दश महीनामा पर्यटन आगमन मात्र ८% ले वृद्धि

- November 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सन् २०१९ को १० महीनामा नेपाल आउने पर्यटकको संख्या आठ प्रतिशतले मात्र बढेको छ । सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म ९ लाख ७५ हजार ५५७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ को सोही अवधिमा ९ लाख ३ हजार ५३९ जना पर्यटकले नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, अमेरिका, श्रीलंका, बेलायत, थाइल्याण्ड, जर्मनी, अष्टे«लिया, दक्षिण कोरिया र फ्रान्स रहेका छन् । पहिलो दश महीनामा भारतबाट १ लाख ६९ हजार तथा चीनबाट १ लाख ३४ हजार पर्यटक नेपाल आएको बोर्डले बताएको छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य राखेको सन्दर्भमा सन् २०१९ को पर्यटक आगमनलाई महत्वका साथ हेरिएको छ । सन् २०१८ मा ११ लाख ७२ हजार ७२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटन बोर्डको तथ्यांकअनुसार सार्क मुलुकहरूबाट चार दशमलव दुई प्रतिशत, सार्कबाहेकका एशियाली मुलुकबाट ११ दशमलव एक प्रतिशत, यूरोपबाट शून्य दशमलव तीन प्रतिशत, ओसियना मुलुकबाट पाँच दशमलव चार प्रतिशत, अमेरिकाबाट पाँच दशमलव चार प्रतिशत र अन्य देशबाट २४ दशमलव तीन प्रतिशतले पर्यटक आगमन बढेको छ । यद्यपि सार्क मुलुकहरूमध्ये बंगलादेशबाट नौ दशमलव छ र पाकिस्तानबाट आठ दशमलव सात प्रतिशतले आगमन घटेको छ ।

पर्यटक संख्यामा धेरै वृद्धि नभए पनि नेपाल पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्षको सचिवालयले गरिरहेका प्रवर्द्धनात्मक तथा प्रचारात्मक कार्यक्रमले पर्यटक आगमन बढ्ने भ्रमण वर्ष २०२० का निमित्त सदस्य सचिव राजन पौडेलले बताए । भ्रमण वर्षको तयारीका लागि समय केही कम भए पनि समग्रमा प्रवर्द्धनात्मक कार्यक्रम भइरहेकोले भ्रमण वर्षका लक्ष्य पूरा हुनेमा आशावादी रहेको उनको भनाइ छ । ‘त्रिभुुवन विमानस्थलको सुधार, भैरहवाको गौतम बुद्ध विमानस्थलको निर्माण तथा सञ्चालनजस्ता कामले नेपालको कनेक्टिभिटीमा सुधार हुन्छ । त्यसैले पनि लक्ष्य प्राप्ति हुनेमा हामी आशावादी छौं,’ उनले भने ।

प्रमुख पर्यटकीय गन्तव्यसँग सम्बन्धित भौतिक पूर्वाधारको समस्या तथा केही समयअघि देखिएको डेंगी रोगका कारण पनि पर्यटक आगमन प्रभावित भएको हुनसक्ने नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मनि लामिछानेले बताए ।

‘केही अन्तरराष्ट्रिय विमान कम्पनीको नेपालमा सेवा बन्द हुनु, केहीको कटौती हुनु तथा विमानस्थलको मर्मत लगायतका कारणको प्रभाव परेको हुन सक्छ । यी समस्याहरू क्रमशः समाधान हँदै गएकाले यो वर्षको बाँकी दुई महीनामा पर्यटक आगमन बढ्छ,’ उनले भने । केही विदेशी विमान कम्पनीले नेपाल उडानमा चासो देखाउनु तथा नेपाली विमान कम्पनीहरूले पनि विदेशमा गन्तव्य विस्तार गर्नुले पर्यटक आगमन बढ्ने उनले बताए ।

गत वर्ष पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एशिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको थियो । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तरराष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्यांकअनुसार सन् २०१८ मा नेपाल सबैभन्दा अगाडि रहेको थियो । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४ दशमलव ८ प्रतिशत थियो । नेपालपछि टर्कीको  २१ द्यशमलव ८ प्रतिशत, भियतनामको १९ दशमलव ९ प्रतिशत, निकारागुआको १७ दशमलव ५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५ दशमलव ५ प्रतिशत वृद्धिदर थियो । भ्रमण वर्षका लागि भएका तयारी भएको र गत वर्ष पनि पर्यटक आगमन बढेकाले यो वर्षको अन्त्यसम्म पर्यटक संख्या बढ्ने पर्यटन बोर्डको अपेक्षा छ । आर्थिक अभियानबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!