हेलिकोप्टर पर्खंदा पर्खंदै सुत्केरीको मृत्यु

- November 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

म्याग्दी, २६ कार्तिक : म्याग्दीको धौलागिरी गाउँपालिका २ लुलाङ गाउँमा मंगलबार सुत्केरीको मृत्यु भएको छ। सुत्केरी भइसकेपछि अत्यधिक रक्तश्रावले ३० वर्षीया सतीकला विकको मृत्यु भएको हो। वडाध्यक्ष गमप्रसाद विकका अनुसार स्वास्थ्य चौकीमै सुत्केरी भएकी सतीकलाले जन्माएको छोराको अवस्था भने सामान्य छ। 

सोमबार राति चौकीमै सुत्केरी भएकी सतीकला सामान्य भएका कारण मंगलबार बिहान घर गएकी थिइन्। तर रक्तश्रावले बेहोस भएपछि परिवारले फेरि स्वास्थ्यचौकी ल्याएका थिए।

स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट पोखरा लैजाने प्रयास गर्दागर्दै मंगलबार दिउँसो  २ बजे उनको मृत्यु भएको वडाध्यक्ष गमप्रसादले जानकारी दिए।

गाउँपालिका अध्यक्ष थम्सरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सुत्केरी उद्धारका लागि हेलिकोप्टर मगाएकी थिइन्। ‘पोखराबाट हेलिकोप्टर उड्नै लाग्दा यता सुत्केरीको मृत्यु भयो’, वडाध्यक्ष गमप्रसादले भने। सतीकलाले सोमबार चौथो सन्तान जन्माएकी हुन्।

सुत्केरी महिलाको उद्धार गर्न गण्डकी प्रदेश सरकारले निशुल्क हेलिकोप्टर सुविधा उपलब्ध गराउँदै आएको छ। अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!