१५ दिनमा प्रदेश ३ को राजधानी र नाम टुंगिन्छ :  मुख्यमन्त्री पौडेल

- November 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हेटौंडा,कात्तिक २९ ।  मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को स्थायी राजधानी र नाम १५ दिनभित्र टुंगो लाग्ने बताएका छन् । आन्तरिक राजस्व विभागको आयोजनामा सिस्नुपानी नेपालले आयोजना गरेको करमैत्री यात्राको कार्यक्रमलाई हेटौंडामा बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले १५ दिनभित्रमा प्रदेशले स्थायी राजधानी र नाम पाउने घोषणा गरेका हुन् ।

करमैत्री कार्यक्रममा सिस्नुपानीका कलाकारले कहिलेसम्म प्रदेश ३ भन्नुपर्ने हो ? नामले बोलाउने दिन कहिले आउँला भन्दै व्यंग्य गरेपछि मुख्यमन्त्री पौडेलले समयसीमा नै तोकेर स्थायी राजधानी र नामका बारेमा बोलेका हुन् । यसअघि पनि पटकपटक अब स्थायी राजधानी र नाम टुंगिन्छ भनेर बोलेका पौडेलको भनाइ पूरा हुने या नहुने अबको १५ दिनमा थाहा हुन्छ ।

प्रदेश ३ को संसद् सञ्चालन नभएको एक महिनाभन्दा बढी समय भइसकेको छ । दसैंअघि चौथो अधिवेशन अन्त्य गरे पनि अहिलेसम्म सरकारले संसद्को अर्को अधिवेशनको मिति तय गरेको छैन । लामो समय काठामाडौं बिताएर हेटौंडा फर्किएका मुख्यमन्त्री पौडेलले राजधानी र नाममा सहमति जुटेकै कारण मिति तोकेको अनुमान गर्न सकिन्छ ।

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले अहिलेसम्म संसद् बैठक आह्वान नभएको बताए । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर प्रदेश प्रमुखसमक्ष पठाएपछि मात्र संसद् बैठक हुने उनले जानकारी दिए । अहिलेसम्म संसद् बैठक सुरु गर्नेबारे केही जानकारी नआएको उनले बताए । संसद्को बैठक नभए पनि समितिहरूको बैठक भने भइरहेको सभामुख श्रेष्ठले जानकारी दिए ।

करमैत्री कार्यक्रममा मुख्यमन्त्री पौडेलले सिस्नुपानीले सरकार र नेतालाई गाली मात्र गर्छ भन्ने सन्देश गएकोमा जानकारी र उपब्धिमूलक कार्यक्रम पनि गर्दो रहेछ भन्दै प्रशंसा गरे । उनले सबै जनतालाई निर्धक भएर कर तिर्न आह्वान गर्दै करमाथि बदमासी भएन या भएको खबरदारीसमेत गर्न आग्रह गरे । मुलुकलाई समृद्ध बनाउन करदाताले इमानदारी साथ कर तिर्ने र राज्यले पूर्ण सदुपयोग गर्नुपर्ने मुख्यमन्त्री पौडेलले बताए ।

कर तिर्नुपर्ने र त्यसको सदुपयोग हुनुपर्ने कुरालाई व्यंग्यात्मक रूपमा कथा, कविता र गीतमार्फत सिस्नुपानीले प्रदेश ३ का मुख्यमन्त्री, मन्त्री, प्रशासक, प्रहरी, कर्मचारी, व्यापारीदेखि करदातासमेतलाई बुझाएका थिए । उनीहरूले हँसाइहँसाइ, कर छल्नेदेखि करको हिनामिना गर्ने सम्मलाई व्यंग्य गरेका थिए । उनीहरूले कला र गलाका माध्यमबाट देश बनाउन सबैले इमानदारी साथ कर तिनुपर्ने महसुस गराएका थिए ।

कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, मनोज गजुरेल, कमलिकान्त भेटवाल, धिरेन्द्र प्रेमर्शी, सरोज घिमिरे, शिशिर योगी, अर्जुन पराजुलीलगायतले प्रस्तुति दिएका थिए ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!