदै आएको छ । आइतबारको कर दिवस आठौं राष्ट्रिय कर दिवस हो । यस दिवसमा सरकारले वर्षभर सबैभन्दा बढी कर तिर्ने विभिन्न व्यावसायिक क्षेत्रका १५ जना करदाता एवं प्रतिष्ठानहरूलाई सम्मान गर्नेछ ।

सोही अवसरमा सरकारले विभाग र मातहतमा कार्यरत उत्कृष्ट १० जना कर्मचारीलाई उनीहरूले गरेको कार्यसम्पादनको आधारमा पुरस्कृत गर्नेछ । यसैगरी, मुलुकभरका सबै जिल्ला एवं प्रदेशमा धेरै कर तिर्ने करदातालाई पनि सम्मान गरिने विभागले जनाएको छ ।

८ लाख करदाता थपिए

चालू आर्थिक वर्षको पहिलो चार महिनामा ८ लाख नयाँ करदाता थपिएका छन् । विभागले दिएको जानकारीअनुसार गत आवको अन्त्यमा जम्मा २१ लाख करदाता थिए । अहिले सो करदाताको संख्या बढेर कुल २९ लाख ६५ हजार पुगेका छन् । सो करदातामध्ये २ लाख ३९ हजार ७५८ जना मूल्य अभिवृद्धि कर ( भ्याट) तर्फका करदाता हुन् । यसैगरी, सरकारले ल्याएको ‘प्यान फर अल’ कार्यक्रमबाट ७ लाख ९४ हजार नयाँ करदाता करको दायरामा आएको विभागका महानिर्देशक कुँवरले जानकारी दिए ।

उत्कृष्ट करदाता सम्मानित हुँदै

सरकारले आइतबारबाट सुरु हुने आठौं राष्ट्रिय कर सप्ताहको अवसरमा विभिन्न क्षेत्रका व्यवसायी एवं करदाताहरूलाई सम्मान गर्ने भएको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको सम्पूर्ण तयारी पूरा भएको भन्दै उत्कृष्ट करदातालाई सम्मान गर्न लागेको जनाएको हो ।

नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा विगत ८ वर्षदेखि हरेक वर्ष १ मंसिरको दिनलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ । सरकारले २०५४ सालको १ मंसिरबाट मुलुकमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो । २०६९ सालको २ कात्तिकको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष १ मंसिरमा कर दिवस मनाउने निर्णय गरेअनुरूप नै यो दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक कुँवरले केन्द्रीयस्तरमा विभागको आयोजनामा र हरेक कार्यालयमा कार्यालयहरूले कर दिवसको विशेष कार्यक्रम गर्नेछन् । यसैगरी, निजी क्षेत्रका छाता संगठनले पनि कर दिवसका विभिन्न कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए ।

विभागले कर दिवसको अवसरमा मूल्य अभिवृद्धि कर, आयकरलगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने तयारी गरेको छ । यसैगरी, सम्पूर्ण कार्यालयले पनि आफू मातहतका करदाताको सम्मान तथा जनचेतना अभिवृद्धि कार्यक्रम गर्नेछन् । ‘स्वच्छ कर प्रशासन, विकार सुशासन’ भन्ने मूल नाराका साथ यसपटकको कर दिवस मनाउन लागिएको विभागले जनाएको छ ।साभार

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!