गढीमाई मेला आजदेखि सुरु, यस्तो छ तयारी

- November 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बरियारपुर, ०१ मङि्सर  : बलीका लागि प्रसिद्ध बाराको गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक सिम्रौनगढ नगरपालिका- १ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ। मेला मंसिर महिनाभरी चल्नेछ ।

लामो समय राजनीतिक विवादमा फसेको गढीमाई मेलाका लागि केही दिन अगाडि मात्रै समिति गठन भएको थियो। मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ। मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्नेछ।

मेला समितिले मंसिर १७ र १८ गते पशुबलीको तयारी गरेको छ। पशुबलीको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ। बलीको समयमा दसौं लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा गरिएको छ। मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहाले पशुबलीको समयमा भक्तजनको धेरै भीड लाग्ने हुँदा त्यसै अनुसारको तयारी भइरहेको अन्नपूर्णलाई जानकारी दिए। ‘मेला सुरु भएपछि भक्तजनको संख्या बढ्दै जाने गरेको छ। हामी अझै पनि तयारीमै छौँ’ कुशवाहाले भने ‘अघिल्लो मेलाभन्दा थप व्यवस्थित बनाउने तयारीमा जुटिरहेका छौ ।’ एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्ने कुशवाहाको अनुमान छ।

यस्तो छ सुरक्षा रणनीति 

गढीमाई मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले विशेष रणनीति बनाएको छ। मेलामा भक्तालुको भीड बढ्दै गएपछि आवश्यकता अनुसार एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सुरक्षा समितिको छ।

बाराका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति संयोजक फणिन्द्रमणी पोखरेलले मुख्य भीड हुने समयलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताए। प्रजिअ पोखरेलले भने,‘मेलालाई सुरक्षित बनाउन माथिल्लो तहमा सुरक्षाकर्मीको माग गरेका छौं। आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ ।’ मेला अवधिभर उक्त क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरेको प्रजिअ पोखेरलले जानकारी दिए।बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले मंसिर पहिलो साता ट्राफिक प्रहरीसहित एक सय सुरक्षाकर्मी मेलाका लागि परिचालन हुनेछन्। भीड बढ्दै गएपछि मंसिर १० गतेदेखि सात सयको संख्यामा ट्राफिक प्रहरीसहित नेपाल प्रहरी खटिने राठौंरले जानकारी दिए। मेलाको सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसिटिभी क्यामरा जडान भइरहेको छ। मेलाको समयमा ड्रोनबाटसमेत निगरानी गर्ने तयारी गरिरहेको राठौंरले बताए।

यस्तो छ पशुबलीको तयारी र विरोध

मेला नजिकिएसँगै पशुबलीको पक्ष र विपक्षमा बहस भइरहेको छ। पशुको संरक्षण र अधिकारका क्षेत्रमा काम गर्दै आएका संस्थाले पशुबली नचढाउन आग्रह गर्दै अभियान चलाइरहेका छन्। तर गढीमाई मेला बलीका लागि प्रसिद्ध छ। धार्मिक आस्थासँग जोडिएको बली प्रथा नियन्त्रण गर्न भने सहज छैन। आफ्नो मनोकांक्षा पूरा भएको भन्दै भक्तालुले गढीमाईमा आफ्नो क्षमताअनुसार बली चढाउने गरेका छन्।

बलीका लागि मेला समितिले बधशालाको तयारी गरिरहेको छ। बधशाला भित्र राँगाको मात्रै बली चढाइने गरिएको छ। राँगाबाहेक अन्य पशुपंक्षीको बली मन्दिर परिसर र वरपरको क्षेत्रमा हुने गरेको छ।

दलित समुदायद्धारा सिनो बहिष्कार

दलित समुदायले सिनो बहिष्कार गर्ने निर्णय गर्दै बली चढाएका राँगाको मासु नखान अभियान चलाएका छन्। बली चढेका राँगाको मासु दलित समुदायले लैजाने गरेका थिए। दलित समुदायका अगुवाले अघिल्लो मेलामा पनि सिनो बहिष्कारको अभियान चलाएका थिए। तर यसपटक दलित समुदायको भेलाले सिनो बहिष्कार गर्ने निर्णय गरेको छ।

मेला समितिले हाट बजार, मनोरञ्जन र पार्किङको ठेक्का लगाएपनि यसपटक बली चढेका राँगाको मासुको ठेक्का लगाएको छैन। अघिल्लो मेलामा समितिले बली चढेका राँगाको ठेक्का लगाएपनि स्थानीय दलित समुदायले बली चढेका राँगा आफैले लगेका थिए। अघिल्लो मेलामा अभियान असफल भएपछि दलित समुदायका अगुवाले यसपटक महिनौं दिन अघिदेखि सिनो बहिष्कारको अभियान थालेका थिए।

पर्यटनमन्त्री गढीमाई आउने 

धार्मिक पर्यटनको मुख्य आधारको रुपमा रहेको गढीमाई मेलाको विषयमा जानकारी लिन पर्यटनमन्त्री योगेश भट्टराई मंसिर २ गते बरियारपुर आउने भएका छन्। मेला समितिका महासचिव कुशवाहाले मन्त्री भट्टराई आउने कुराले आफूहरु उत्साहित रहेको र गढीमाईको विकासका बिषयमा छलफल हुने बताए। मन्त्री भट्टराईको आगमनलाई मेला व्यवस्थापन समितिले चासोका साथ हेरेको छ ।

मन्त्री भट्टराई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बिषयमा छलफल गर्न आइतबार बारा आउदैँछन्। मन्त्री भट्टराईले विमानस्थलका लागि प्रस्तावित जीतपुर सिमरा उपमहानगरपालिकाको टांगियावस्तीको स्थलगत निरीक्षण गर्ने र कोल्हवीमा सरोकारवालासँग छलफल गर्नेछन् । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!